• रचना मोक्तान “यात्री”

कतिपय जिन्दगीका तीता र डरलाग्दो क्षणलाई सम्झिदा पनि बाँच्ने साहस बढेर आउँछ । जीवनमा आएका दु:ख र पीडालाई सजिलै पचाउनु पर्ने रहेछ । अनि जीवनको सार्थकता पाउन सकिने रहेछ । बाँचेरै त होनि विगत अनि वर्तमानलाई चिहाउन सकेको ।
म सानै छँदा भनेको सुनेको थिएँ “इतिहास लेख्ने भनेकै बाँचेकाहरुले हो । यदि तिमी इतिहास लेख्नै चाहन्छौ भने बाँच्न सक्नु पर्छ ।” हो आज म तिनै कालसङ्ग साक्षात्कार  गरेर बाँच्न सफल भएको घटनालाई तपाईंहरु सामु बेलिबिस्तार लगाउँदैछु । कन्चटमा पेस्तोल ताक्दा पनि होस नगुमाएको क्षण । मान्छे नै हो तर पेसा र व्यवहारले दानव बनाएको तत्कालीन शाही सेनासँग अझ भनौं विद्रोहीको दुश्मनसँग मुकाबिला गर्दाको अनुभूति । झुट बोलेर घेरा तोड्न सफल । निष्पट अन्धकार । पौषको कठ्याङग्रिने जाडोमा बिना चप्पल दौडदा पैतालाबाट तपतप चुहिएको  रगत । ढुंगा माटोमा रगतले बनेका राता  पाइतालाका छापहरू ।
ओहो ! आज म यिनै घटनाक्रम तपाईंहरुलाई सुनाउदैछु । सानै उमेरमा जनयुद्धमा लागेपछि पार्टीले दिएको विभिन्न जिम्मेवारी बहन गर्दै जाने क्रममा शैलुङ, तेमाल डाँडै डाँडा , चुरे र म्हाभरको बाक्लो जङ्गल । तराईको समथर फाँटहरुमा पुगि जिम्मेवारी पूरा गर्नु नै पर्ने थियो । म आवश्यकता अनुसार कहिले कलाकार बनेर जनवादी गीतमा छमछमी नाच्दै हिँडेँ । कहिले विद्यार्थी नेताको रुपमा भाषण गरें । कहिले महिला नेतृ बनेर सयौं महिला दिदीबहिनीलाई संगठित गरें । निरन्तर ग्रिनेड, पेस्तोल र सीमित हतियारको भरमा दुश्मनमाथि धावा बोल्दै अघि बढीरहेँ ।
 २०६१ सालमा पार्टीले रणनैतिक प्रत्यक्रमणको योजना घोषणा गरिसकेको थियो । जताततै देश ह्वारह्वार्ती बल्दै थियो । काभ्रे जिल्लाको म्हाभार  लेकबाट रेडियो जनगणतन्त्र प्रसारण भइरहेको थियो । त्यही रेडियो जनगणतन्त्रको एक सहयोगी सदस्य म  पनि थिएँ । त्यो बेलाको वर्गीय मायाको सम्झना गर्दा वर्तमानमा पनि आनन्द आउँछ । रेडियोमा काम गर्ने  क. आशा दिदी, क. सङ्गिता खड्का दिदी, सुमन दाइ, विनोद दाइ, समीर दाइ, छिन्ताङ दाइ अनि एरिया इन्चार्ज पुष्पा दिदी । आज पनि सहयात्रामै हुनुहुन्छ ।
