नेकपा एमाले हाम्रो हो केपी ओलीको होइन । अब केपी ओलीले जालझेल गरेर कानुनी हिसाबले कब्जा गरे भने विचार गरौंला, होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बीमाले हुन्, सीमाले हुन् । उनले यो पार्टी छोडेर गए हुन्छ ।

हामीले असल चरित्र सिकेका छौं । अहंकारी व्यक्ति कहिल्यै काम लाग्दैनन् । त्यसो हुनाले ज्ञान छ भने बुद्धि हुनुपर्छ, बुद्धि छ भने विवेक हुनुपर्छ । ज्ञान, बुद्धि र विवेकको संयोजन हुनुपर्दछ । हामीले महाधिवेशनमा प्रष्टसँग भनेका थियौं, राजतन्त्र ढालेपछि गणतन्त्रलाई संस्थागत गर्नुपर्छ । अब मुलुक फेरि पुरानो राजतन्त्रमा फर्किन सक्दैन र फर्किँन पनि दिँदैनौं । हामी पराजित गरिछाड्नेछौं । जतिसुकै केपी ओलीले साँठगाँठ र राजतन्त्रलाई साथ दिने काम गरुन्, हुर्काउन खोजून्, जतिसुकै प्रयत्न गरे पनि राजनीतिको एउटा चरण पूरा गरिसकेका हामी त्यस्तो प्रयासलाई विफल पारिछाड्छौं । राजनीतिक क्रान्तिको एउटा चरण पूरा गरिसकेका हामी सामन्ती शासनलाई पराजित गरेर दोस्रो चरणमा प्रवेश गरिसक्यौं । आर्थिक–सांस्कृतिक क्रान्तिको दोस्रो चरणमा अगाडि बढ्दा समाजका आफ्नो ध्येय र उद्देश्य पूरा गर्ने हो ।
महत्वपूर्ण सवाल के हो भने समाजलाई चाहिएको सामाजिक न्यासहितको समृद्धि हो । समृद्धि आर्थिक विकासमात्रै होइन । त्यसैले हामीले भनेका छौं, हाम्रो व्यवस्था जनताका लागि हो । आन्दोलन लोकप्रिय हुनुपछाडिको कारण के हो ? त्यसको कारण एउटा के हो भने नेपाली जनताको नाडी उसले समातेको छ, नेपाली जनताको ढुकढुकी उसले बुझेको छ । यही ढुकढुकी बुझ्न सक्यो भने पार्टी बलियो हुन्छ । आन्दोलन पनि सफल हुन्छ र सफलताको बिन्दुमा पुग्छ । जब राष्ट्रिय राजनीतिको नाडी समात्न सकिँदैन, देश र जनताको भावना बुझ्न सकिँदैन भने त्यस्ता पार्टीहरु इतिहासको कठघरामा जानेछन् । जसरी टंकप्रसादजीले खोल्नुभएको प्रजापरिषद् इतिहासको विषय बनिसकेको छ । कतिपय देशमा जनताको भावना बुझ्न नसकेरै कम्युनिस्ट पार्टीको अवसान भइसकेको छ । त्यो बाटोमा हामी जाने होइन ।
नेपालको अवस्था विशिष्ट छ । नेपाल कम्युनिस्ट आन्दोलनका लागि उर्वर छ र हाम्रा पूर्खाहरुले रगत बगाएका छन् । पुष्पलालले सुरु गर्नुभएको २००६ सालको कम्युनिस्ट पार्टी मनमोहन अधिकारी, मदन भण्डारीजस्ता योद्धाहरु, किसान आन्दोलनमा अगाडि बढेका थुप्रै योद्धाहरुले यो पार्टीको विभिन्न चरणमा अगुवाइ गर्दै आएका छन् । उहाँहरुकै त्याग, तपस्या र बलिदानबाट उत्प्रेरित हुँदै हामी अगाडि बढ्दै आएका हौं । त्यसकारण, इतिहासको अवमूल्यन नगर्नुस् । उहाँहरुको मानसम्मानमा आघात पार्ने कुनै पनि काम नगर्नुस् । उहाँहरुको पवित्र भावनाबाट सिक्नुस् ।
