• दिनेश लामा
नेकपाको आन्तरिक विवादको कारण गत पुष ५ गते संसद विघटन भयो । आफ्नै पार्टीभित्रैबाट घेराबन्दी गरेको भन्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीले संसद विघटन गरेका हुन् । ओलीको उक्त कदमपछि नेकपा विभिन्न कित्तामा विभाजित छन् । विघटनलाई वैधानिकता दिदै ताजा जनादेशमा जानुपर्ने कित्ताको नेतृत्व पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गरेका छन् । उक्त कदमलाई असंवैधानिक भन्दै संसद पुनस्र्थापना हुनुपर्छ भन्ने कित्ताको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले गर्दै आएका छन् । संसद विघटन बारे कुनै मत जाहेर नगरेका तर पार्टी एकता अभियान भनेर पार्टी उपाध्यक्ष वामदेव गौतमले तेस्रो धार खडा गरेका छन् ।
तत्कालिन नेकपा एमाले र एकिकृत नेकपा माओवादीले २०७४ सालको प्रदेश तथा संघीय संसदको निर्वाचनमा वाम गठवन्धन गरेर निर्वाचनमा गएका दुई पार्टी निर्वाचन सम्पन्न भएको एक समयपछि नेकपाको नाममा पार्टी एकताको घोषणा गरेका थिए । तर संसद विघटनपछि विभिन्न कित्तामा विभाजित भएता पनि आजको मितिसम्म नेकपा वैधानिक रुपमा फुटेको भने छैन । तर पछिल्लो समयको गतिविधि र एक अर्काप्रतिको अनुदार अभिव्यक्ति हेर्दा पार्टी फुट्ने पक्का पक्की भएको छ ।
संसद विघटनपछि आफू पार्टीको पहिलो अध्यक्ष भएको र केन्द्रीय समितिको विस्तार गर्ने अधिकार पनि आफैमा रहेको भन्दै ओलीले ४ सय ४१ जनाको केन्द्रीय समितिलाई विस्तार गरीे झण्डै ११ सयको केन्द्रीय समितिको विवरण निर्वाचान आयोगलाई बुझाएको छ । एकता बेलाको पार्टी अध्यक्ष र महासचिव दुवै जना आफुसंग रहेको भन्दै यस खेमाले एकतापछिको आधिकारिक नेकपा आफ्नो समुह भएको बताउदै आएको छ । उता दाहाल–नेपाल समुहले पनि ४ सय ४१ जना केन्द्रीय सदस्य मध्ये ३ सय जना आफुसंग रहेको भन्दै आधिकारिक नेकपा आफ्नो समुह भएको दाबी गर्दै आएको छ । त्यसैले दुवै खेमाले आफु आधिकारिक भएको दाबी गर्दै पार्टी एकताको बेला घोषणा गरेको निर्वाचन चिन्ह ‘सुर्य’ आफुले पाउनुपर्ने दाबी सडकदेखि निर्वाचन आयोगसम्म दवाव सृजना गर्दै आएको छ । चाख लाग्दो विषय त दुवै पक्षले विधि विधान र प्रक्रिया भन्दा पनि सडकमा भिड जम्मा गर्दै कुन खेमा आधिकारिक हो भन्ने द्विविधामा नपर्न उद्घोष गरेका छन् ।
यसरी दुवै पक्षले निर्वाचन आयोगले सुर्य चिन्ह आफ्नो खेमालाई दिनुपर्ने दाबी गर्दै आएका छन् । तर निर्वाचन आयोगले दुवै पक्षलाई सुर्य चिन्ह नदिई उक्त चिन्ह फ्रिज गर्ने तयारीमा रहेको स्रोतहरुले जनाएका छन् । त्यसो गरेमा दुवै खेमाले आन्दोलन गर्ने चेतावनी दिर्दै आएका छन् । सुर्य चिन्हकै लागि त्यसरी मरीमेट्नु पर्ने कारण के छ त ? फेरी अर्को प्रश्न के छ भने नेकपा हुनुको लागि सुर्य चिन्ह नै चाहिने हो त ? त्यसको सहजै जवाफ के हो भने पार्टी फुटपछिको आधिकारिक नेकपा आफ्नो समुह भएको सावित गर्न ।
सुर्य चिन्हको ऐतिहासिकता हेर्ने हो भने पञ्चायतले गराउने दलबीहिन निर्वाचनमा वाम विचारक पद्मरत्न तुलाधरले सुर्य चिन्ह लिएर जनपक्षीय उमेद्वार भएर चुनाव लडेका थिए । २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्थापना भएपश्चात नेकपा एमालेले सुर्य चिन्ह लिएर निर्वाचन लड्दै आएको छ । तत्कालीन एमाले र एकिकृत माओवादीको पार्टी एकता पश्चात सुर्यको बीच भागमा हसिया हथौडा थप गरेको चुनाव चिन्ह घोषणा गरिएको थियो ।