तालढुङ्गा डाँडागाउँ एरिया इन्चार्ज क. बुद्धि ०६२  सालमा तत्कालीन शाही सेनासङ्गको भिडन्तमा काभ्रे डाँडापारिको घर्तीछापमा सहिद हुनुभयो । (वहाँ एक होनहार नेता तथा योद्धा हुनुहुन्थ्यो । वहाँको बारेमा विस्तृत रूपमा पछि  उल्लेख गर्दै जानेछु ।) क. बुद्धिको ०६१ साल मङ्सिरमा डाडावारी शिखर अम्बोटे र खहरेपाँगु एरियामा सरुवा भयो । म उहाँकै विश्वासिलो कार्यकर्ता अझ भनौं उहाँ अनेरास्ववियु (क्रान्तिकारी) काभ्रेको अध्यक्ष म सदस्य । उहाँ र मेरो कार्यक्षेत्र फरक हुँदा नरमाइलो लागेर खुब रोएँ ।  एक महिनापछि मलाई पनि त्यही एरियामा लैजाने वचन दिनुभयो । मैले आशाको नयन विछ्याइरहेँ ।  म  सेटलाइट, सन्चारसेट, बेस क्याम्पमा कार्यरत थिएँ ।  प्राप्त भएको जानकारीलाई सबैलाई सन्चारकै माध्यमबाट पुर्‍याउनु पर्ने । रेडियो जनगणतन्त्रसङ्गै सहकार्य गर्नु पर्ने । इन्चार्ज क. तारा, क. विपना र म जम्मा तीन जनाको टोली जङ्गलमा प्लास्टिकको गोठ जस्तो बनाएर बस्यौ ।
हामीसँग हतियारको नाममा एउटा सिक्सर पेस्तोल र दस बाह्र वटा ग्रिनेड मात्र थियो। नयाँ खबर सङ्कलन । सूचना सम्प्रेषण नै हाम्रो प्रमुख काम थियो। उहाँ दुई जना क.तारा र कमरेड विपनाले जनयुद्धमै भूमिगत भएपछि अक्षर चिन्न सक्ने हुनुभएको थियो । मेरो शिक्षा कक्षा नौ भएकोले वहाँहरू भन्दा अलि छिटो लेख्न र पढ्न सक्थें। समाचार टिप्नको लागि तयारी हालतमा बस्नुपर्थ्यो । एक दिन म सन्चार विभागबाट नयाँ इलाकामा सरुवा हुने खबर आयो । मन खुशी भयो । एकैचोटी नयाँ भूगोलमा विचरण गर्न पुगे । म छुट्टिनु पर्दा सबैको आँखा टिलपिलायो । तैपनी छुट्टिनुपर्थ्यो नै छुटियौं । नयाँ उत्साहकासाथ तालढुङ्गा पुगेपछि क. बुद्धि सङ्ग भेट भयो ।
दुबैजना नागबेली परेको कम्मर कम्मरसम्म पानी आउने खोला तर्दै गोधुली साँझमा फलामेटार पुग्यौं । फलामेटार हाम्रो राम्रो संगठन भएको ठाउँ थियो । साथीहरूले खाना तयारी गर्नुभएको रहेछ । खाना खाँदै थियौं त्यही बेला अहिलेको बेथानचोक त्यो बेलाको महाङ्काल भुग्देउबाट “शाही सेना मुभ हुँदैछ रातभरमा आइ पुग्न नि सक्छ सचेत र सुरक्षित हुनुहोला।” भन्ने खबर सन्चारबाट आयो । जीउको सबै लुगा भिजेकोले ज्वरो आयो । पौष महिनाको जाडो झन जिउभर काँडा उम्रीएर सिटामोल खाएँ । क.बुद्धिले तिमी यहीँ सुत हामी अन्तै जान्छौं भनेपछि म त्यहीँ सुतें । बाध्यता यस्तै थियो । उहाँहरु कता सुत्न जानू भयो  थाहा भएन ।