हामीले पार्टीमा राम्रो उत्तराधिकारी पनि ल्याउन सक्नुपर्छ । आन्दोलनमा कहिलेकाहिँ राम्रा र नराम्रा पात्रहरु पनि संलग्न हुन सक्छन् । तपाईँलाई थाहा छ, नराम्रा पात्रहरु प्रवेश गरेकै थिए । दोस्रो महाधिवेशनका बेलामा केशरजंग रायमाझीले नेतृत्व लिएका थिए । जसले पछि कम्युनिस्ट पार्टीलाई दरबारमा बु्झाइदिए भने पञ्चायती व्यवस्थालाई समर्थन गरे । कम्युनिस्ट आन्दोलनलाई नै विघटनको अवस्थामा पुर्‍याउन खोजे ।
नवौं महाधिवेशनमा पनि त्यस्तै भयो । विचार केपी ओलीको होइन, हाम्रो पास भएको थियो । तर, नेता बन्न पुगे केपी ओली । आज कम्युनिस्ट पार्टीलाई उनले विसर्जन र विघटनको दिशामा लाँदैछन् । छिन्नभिन्न पु¥याउने काममा जुटिरहेका छन् । त्यसै हुनाले हामीले केपी ओलीको भ्रमबाट धेरैलाई मुक्त गर्नुपर्छ ।
वादको हिमायती हामी हौं भनेर केपी ओलीले प्रचार गरे । जनताको बहुदलीय जनवाद र केपी ओलीको कहिले भेट भएको थियो ? कहिल्यै भेट भएको छ ? अहिले केपी ओली जनताको बहुदलीय जनवादको मान्यतामा अघि बढेका छन् ? जनताको बहुदलीय जनवादको मान्यता र सम्बन्ध के हो ? सबैभन्दा पहिलो कुरा बहुमतको निर्णयलाई मान्नु हो, उनले बहुमतलाई कहिल्यै टेरेका छैनन् ।
पार्टी एकीकरण गरेर नेकपा बन्यो । सचिवालयमा ९ मध्ये ४ जनामात्रै उनको पक्षमा भए । त्यसपछि स्थायी कमिटीमा अल्पमत । उनको पक्षमा थोरै मान्छेमात्रै थिए । केन्द्रीय कमिटीमा अल्पमत रहेका उनले त्यहाँ सचिवालय भनेको त हुल्लडबाजहरुको संगठन हो भनिदिए । स्थायी कमिटी बाहुबली र केन्द्रीय कमिटी सडकछापहरुको संगठन रे १ अहिले पनि उनले आफ्ना दासहरुमात्रै राखेका छन् । आलोचना सुन्ने चेत जनताको बहुदलीय जनवादले मान्दछ । जनताको बहुदलीय जनवादले के माग गर्दछ भने लोकतान्त्रिक चरित्र ग्रहण गर्नुपर्दछ । लोकतान्त्रिक चरित्र भनेकै धेरैको कुरा सुन्ने र बहुमतको कुरा मान्ने र अल्पमतलाई सम्मान गर्ने हो । व्यक्ति कमिटीको मातहतमा हुने र यो परिपाटीलाई स्वीकार गर्ने भनेको जनताको बहुदलीय जनवादको चरित्र हो ।
जनताको बहुदलीय जनवादले तीनवटा क्षेत्रमा लोकतान्त्रिक रुपान्तरण गर्ने उद्देश्य राखेको हुन्छ ।
पहिलो– कम्युनिस्ट पार्टी लोकतान्त्रिक तरिकाले चल्नुपर्दछ । किनभने संसारका अरु देशका कम्युनिस्ट पार्टीमा एकल तानाशाही प्रवृत्ति देखिए । त्योभन्दा भिन्न ढंगले चलाउनुपर्छ भनेर मदन भण्डारीले अगाडि सार्नुभयो । आज केपी ओलीले त्यही दोहोर्याइरहेका छन् । सम्पूर्ण अधिकार केपीको हातमा नेपाली हिटलरको अवतारका रुपमा केन्द्रित भएको छ । त्यसो हुनाले त्यो जनताको बहुदलीय जनवाद होइन, त्यो केपी ओलीको निरंकुशतावादी अधिनायकवाद मात्रै भएकाले त्सलाई स्वीकार गर्न सकिँदैन । नेपालको कम्युनिस्ट आन्दोलनले शोषण–उत्पीडनका विरुद्धमा, असमान र भेदभावका विरुद्धमा सशक्त आवाज उठाउँदै आयो, यी सबैका लागि सिद्धान्तसहितको विचार चाहिन्छ ।
