पत्रकार राजकुमार गोले

-राजकुमार गोले तामाङ

‘पत्रकार अंकल मलाई बचाउनुहोस् ।’ एकजना वालक रुदै चिच्याए । भुकम्प भर्खरै गएको थियो । म आफै त्रसिद र भयभित हुँदै फोटोहरु खिच्दै थिए ।

एक छिन अघिसम्म कुराकानी गरेको भाई भुकम्पकको विपत्तीमा परेछ । हतपत उसको नजिक पुगे र ताने । केही छिनमै उसले श्वास फेर्न छोड्यो । बाँच्लाकी भनेर मैले उसको मुखमा मुख जोडेर श्वास दिन र तान्न थाले तर ऊ बाँचेन ।
बनेपाबाट बैशाख १२ गते शनिवार बिहान समाचार संकलनको लागि म सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका पुगेको थिएँ ।

मेलम्ची प्रथामिक उप–स्वास्थय केन्द्रमा अपाङ्गाहरुका लागि राखिएको शिविरको रिपोर्टिङ सकेर एक होटलमा खाना खाएर निस्केको ३ मिनेट मात्रै भएको थियो ।

मध्यन्ह १२ बजेको समयमा महाभूकम्प आयो । सबै जना चिच्याउन थाले वरिपरिका घरहरु भत्किन थाले । रुवाबासी चल्यो तर ज्यान जोगाउनै मुस्किल भयो ।

खुल्ला चौर खोज्न थालें तर १ घण्टा अघिमात्रै कुराकानी भएको मेलम्ची नगरपालिका–२ का निश्चल कार्कीले चिच्याउँदै ‘पत्रकार अंकल मलाई बचाउनुस्’ भन्दै हात हल्लाउदै बोलाए ।

 

सबै जनाको आफ्नो ज्यान जोगाउन तिर ध्यान थियो । घरले पुरेर चिच्याई रहेको उनलाई ज्याननै जोखिमा राखेर प्रहरी र मैले जोगाउन खोजे र मेलम्ची अस्ताल पु¥याए । तर मैले मुख जोडेर कृत्रिम स्वास दिए करिब १५ मिनेटसम्म । नाकबाट भातको छिट्ट निस्कियो बाच्लान भन्ने ठूलो आशा थियो मेरो, तर उनी बचेनन् । महा भूकम्पले क्षेणमै उनलाई निल्यो ।

१ घण्टा अघि म सँग धेरै जिस्क्याएर कविता पत्रिकामा छाप्न आग्रह गरेका थिए उनले । भर्खरै रिजल्ट भएको थियो उनको । कक्षा ३ मा प्रथम भएको थियो । कक्षा चारमा पढ्ने तरखरमै थियो ऊ । उनीसँगै घर भत्कीएर पुरेको दिदीको भने उपचार भयो र उनी बचिन. । दिदीले ‘भाइ खोइ भाई खोइ’ भन्दै बेला बेलामा चिच्याइ रहेकी थिइन् ।

३ जना दिदी बहिनी मध्ये एक छोरा हो निश्चल । उनका बुबा र आमा भने पुत्र वियोगमा रुनुको के विकल्प थियो र ?
ठुल दिदिको होटलमा खाना खाएर निक्लेको केही मिनेटमै ठुलो भूकम्प गएको थियो । केही समयमै अघि खाना खाएको होटलको दिदीको पनि लाश अगाडी आईपुग्यो । होटलका साहुँ पनि घाईते थिए ।

गंभिर घाईते उनी पानी पानी भन्दै चिच्याईरहे । होटलकी दिदीको कान्छी छोरी पनि होटल भएकै घरले थिचेर निधन भएछ ।

उनको पनि लाश आयो म आफै के गर्ने नगर्ने भन्ने चिन्ताले घरी यताघरी उता गर्न थाले । सबैचिरका घाईते र मृत अवस्थाका लाशहरु चउरमा ओसार्ने क्रम तिव्र थियो । सबैतिर कोलाहल मच्चिरह्यो ।

परिवारको चिन्ताले सतायो । मोबाईलबाट धेरै पटक फोन लगाउने कोशिस गरे तर लागेन । दिनभर समाचार संकलनमा फेरि जुटें । परिवारको चिन्ता एकातिर थियो अर्को तिर समाचार मिडिया हाउसमा पठाउनु पर्ने आफ्नो नियमित काम दोधारै दोधारमा दिनभर समाचार संकलनमा जुटे । समाचार पठाउनका लागि पनि विद्युत सेवा थिएन ।