दुवै पक्षले सुर्य चिन्हकै लागि यत्रो हानथाप गर्नुको पछाडि त्यस्तो कुनै सैद्धान्तिक कारण भने देखिदैन । केवल पार्टी फुटाएको अपजस आफ्नो खेमाले लिन नपरोस भन्ने मुल ध्येय हो । त्यसको साथै सुर्य चिन्ह अरु भन्दा जनताको माझमा परिचित भैसकेकोले पनि निर्वाचनमा केही सहज हुने अनुमानले पनि त्यसको लागि मरिमेटेका हुन् । तर कम्युनिष्ट सिद्धान्त र सुर्य चिन्हबीच त्यस्तो खालको कुनै सम्बन्ध छैन ।
कम्युनिष्ट हुनुको लागि खास वर्गीय चरित्रको आवश्यक हुन्छ । त्यसमा कुनै चुनाव र चुनाव चिन्हले अर्थ राख्दैन । उन्नाइसौं सताब्दीको बेलायतको औद्योगिक समाजको चरित्रलाई विश्लेषण गरी कार्ल माक्र्सले समाजलाई पुँजीपति वर्ग र कामदार वर्गमा विभाजन गरेका थिए । पुँजीपति वर्गले सधै श्रमजीवी कामदार वर्गलाई शोषण गरीरहेको विश्लेषण सहित माक्र्सले श्रमजीवी वर्गको मुक्तिको बाटो देखाउदै वर्ग संघर्षको सिद्धान्त प्रतिपादन गरेको थिए । उनका अनुसार श्रमजीवी वर्गले गरेको वर्ग संघर्षबाट पुँजीपति वर्गको पराजय र पतन पश्चात श्रमजीवी वर्गको नेतृत्व र अधिनायकत्वमा स्थापित शासन व्यवस्थालाई नै कम्युनिष्ट व्यवस्था हो । चीन, उत्तर कोरिया, क्युवा लगाएतका देशहरुमा यस खालको शासन व्यवस्था छ ।
त्यसैले कम्युनिष्टको खास शासकीय चरित्र निर्वाचन होईन । नेपालको नश्लीय कम्युनिष्टहरुको यस्तो वादविवादले दुनियालाई आश्चर्य बनाएको छ । चुनावमा भाग लिन्छन् तर आफूलाई पुर्ण संसदवादी पनि भन्दैनन् र साईनबोर्डमा कम्युनिष्ट लेख्न पनि छाड्दैनन् । शासन व्यवस्थाको लागि होईन, एउटा चुनाव चिन्हको लागि आफुआफुमा लडाई गर्छन् र दुनियाँलाई हसाउँछन् ।
कम्युनिष्ट राजनीति यसरी दुनियाँलाई हसाउने होईन । राजनीतिलाई साध्य होइन साधनको रुपमा लिनु पर्दछ । अन्तिम साध्य जनताको मुक्ति हो । त्यसैले सही राजनीतिक साधन छ भने त्यही नै जनताको प्रेरणाको स्रोत हुन्छ । तबमात्र तपार्इँ विकासको र जनताको सेवाको बार्ेमा सोच्न सक्नुहुन्छ । अहिलेको राजनीति ठीक त्यसको उल्टो भएको छ । राजनीति विकास र जनताको सेवाको लागि नभई सत्तामा पुगेर राज्यको स्रोत र साधनको दोहन गरी नवसामन्त र नवधनाढ्य बन्नको लागि गरिने व्यवसाय भएको छ । चुनाव जित्न केही सहज हुन्छ कि भनेर एउटा सुर्य चिन्हको लागि तछाड मछाड गरेको छ । करोडौ रकम खर्च गरेर जनतालाई सडकमा उतारेका छन् । शहर बजारमा भीडभाड गरेका छन् । एकले अर्कालाई कत्लेआम गरेका छन् । सरकारी ढुकुटीको दुरुपयोग गरेका छन् । कार्ल माक्र्सले भनेको कम्युनिष्ट व्यवस्था यहि हो ?
यति मात्र होईन कम्युनिष्टको साइनबोर्ड झुन्ड्याएर पुँजीवादको आहलमा चुर्लुम्म डुबेका छन् । आलिसान बंगलामा बसेका छन्, महंगा गाडी चढेका छन्, बहुराष्ट्रिय कम्पनीहरुमा सेयर हालेका छन् । नेताहरुको नाममा स्थापित प्रतिष्ठानहरुको नाममा अरबौ सरकारी स्रोतको दोहन गरेका छन् । भ्रष्टाचार बढेको बढ्यै छ । हत्या, हिंसा र वलात्कार दिनानुदिन बढेको बढ्यै छ । कार्वाही गर्न सरकार चुकेको छ । जनतालाई मिठा मिठा सपना बाँडेका छन् । पानी जहाज, रेल, ग्याँस पाईप जस्ता नारा दिएका छन् ।
दुई अंकको आर्थिक बृद्धि दरको कुरा गरेका छन् । तर जनताको अवस्थामा कुनै सुधार हुन सकेको छैन । समाजवाद उन्मुख अर्थ नीतिको कुरा गर्छन् तर शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत सेवाहरुलाई माफियाको हातमा दिएर व्यापार गर्छन् । अनि फेरी सुर्य चिन्हको बखेडा निकालेर आफूलाई सक्कली र आधिकारिक नेकपा सावित गर्न तछाड मछाड गरीरहन्छन् । कठै !! नेपालका नश्लीय कम्युनिष्टहरु चुनाव चिन्हमा अल्झिरहेका छन् ।

(लेखक दिनेश लामा नेपाली काँग्रेस पार्टी काभ्रेका सचिव हुनुहुन्छ ।)

Comments

comments