दोस्रो कुरा भनेको बलियो संगठन चाहिन्छ । त्यस्तो संगठन निर्माण गर्ने सवाल पनि महत्वपूर्ण हुन्छ । त्यसकारण लेखिएर भन्दा पनि गतिशील र क्रियाशील हुन सक्नुपर्छ । संगठनले गर्नुपर्ने भनेको संघर्ष हो ।
पानीमा माछा रमाउँछ, त्यसैगरी कम्युनिस्ट पार्टी जनतामा रमाउनुपर्छ । जनताभन्दा आफूलाई माथि ठान्ने होइन । नेताले आफूलाई मालिक ठान्ने होइन । कमरेड भन्न चाहँदैनन् । संस्कार नै छैन ।
समाजवादको आधार निर्माण गर्नका लागि हामीले प्रस्ट बाटो समातेका छौं । समाजवाद स्थापना गर्ने लक्ष्य र उद्देश्यका लागि नेपाली मोडलको समाजवाद के हुन सक्छ, जनताको सेवामा राज्यलाई समर्पित गर्नका लागि के गर्न सकिन्छ, हामीले सधैँभरि पार्टीभित्र कुरा उठायौं । यी जनताको पीडा र बेदनाका बारेमा पार्टीका बैठकमा एजेण्डा राखौं, बैठक बोलायौं । तर,
जहिले पनि अवस्था त्यही । बैठकको नामै सुन्न नचाहने । विरोध सुन्नै नचाहने । त्यसो हुनाले हाम्रो लडाइँ केपी ओली व्यक्तिको विरुद्धमा होइन, केपी ओली प्रवृत्तिविरुद्धको लडाइँ हो ।
साथीहरु, तपाईहरु बुझ्नुस् । केपी ओली सुरुदेखि गुटबन्दीमा लाग्दै आएका मान्छे हुन् । २०५१ सालदेखि सानो गुट सुरु भएको थियो ।
एक से एक व्यक्तिहरुलाई थाहा छ, केपी ओलीका प्रवृत्तिहरू । नरेश खरेलदेखि लिएर घनेन्द्र बस्नेतसम्म झापा आन्दोलनका योद्धाहरुलाई थाहा होला, अनि केपी ओलीलाई भोगेको हाम्रा कमरेड युवा नेता गोकर्ण (बिस्ट)लाई पनि थाहा होला ।
केपी ओली प्रवृत्तिले वास्तवमा यो पार्टीमा ठूलो समस्या खडा गर्दै आयो । यसका विरुद्धमा हामीले संघर्ष गर्दै आयौं । २०७१ सालमा जब पार्टीको नवौं महाधिवेशन भयो, उनी अध्यक्षमा जाल, झेल, षडयन्त्र गरेर जितेर आइसकेपछि दुई–तीन महिनामा बस्नुपर्ने स्थायी कमिटीको बैठक डेढ वर्षसम्म बसेन । पछि गएर जब पार्टी एकता भयो, माओवादी र एमाले एक भए, हामी हर्षित भयौं । खुशी भयौं । त्यसपछि पनि बैठक बस्न नचाहने । एकलौटी निर्णय गर्ने, भएको निर्णयको पालन नगर्ने । बाटोमै नयाँ–नयाँ निर्णय गर्ने । पार्टीमा विधि, पद्धति समाप्त हुन थाल्यो । आफ्ना मान्छे खोजी–खोजी चुनावको टिकट दिने, पार्टीका ओहोदाहरु प्रदान गर्ने प्रवृत्ति देखियो । यी सबै प्रवृत्तिले गर्दा हामीले केपी विरुद्ध जुध्दै आउनुपर्ने परिस्थिति बनेको हो । यो प्रवृत्ति अब सुध्रिएला–सुध्रिएला–सुध्रिएला भन्यौं, सुध्रिएन ।
अहिले हामी चाहन्छौं, हाम्रो पंक्ति सिद्धान्तनिष्ठ होस् । विचारहीन मानिसको जमात नहोस् । हामी चाहन्छौं, हाम्रो पंक्ति आलोचनात्मक चेत भएको होस् । दासत्व चेत र मानसिकता नहोस् । हामी चाहन्छौं, हाम्रो पंक्ति सामुहिक परिपाटीको पालना गरोस् । व्यक्तिवादी परिपाटीबाट मुक्त होस् । हामी चाहन्छौं हाम्रो पंक्ति समाजवादी चिन्तन बोकेर अगाडि बढोस् । दलाल पुँजीवादी