-देव कुमार मोक्तान

समाजमा धेरै मानिसहरु जन्मन्छन्, मर्छन्, ती सबैलाई सम्झिन पनि सकिँदैन । कोही कोही त्यस्ता हुन्छन् जसलाई केही गरेर पनि बिर्सन सकिँदैन । भूगोलले भन्दा पनि बिचारले जोडेको एउटा असल साथी जो यस संसारबाट विदा भएको करिव एक महिना भयो । ऊ त्यस्तै बिर्सिन नसकिने मध्येको एक थियो । उही धेरैको प्यारो मान्छे-हिरा सिं लामा । उसको मृत्युको खबरले मेरो मस्तिष्कको तलाउमा एक खालको भयङ्कर तरङ्ग पैदा गरायो । धेरै क्षण मनलाई शून्य शून्य बनाइरह्यो । मुटु भत्भती पोलिरह्यो, दुखिरह्यो । उसँग बिताएका विगतका एक एक पलहरु चलचित्रको दृष्यहरु झैं मनको पर्दामा नाचिरह्यो । भयावह अनित्य सत्य जसलाई केले टार्न सक्यो र ? जे हुनु भएरै छोड्यो आखिर । लाग्छ, मृत्युले उसलाई शिकार बनाएर मलाई धम्की दिइरहेछ ।
समय र पिरिस्थितिले यतिसम्म गरायो कि उसको जीवनको अन्तिम पल जुनबेला ऊ मृत्युसँग अस्पतालको शैयामा लड्दै थियो, अनि श्मसानघाटमा उसको मृत शरीर अन्तिम विदाइको प्रतीक्षामा थियो, त्यसबेला न भेट्न सकेँ न विदाई गर्न सकेँ । बढी दु:ख यसैमा छ । जे होस् उनी प्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्न चाहन्छु । उसको आत्माले चिर शान्ति पाओस् र शोक संतप्त परिवारजनमा गहिरो भावपूर्ण समवेदना प्रकट गर्न चाहन्छु ।
साथी हिरा सिं लामाको सम्झना जीवनभरि ताजै रहनेछ । किनकि उसँग मेरो बिचार, वर्ग, संगत, इच्छा, चाहना, लक्ष्य, उद्देश्य जस्ता धेरै कुराहरु मिल्थे । मैले लामो समयसम्म ऊसँग सार्थक सहकार्य गरेको छु । ग्रामीण वर्ग संघर्षका धेरै क्षणहरु उनीसँग बिताएको छु । गाउँघरमा हुने बिकृति, विसंगति, अन्याय, विभेद, अत्याचार, शोषण र दमन विरुध्द मोर्चा कसेर सँगसँगै लडेको छु । करिव दुई दशक उनीसँग सहकार्य रह्यो । ती दिनहरु एक स्वर्णकालको रुपमा स्थापित भएको छ । ती गौरवशाली दिनहरु सम्झन लायक छन् । त्यो स्वर्णिमकालको रचनामा योगदान गर्ने अन्य धेरै साथीहरु छन् । तिनीहरुका बारेमा पनि कुनै दिन बर्णन गर्नेछु ।
मलाई राम्रै सम्झना रहेको छ, २०२४५-४६ सालतिर अर्थात् आज भन्दा ३०-३२ वर्ष अघि हामी भरखर माध्यमिक विद्यालयको शिक्षा सकाउँदै थियौं । २०४६ सालमा मैले प्रथम श्रेणीमा एस.एल.सी. परीक्षा उत्तीर्ण गर्दा मेरो पनि भुइँमा खुट्टा थिएन । एक खालको ठुलै गर्व महसुस भइरहेको थियो । एक खालको अल्लारे गर्व । मसँगै भाइ खड्ग सिंह मोक्तान (जो अहिले नेपाल बैंकको दशौं तहको अधिकृतमा कार्यरत छन्) र मित ज्यू धनध्वज तामाङ (जो हाल उद्योग व्यवसायी हुनुहुन्छ) सहित हामी तीन जनाले सो वर्ष कानपुर माध्यमिक हाई स्कूलबाट एस.एल.सी. परीक्षा पास गरेका थियौं । हाम्रो सानो गिम्दी गाउँको इतिहासमा एस.एल.सी. पास गर्ने हामी तीन जना दोस्रो व्याच थियौं । पहिलो एस.एल.सी. पास गर्नेमा हाम्रा काका नारायण सिंह मोक्तान (जो हाल नेपाल सरकारको निजामति कर्मचारी ना.सु. पदबाट सेवा निवृत्त हुनुहुन्छ) हुनुहुन्थ्यो । त्यसपछिका वर्षहरुबाट गाउँमा छिटफुट एस.एल.सी. पास गर्ने पुस्ताहरुको आगमन भइ नै रहेको छ ।
