१८ वैशाख, धुलिखेल । आन्तरिक उडानलाई व्यवस्थित बनाउन काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गर्ने भएको छ । यसको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी स्थान छनौंटको लागि मंगलबार काभ्रेमा आईपुगेका छन् ।

काभ्रेमा दुई स्थान मध्ये एक स्थानलाई छनौट गर्न मन्त्री अधिकारी सहित नेपाल नागरिक उड्डयान मन्त्रालयका अधिकारीहरु समेतको टोली निरिक्षणको लागि काभ्रे आएका हुन् ।
निरिक्षणको क्रममा मन्त्री अधिकारीले काभ्रेको नागीडाँडा वा ठूलीचौरमा अबको १५ दिनभित्र विमानस्थल निर्माणको टुङ्गो लाग्ने बताएका छन् ।

‘एक विज्ञ समिति दुई दिनभित्र गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइनेछु ।’ मन्त्री अधिकारीले पत्रकारहरुसँग भने– ‘प्रतिवेदनको निष्कर्षअनुरुप विमानस्थल निर्माण आगामी आर्थिक वर्षको बजेट भाषणमा समेटिने छु ।’
काठमाडौँ भन्दा बाहिर नजिकै आन्तरिक विमानस्थल निर्माण गर्न सकियो भने अत्याधिक आन्तरिक उडान यहाँबाट गर्न सकिने बताउँदै उनले मंगलबार (आज) हेरेका तीनै स्थान र यसभन्दा अगाडिका प्रतिवेदनको थप अध्ययन गरेर कुन प्रभावकारी, स्थानीय सहयोग र कम खर्चमा छिटो समयमा तयार हुनसक्छ छिट्टै निर्णय लिने प्रतिबद्धता जाहेर गरे ।
‘वैकल्पिक विमानस्थल निर्माणमा प्राविधिकलगायत सबै प्रक्रिया चाँडो अघि बढाउन मेरो घोषित सय दिने कार्यक्रमभित्रै विमानस्थल कहाँ र कुन मोडलमा बन्ने भन्ने निर्णय भइसक्ने छ ।’ मन्त्री अधिकारीले भने ।

यसैगरि निरिक्षणमा पुगेका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँको विकल्पमा काभ्रेमा विमानस्थल निर्माण अपरिहार्य भएकाले यो कार्यमा सबैले सहयोग गर्नुपर्ने बताए ।
विमानस्थलको लागि बनेपा नगरपालिकाको नागीडाँडा तथा धुलिखेल नगरपालिकाको ठूलीचौर र चिसापानी ठूलीचौरको मन्त्रीसहितको टोलीले निरीक्षण गरेको थियो ।
भौगोलिक अवस्थिति, विमानको रुट, मौसमी अवस्था र प्राविधिक हिसाबले उपयुक्त स्थानलाई विमानस्थल बनाइनेछ । पर्यटनमन्त्री अधिकारी, सञ्चार राज्यमन्त्री बाँस्कोटासहित, काभ्रेका सांसद, नगरप्रमुख, क्यानका उच्च पदाधिकारी, स्थानीय व्यवसायी तथा सञ्चारकर्मीको टोलीले आज प्रस्तावित विमानस्थलको अवलोकन गरेको थियो ।
उनका अनुसार विमानस्थल निर्माणका लागि क्यानले विसं २०६९ मा ठूलीचौरको अध्ययन गरेको थियो भने अहिले नागीडाँडामा अध्ययन गरेको छ । दुवै स्थानको स्थान र भौगोलिक अवस्थिति हेर्दा बढीमा एक हजार २ सय मिटरसम्मको धावनमार्ग बनाउन सकिने अध्ययनले देखाएको छ ।
यस अघि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुवै स्थानमा विमानस्थल निर्माणका लागि विभिन्न मितिमा प्रारम्भिक अध्ययन गरिसकेको छ । अध्ययनको लामो समय वितिसक्दा पनि कार्यन्वयनले भने गति लिन सकेको थिएन ।






