चिन्तन अंगिकार नगरोस् । हामी चाहन्छौं हाम्रो पंक्ति विनम्र होस् । हामी चाहन्छौं हाम्रो पंक्ति अनुशासित होस्, स्वेच्छाचारी र अराजक नबनोस् । हामी चाहन्छौं हाम्रो पंक्ति उदार बनोस्, त्यो अनुदार नबनोस् । हामी चाहन्छौं हाम्रो पंक्ति लोकतान्त्रिक गुण बोकेको होस्, निरंकुश नबनोस् । हामी चाहन्छौं हाम्रो पंक्ति धेरैलाई मिलाउने, समेट्ने काम गरोस्, विभाजित गर्ने र द्वन्द्व निम्त्याउने काम नगरोस् । हाम्रो पंक्ति एकतावादी बनोस्, फुटवादी नबनोस् । यही सोचका साथ हामी अगाडि बढिरहेका छौं ।
हामी पार्टी विभाजनको पक्षमा छैनौं । तर, हामी कसैको दास बन्न पनि तयार छैनौं । त्यसो हुनाले एउटा वैचारिक जगमा यो पार्टीलाई लिएर अगाडि बढ्ने छौं । यो पार्टीलाई एउटा नयाँ उचाइमा पु¥याउन चाहन्छौं । यो कम्युनिस्ट आन्दोलनलाई फेरि एकतावद्ध गर्नेछौं । केपी ओली विभाजनको पक्षमा छन्, हामी एकताको पक्षमा छौं ।
हामी सबैलाई समेटेर लिएर जान्छौं । यसका लागि राष्ट्रभरिका कार्यकर्तामा उत्साह पैदा गर्न चाहन्छौं । कार्यकर्तामा नयाँ उत्साह पैदा गर्नु अपराध होइन । निराश भएका कार्यकर्तामा आशा जगाउने कुरा गलत होइन । कार्यकर्तालाई गतिशील बनाउने कुरा अपराध होइन । कार्यकर्ता गतिशील, उत्साहित भए भने पार्टीमा जीवन आउँछ । ऊर्जा आउँछ । ऊर्जा भएको पार्टीले नै जनताको मन र विश्वास जित्न सक्दछ ।
हालै हामीले राष्ट्रिय कार्यकर्ता भेला गरेका थियौं । त्यो भेलामा देशभरिबाट कार्यकर्ता आएका थिए । केपी ओलीले ‘दुईसय मान्छे पनि आउँछन् कि आउँदैनन्, के आउँथे १’ भनेका थिए । तर, पाँच हजार मान्छे आइदिए । अझै हामीले वर्गीय संगठनका केन्द्रीय समितिका पदाधिकारीमात्र भन्यौं, नभए झण्डै ३० वटा संगठनका सय जनाका दरले मात्र पनि तीन हजार जना थपिन्थे । हामीलाई पाँच हजार जना सम्हाल्न त कति गाह्रो परेको थियो, ठाउँ नै पाइएन । स्थान नै छैन । बल्ल–बल्ल ठाउँको व्यवस्थापन गर्‍यौं । भित्र हलमा अटेनन् । हलभन्दा बाहिर बढी मान्छेलाई त्रिपालमा राखेर स्क्रिनबाट काम चलायौं । त्यो स्क्रिन हेरेपछि मलाई साथीहरुले भने–कति राम्रो स्क्रिनको व्यवस्था थियो । बाहिरबाट हेर्दा पनि स्टेज अगाडि जस्तो देखिने । अत्यन्त उत्साह, नयाँ ऊर्जाका साथ राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न ग¥यौं यही चैत ४ र ५ गते ।
केपी ओलीबाट पीडित भएका मान्छेमा उत्साह जगाएका छौं । उनीबाट पन्छाइएका, निराश भएका मान्छेमा आशा जगाएका छौं । स्याबास गर्नुपर्नेमा यिनले ९केपी ओलीले० कारवाही गर्छु रे १