हाम्रो गाउँमा तिनताका तीन वर्गका मानिसहरु बसोबास गर्ने । एक वर्ग साहुहरु थिए, गरीवहरुलाई ऋण दिन्थे र जो औंलामा गन्न सकिन्थ्यो । अर्को खान लाउन पुग्ने मध्यम जस्तो वर्ग थिए जसलाई ऋण पनि गर्न पर्दैनथ्यो र ऋण दिन पनि सक्दैनथे । तर आक्कल झुक्कल साहु हुन खोज्दथे । तेस्रो वर्ग भने धेरै संख्यामा रहेका गरीव वर्गहरु थिए । मेरो गाउँमा रहेका समुदाय एकै बाजेका सन्तानहरु भएका र एउटै मूल अंशबाट बराबर अंश लिएका भए पनि काल क्रममा कवशी शोषक भए भने कोही शोषित भए । एक खाले चाहिँ स्वतन्त्र भए । ती विभिन्न वर्गहरु पहिलेदेखि अस्तित्वमा नभए पनि त्यस समाजको विकासका क्रममा उत्पन्न भएका थिए । धनी र गरीवको खाडल बढेकाले बारमबार द्वन्द्वहरु पनि हुन्थे तर गरीवहरुका आवाजहरु दबाइन्थे र मुख्य साहुहरुको दवदवा कायम नै थियो । गाउँका धेरैजसो जमीनहरु साहुहरुको कब्जामा थिए । उनीहरुले विभिन्न बहाना बनाई वा बीस पाथि मके दिई त्यसको तमसुक बनाई ६/६ महिनामा कागज फेरी ऋण बढाई गरीवका जग्गा जमीनहरु कब्जा गरेका थिए । गरीवहरु वर्षभरि आफ्नो खेतबारीमा काम गर्न नपाई साहुहरुको खेतबारीमा काम गर्न बाध्य पारिएका थिए । यस्तो भुमरीबाट उम्किन गाह्रो थियो । गाउँमा गरीवहरुको लागि नगद आर्जन गर्ने कुनै विकल्पहरु थिएन । यी सबै पञ्चायती शासन व्यवस्थाको आडमा गाउँका सानातिना सामन्तहरुले चलाएको शोषणको परिणाम थियो ।
सानो गिम्दी गाउँसँगै ठुलो गिम्दी र थिल्वार गाउँका मानिसहरु बीचमा अत्यन्तै घनिष्ठ सम्बन्ध रहेको छ । ती मध्ये स्व. हिरा सिं ठुलो गिम्दी समूहका सदस्य हुन् । तिनताका तीनवटै गाउँहरुमा हुने सामन्ती शोषण, दमन, अन्याय र अत्याचारको विरुध्द केही अग्रजहरु कृष्ण बहादुर लामा, स्व. काका चक्र ध्वज लामा, यज्ञ बहादुर लामा, दावा लामा, कुवेर सिं काकाहरुले सामाजिक र आर्थिक विसंगतिहरुको विरुध्द लडिरहेका थिए । २०४६ सालको जनआन्दोलनले पञ्चायती शासन व्यवस्था फालेर बहुदलीय व्यवस्था आएपछि समकालीन साथीहरु मध्ये खड्ग बहादुर लामा (हाल नारायणसथान नि.मा.वि.का प्रधानाध्यापक हुनुहुन्छ) एक आशालाग्दो नेतृत्वको रुपमा देखा परे । यस बाहेक स्व. हिरा सिं लामा, मोहन कुमार लामा भाइ, धन बहादुर तामाङ, कुल बहादुर लामा, सिंग बहादुर तामाङ, कान्छा लामा, तेज बहादुर लामा, कर्म सिं लामा, ज्ञान बहादुर लामा, स्व. निर बहादुर तामाङ (तत्कालीन वडा नं. ५ वडाध्यक्ष), निर बहादुर लामा, इन्द्र बहादुर लामा, ज्ञानजन लामा, सूर्यमान तामाङ भाइ लगायत धरै राजनीतिक र सामाजिक अभियन्ताहरुले लडिरहेका थिए । औपचारिक शिक्षा हासिल नगरे पनि उल्लेखित व्यक्तित्वहरुमा सामाजिक उत्तरदायित्व र वर्गीय न्यायको विषयमा प्रचूर ज्ञान थियो । म स्वयं पनि संघर्षको अग्रपंक्तिमा नेतृत्व गरिरहेको थिएँ । म समेतको साथ, समर्थन र नेतृत्वले ऊबेलाको सामाजिक आन्दोलनले गाउँमा निक्कै उचाइँ हासिल गरेको थियो ।