बनेपा फर्कनको लागि पनि यातायात संचालन भइरहेको थिएन त्यसैले रातभर चौरमै बस्ने निधो गरी उतै बसियो । चौरमा मेलम्ची आशपासका सबै स्थानियहरु पनि भुकम्पको त्रासले जम्मा भएका थिए । उनीहरु पनि सबै खुल्ला आकाश मै बसिरहे ।

रात भरि खुल्ला आकाश मुनि बसेका स्थानीयहरु पनि महाभूकम्पको त्रासले रोइ रहे चिच्याई रहे । भूकम्पका कारण स्थानिय रमेश गुप्ताको घरमा आगलगी भएछ । सबै भागा–भागमा लागे । रमेश गुप्ता दिनभर र रात भर जली रहे, उनकी श्रीमती, बुहारी र नातीनी पनि आगोमै खरानी भएछन् ।

आगो नियन्त्रण गर्न कसैले सकेनन् । म आफू पनि उनीहरु जलिरहेको हेरिरहे । फोटो खिच्नु बाहेक अरु केही गर्न सकिएन । प्रहरी, नेपाली सेना र स्वास्थ्यकर्मीहरुले भने आफ्नो ज्यान जोखिममा राखेर उपचार गरिरहे ।

गृह जिल्लामा फोन गरेर बुझ्दा १ सय ४५ जनाले ज्यान गुमाएको खबर आफू कार्यरत मिडियालाई जानकारी गराए रातको १० बजे । आँखा अगाडी राती १२ बजेसम्म पनि घाइतेको उपचारको लागि ल्याइ रहेका थिए अस्पतालको खुल्ला चौरमा ।
उपचार गर्दा गर्दै औषधी नै सिधियो । गाडी चल्ने सम्भना नै थिएन किन की सडक भत्केर पहिरोले क्षत विक्षत भएको थियो । भुकम्पको धक्का पनि रातभर चलिनै रह्यो ।

म कहिले उज्यालो होला र घर परिवारलाई भेट्न जाँन पउँला भन्ने हतारमा थिएँ । आईतबार विहान ६ बजे मेलम्चीबाट पइदलयात्रा गरी सडकमा हिडिरहेको थिएँ । अझै पनि भुकम्पको धक्का आईरहेको थियो ।

ढुंगा खोज्दा देउता पायो भने झै सुनखानी–७ रतनकोट सिन्धुपाञ्चोकका एक जना साथी प्रेम लामाले ट्याक्सी लिएर मेलम्चीबाट काठमाण्डौ तर्फ फर्किैदै रहेछन्, संयोगले भेटघाट भयो । उनकै ट्याक्सी चढेर बनेपा फर्किए । उनीसँगै आफ्नो कार्यक्षत्र बनेपा ओर्लिएँ ।

मोबाइलमा चार्ज सकिएको थियो । परिवारसँग सम्पर्क बिहिन भइयो । आइतवार दिउसो १ बजेर ४५ मिनेट जाँदा सिन्धुपाल्चोक र दोलखा जिल्लालाई केन्द्र बिन्दु बनाएर आएको महाभूकम्प छिमेकी जिल्ला काभ्रेमा पनि धक्का दियो ।
अब बाँच्दैन की भन्ने लाग्यो, हेर्दा हेर्दै घरहरु ढले, मान्छेहरु चिच्याउने रुने कराउने गर्दै बिहोस हुन थाले । गाउँमा फोन गरें घर भत्केको खबर सुने ।

प्रत्यक्ष मेरै आँखा अगाडी मेलम्चीमा ५० जना जति मेलम्चीबासीहरुले ज्यान गुमाएको झलझल दृश्य आईरहेको थियो । घर मात्र भत्केकेको सुनेर मनमनै भगवानलाई धन्यवाद दिए र चित्त बुझाए । अहिले पनि भुकम्पको त्रास एकातिर छदैछ ।

भुकम्पका कारण परिवार सबै खुल्ला आकाश मुनी बसिरहेका छन् । पत्रकारीता पेशा भएपछि तत्काल सम्हालिनु र काममा लाग्नु पर्ने हुँदो रहेछ । परिवारसँग सँगै बस्न पाइदैन रहेछ । भूकम्पको समाचार संकलन गर्नमै व्यस्त छु ।

रोइरहेको सिन्धुपाल्चोकबासीहरुको दृश्य अहिलेपनि बेलाबेलामा झलझल सम्झन्छु । रहात नपाएर अझै प्रताडित भएका भूकम्प पिडितहरुको रोइरहेका आँखा कहिले ओभानो होला । यही प्रश्नको उत्तर खोजिरहेको छु आजभोली म ।

Comments

comments