यस्तै एउटा समयमा भएको थियो । यहीँ काठमाडौंमा हाम्रो पार्टीभित्रको एउटा समूहले अर्को व्यक्तिलाई पूरै पाखा लगाउन खोज्दाखेरि मैले त्यतिखेर ईश्वर पोखरेललाई भनेको थिएँ– तपाईको नजिकको मान्छेलाई पाखा लगाउन खोजिएको छ, उनीहरुलाई उत्साहित गर्नुस् । उत्साहित गरिसकेपछि मनमोहन स्मृति प्रतिष्ठानको जिल्ला कमिटी बनाएर त्यसमा संगठित गर्न लगाइयो । अनि उनीहरुको कार्यक्रम भयो, मैले भनेँ– म आउँछु । उनीहरुको पिकनिकमा म जाँदा ‘कमरेड गएपछि त गुटवादीहरुको मनोबल बढ्छ’ भने । गुटवादी होइनन्, तपाईबाट पीडित र पन्छाइएका मान्छे हुन् । ती कार्यकर्ता हुन् । म पार्टी महासचिव भएको हैसियतले तिनलाई जोगाउने जिम्मेवारी मेरो हो भनेर मैले भनेँ ।
पार्टी अध्यक्ष भएको मान्छे अभिभावक बन्नुपर्ने होइन ? पार्टी अध्यक्ष भएको मान्छेले सिङ्गो पार्टीको चिन्ता गर्नुपर्ने होइन ? कम्युनिस्ट पार्टीको नेता भएको मान्छेले कम्युनिस्ट आन्दोलनलाई कसरी एकतावद्ध गर्नुपर्छ भन्ने कुरा सोच्ने होइन ? कमरेड पुष्पलालले भन्नुभएको छ, कम्युनिस्ट पार्टीमा नेता प्रधान हुँदैनन्, नीति प्रधान हुन्छ । नीतिले निरन्तर बाटो देखाइरहेको हुन्छ, नेता भनेको आउने र जाने भइरहन्छ ।
को–अर्डिनेसन केन्द्र बनाउने मूल नेता अहिले हामीसँग छैनन् । हामी छौं, हामी दुईजना हौं, सीपी मैनालीजी जानुभयो । अनि के रोएर बस्ने हामी ? हामी अगाडि बढ्यौं । त्योबेलामा को–अर्डिनेसन बनाउने आठ जनामा चारजनाले बाटो छाडेर हिँडिसक्नुभयो । अनि बाँकी चारजनाले पनि त्यत्तिकै टाउकोमा हात राखेर बस्ने ? बसेनौँ । निरन्तर रुपमा अगाडि बढ्दै गइरहेका छौं ।
अस्ति युवा संघको राष्ट्रिय भेला कति शानदार भएको थियो । त्यो शानदार रुपमा भेला सफल पार्नुभएकोमा म नरेशजी लगायतको टिमलाई धेरैधेरै बधाई दिन चाहन्छु । आज पनि विद्यार्थीहरुको जमात जागेको छ । युवा र विद्यार्थीहरु जागे भने ठान्नुहोस् सबै जागे । किनभने युवा र विद्यार्थी सबै तहमा छन् ।
त्यसो हुनाले केपी ओलीको यो कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौं । आतंकित भएका छैनौं । केपी ओलीलाई तह लगाउने कुनै ठूलो कुरा होइन । यिनको दुई दिनका चुरीफुरी प्रधानमन्त्रीको कुर्सीमा बस्दा मात्रै हो । प्रधानमन्त्रीको कुर्सीबाट यिनी जब सडकमा उत्रनेछन्, केपी ओली प्रवृतिको हावा खुस्किनेछ ।
मैले वीरेन्द्र राजा हुँदा कसरी डिल गरेको थिएँ, ज्ञानेन्द्र हुँदा कसरी डिल गरेको थिएँ पत्रकार साथीहरुलाइ सुनाउनै पाएको छैन ।
गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान अनि सद्भावनाका गजेन्द्रनारायण सिंहसँग कसरी डिल गरिएको थियो नेपालको राजनीतिमा । के–के गरियो बताउनै बाँकी छ । त्यतिखेर मलाई विदेशी शक्तिले कति दबाव दिएको थियो, कति धम्की दिएको थियो । धम्की र चुनौतीको कति सामना गरियो भन्न बाँकी नै छ । पार्टीभित्र कस्ता–कस्ता समस्या रु चुनौती आइपुगे, तिनको कसरी सामना गरियो, त्यो सबै तपाईहरुको बीचमा राख्न बाँकी नै छ ।
अनि उनले किन भंग नगरुन् सबै कमिटी ?