सामाजिक जागरणको क्रममा २०५०/०५१ सालमै मेरो अध्यक्षतामा गाउँमा पहिलो पटक “जनएकता यूवा क्लब” नामको सामाजिक संस्था स्थापना भयो जसकै कोषाध्यक्ष स्व. हिरा सिं लामा रहेको थियो । सचिवमा समाजसेवी धन बहादुर तामाङ थिए । अन्य साथीहरु सिंग बहादुर तामाङ सर (गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कुल, भक्तपुरका प्रिन्सिपल), कर्म सिं लामा, इन्द्र बहादुर तामाङ, भाइ मोहन कुमार लामा, भाइ रोशन बाबु तामाङ, माइला तामाङ (सगरमाथा आरोही), भाइ खड्ग सिं मोक्तानको समेतको योगदान अतुलनीय रह्यो । सो जनएकता क्लबकै अगुवाईमा UNDP Small Grant अनुदान सहयोगमा २०५४/०५५ सालमा गिम्दीको “पँधेरो बगैँचा संसक्षण र ऐतिहासिक तीन धारा” को पुनर्निर्माण र मर्मत भएको थियो । उक्त परियोजना सम्पन्न गर्न स्व. हिरा सिं लामाले पुर्याएको योगदानलाई म कहिले भुल्न सक्दिन । गिम्दीको मध्यकालीन ऐतिहासिक पँधेरो बगैँचा विभिन्न अतिक्रमणका कारण तत्काल नासिने र लोप हुने अवस्थामा पुगेको थियो । सो बगैँचा नासिएको अवस्था देख्‍न नसकी मेरा स्व. हजुर बुबा कामी सिं लामाले विभिन्न जातका आँप, कटहर, जामुन, नासपाती जस्ता फलफुलका विरुवाहरु रोपी हुर्काउनुभएको थियो । UNDP को परियोजना सम्पन्न भएपछि ऐतिहासिक पँधेरो बगैँचाको स्वरुप नै परिवर्तन भयो र त्यो आजको फलफुलको बोटहरुले भिरएको घना जंगलको रुपमा हामी सामू उभिएको छ । तर २०७२ सालको विनाशकारी भूकम्पको धक्काले ऐतिहासिक तीन धाराको पानी भने नाम मात्राको भएको अवस्था छ ।
यसैगरी हामीले सफल पारेको अर्को परिवर्तन गाउँमा सामन्ती शोषणको अन्त्य पनि हो । यो शोषण र अन्यायमूलक व्यवस्था अन्त्य गर्न हामीले गरीव जनतालाई एकताबध्द गर्यौं । यसमा हामीमा परेको प्रगतिशील राजनीतिको प्रभाव तथा चेतनाको अहं भूमिका रह्यो । तत्कालीन संयुक्त जनमोर्चामा हामी राजनीतिक रुपमा आबध्द थियौं । मलाई अहिले के लाग्छ भने उबेलाको जनमोर्चाका लिडरहरुको सम्पर्क र संगतले हामीलाई प्रगतिहील बनाएको हुनुपर्छ । त्यो संगतले हामी प्रगतिशील अभियन्ता भयौं शायद । हामीले श्रमलाई सम्मान गर्न सिक्यौं र श्रम शोषणको विरुध्द विद्रोह गर्यौं । साहुहरुले सित्तैमा गरीवहरुको श्रम खाने प्रथाको विरोध र त्यसमा अवरोध गरी अन्त्य पनि गर्यौं । कतिपय जाली तमसुक पनि च्यात्यौं हामीले । जनएकता यूवा क्लबकै अगुवाईमा हामीले २०५४ सालमै एउटा आमसभा गरेरै गाउँमा पहिलेदेखि चलिआएको छुवाछुत व्यवस्थाकव अन्त्य भएको घोषणा पनि गर्यौं । सो घोषणा मैले अध्यक्षता गरेको सभाले गरेको थियो । यो एउटा हामीले गरेको सचेतनामूलक सामाजिक सांस्कृतिक आन्दोलनको एउटा परिणाम थियो ।