पोलिटब्युरो ४४ जनाको छ । २४ जना हाम्रो पक्षमा छन् । केपी ओलीसँग २० जना छन् अनि पोलिटब्युरो किन भंग नगरुन् । केन्द्रीय कमिटीमा केपीसँग ९० जना छन् । वामदेवले साथ दिनेवित्तिकै हामी ९७ जना छौं । त्यही भएकाले बाटोमा हिँड्दाहिँड्दै २३ जना थपेछन् । एकैचोटि केन्द्रीय समितिको सदस्य संख्या ४५६ बनाइएछ । एकैचोटि ४५६ बाट ५५६ । ५५६ बाट ११९९ । यही पाराले उनले त्यो कमिटी होइन, तमासा र भेलालाई कमिटीको नाम दिएका छन् ।
उनले भनेको विपक्षीहरुसँग मिलेर सरकार गिराउने षड्यन्त्र गर्दै हुनुहुन्छ, तपाईले । पुष्पकमल दाहालसँग तपाईले साँठगाँठ गर्नुभएको छ । अनि पुष्पकमल दाहालले बोलेको तपाईले खण्डन गर्नुभएन रे, राष्ट्रहित विपरीत काम गर्नुभएको छ । सरकारको समर्थन गर्नुभएको छैन । पार्टी विभाजनमा लाने काम गरेकाले तपाईलाई कारवाही गरेर किन ननिकाल्ने ?’
हिम्मत छ निकाल्ने ? निकाल्नुस् त ? सहेर बसिन्छ ?
त्यसो हुनाले हामी लत्रेका छैनौ पत्रकार साथीहरु । कहाँ हुनुहुन्छ लेख्ने लेखकहरु ? तपाईहरु साथमा हुनुहुन्छ, हामी देशभरि अहिले पनि हामी भेला गर्नेछांै । छिटै नै सम्पर्क मञ्च र मजदुरको भेला गर्नेछौं । अनि सुरु हुनेछ हाम्रो जिल्ला–जिल्लामा भेला । जिल्ला–जिल्लामा तरंग पैदा गर्नेछौं । मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्मका प्रत्येक जिल्लामा प्रशिक्षण अभियान र संगठन निर्माण अभियान चलाउनेछौं नेकपा एमालेलाई बलियो बनाउनका लागि ।
नेकपा एमाले हाम्रो हो केपी ओलीको होइन । अब केपी ओलीले जालझेल गरेर कानुनी हिसाबले कब्जा गरे भने विचार गरौंला, होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बीमाले हुन्, सीमाले हुन् । उनले यो पार्टी छोडेर गए हुन्छ ।
तपाईहरुको यो उत्साहले मलाई पनि उत्साहित बनाएको छ, तरंगित बनाएको छ । युवा जोस जागेको छ । नयाँ रक्तसञ्चार भएको छ । सबै किसिमका कुप्रचारलाई चिर्नुपर्छ । केपी ओलीजस्ता जालीझेलीको हजार जिब्रो भएका शेषनागले पनि वर्णन गर्न सक्दैनन् । यी सबै भ्रमलाई चिरेर तपाईहरु उमंगका साथ कलेज, विश्वविद्यालय, प्रत्येक शिक्षण संस्था र विद्यालयमा यही सन्देश लिएर जानुस् । कम्युनिस्ट आन्दोलनलाई जोगाउने, पार्टीलाई क्रान्तिकारीकरण गर्ने, माक्र्सवाद, लेनिनवादले देखाएको बाटोमा दृढताका साथ अघि बढ्ने काममा अगाडि बढ्नुस् जित हाम्रो निश्चित छ ।
(आफूपक्षीय विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्वोधन गर्ने क्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दिएको मन्तव्यको संपादित अंश)

Comments

comments