हाम्रो अर्कव सफल आन्दोलन गाउँमा “योम्रमाङ सामुदायिक वन उपभोक्ता समूह” नामको सामुदायिक वन समूहको स्थापना हो । यो सामुदायिक वन समूह हामीले विगत २०५२/०५३ सालतिर नै वैधानिक रुपमा स्थापना गरेका हौं । यो एक कठिन आन्दोलनको रुपमा रहेको छ । यसमा धेरै ठूलो संघर्ष गर्नुपरेको थियो । यसमा केही संख्याका मानिसहरुले लामो समयदेखि करिब २९०० रोपनी सार्वजनिक वन हडपेर निजी रुपमा प्रयोग गरिरहेका थिए । उक्त वनमाथिको कब्जा छोड्न ती मानिसहरुसँग हामीले धेरै प्रकारका सौदाबाजी पनि गर्यौं । तर सफल भएन । अन्तमा हामीले सामूहिक रुपमा अभियान सञ्चालन गरी ती वनहरुमा घाँस काटेर हस्तक्षेप गर्ने नीति अपनाई सो कार्य सफल बनायौं । उक्त दौरानमा वन समितिका ७ जना पदाधिकारीहरुलाई वन पैदावर लुटपिट गरेको आरोपमा काभ्रेपलाञ्चोक जिल्ला अदालतमा लुटपिट मुद्दा पनि दायर गरियो । उक्त मुद्दामा ७ जना प्रतिवादीहरुको तर्फबाट बहस गर्ने वकिलको रुपमा म स्वयं र अर्को मित्र अधिवक्ता हरेराम लवजु थिए । सो मुद्दा पनि ७ जनाले नै जिते । किनकि उनीहरुको कुनै गल्ति थिएन । सामुदायिक वन विरोधीहरुको केही लागेन । करिब २९०० रोपनी नाङ्गो डाँडापाखा अहिले हरियाली जंगलमा परिणत भएका छन् । यो हामीले गरेको अथक लडाइँको फल हो ।
यसरी हामीले गरेका माथि वर्णन गरिएका राजनैतिक, सामाजिक, आर्थिक र साँस्कृतिक आन्दोलनले एउटा गौरवशाली इतिहासको निर्माण गरेको विषयमा कसैको दुई मत हुन सक्दैन । यी सम्पूर्ण परिवर्तनकामी आन्दोलनका एक बलिदानकर्ता थिए स्व. हिरा सिं लामा । सामाजिक अभियानमा मात्रै नभई मेरो व्यक्तिगत जीवनको पनि अनन्य र शुभचिन्तक मित्र थिए । उनी मेरो हरेक पाइला र प्रगतिमा खुशी हुने र अझ अगाडि बढ्न सकारात्मक सल्लाह र प्रेरणा दिने साथी थिए । अब एक असल मित्रसँग बिछोडिएको छ । पछिल्लो समय उनीसँग कुनै विमर्श हुन सकेन । हामीले यहाँसम्म ल्याइपुर्याएको समाज फेरि पुरातन युगतिरै फर्केको कताकता आभासहरु मिलेको छ । सामुहिक चेतनाका ध्वनीहरु, पाइलाहरु र गतिहरु कताकता रोकिएको, क्षतविक्षत भएको, गतिहीन भएको महसुस भइरहेको छ । स्व. साथी र मैले प्रण गरेको समाजको रुपान्तरणको गन्तव्य त धेरै पर छ अहिले पनि । तर उनी अल्पायुमै गए । समतामूलक, शोषण विहीन र समृध्द समाज सृजना गर्ने उनका सपनाहरु आजभोलि कताकता चोइटिएको छ । एउटा घनीभूत आवाजले सदाको लागि बिश्राम लिएको छ । अस्तु ।
२०७७ मंसिर ६
(लेखक काभ्रेपलाञ्चोक जिल्ला बार एशोसिएशनको अध्यक्ष हुनुहुन्छ)

Comments

comments