ढोका ढक-ढक गरेको आवाजसङ्गै ब्युँझंदा  बिहानको करिब चार बजेको  हुनुपर्छ । आँखा मिच्दै झ्यालको चेपबाट यसो नियालेर बाहिर हेर्दा त  आँगनभरि हतियारधारी शाही सेना । चारैतिर घेरा हालेर बसेको प्रतिकूल अवस्था । हामी तीन जना घरको दाइ , दिदी अनि म मुखामुख मात्र गरिरह्यौं । केही बोली फुटेन । चारैतिर मृत्यु नाचेको आभाष भयो । के गर्ने गर्ने ?  सार्‍है बिलखबन्दमा पर्‍यौं । मैले भित्रभित्रै योजना बनाएँ कि यदि म मर्नु नै परे पनि एक जना त मारेरै मर्छु । कायर भएर आत्मसमर्पण चाहिँ गर्दिन । क्रान्ति ठूलो हो । पार्टी ठूलो हो । यही योजनामा ढुक्क रहें । र दुश्मनलाई चातुर्दिक ढंगबाट कसरी छक्याउन सकिन्छ भन्ने बारेमा पनि सोचें । होस गुमाउनु हुन्न । सचेत ढंगले काम गर्नुपर्छ भन्ने दृढ विश्वास लिएँ ।
बाहिरबाट फेरि आवाज आयो “ढोका छिटो खोल् ।” अनि दाइ दिदी नबोली एकै चोटि दुबै जना छिँडीमा झर्नुभयो । ढोका खोलेपछि एकै चोटि बाख्राको हुल बाहिर निस्कियो । बाख्रालाई समाउने निहुँमा बाख्राको पछि लागेर वहाँहरूले घेरा तोड्नु भयो । (पछि भेटमा सुनाउनु भयो  वहाँहरू बचेको कथा । मृत्युबाट जोगिएको कहानी ।) ढोका खोल्ने बित्तिकै  सेनाहरू माथि चोटामा उक्लियो । अनि ढोकामै उभिएर अर्को कोठाको ” बत्ती बाल ” भन्यो । अनि मैले सुस्तरी “उता त बत्ती नै छैन सर ” भनेँ। अलि हप्काएर पहिलो प्रश्न सोध्यो “तिमी को हौ ?”  ” म दिदीको घरमा आएकी पाहुना ।” ” तेरो घर कहाँ ? ” ” कोदो खोरिया हो सर ” भनें । ” हिंजो यहाँ माओवादीहरु थियो रे खै कहाँ गयो ?”  “आएको थियो खाना खाएर कता गए थाहा छैन ।”  “कति जना थिए ? झोले कि टाटे ?” “२५/३० जना जति थिए । दुबै खालको थिए ।” अन्तिम प्रश्न गर्‍यो ” टुकि बत्ती छैन ? टुकि बत्ती खोज छिटो ?” म बिस्तारै उठें । घरको बच्चाहरू सुतिरहेका थिए । म टुकि बत्ती खोज्न छिँडिमा ओर्ले। फेरि उहीँ प्रश्न उहीँ उत्तर टुकि बत्ति खोज्न । मुल ढोकामै सेन्ट्री बसेकोले कडा स्वरमा राईफल ताक्दै एउटाले भन्यो “कता जान लागेको ?” अर्कोले पेस्तोल ताक्दै भन्यो “नचल, रोक । ” मैले फेरि भनें “टुकि बत्ती खोज्न सर !”  चोटामा रहेको सेनाले “हो हो पठाइ देउ” भनेपछि सहज ढंगले म घरबाट चाहिँ बाहिर निस्किन सफल भएँ ।
कहिलेकाही अँध्यारोले नि निकै साथ दिंदोरहेछ । त्यही बेला थाहा भयो । अँध्यारोसँग  प्रेमको महत्त्व  । विस्तारै घरको छाँया परेको भाग हुँदै पाइला चालेँ । शाही सेनाको दोश्रो घेरा । र शाही सेनाको नजरबाट छेलिने बित्तिकै  बतास झैं वहन र चरो झैं उड्न थालेँ । आफैलाइ थाहा भएन म कुद्दै छु या उड्दै । राम्रोसँग होस आउँदा म  वर्तमान काभ्रे जिल्लाको नेता इन्द्रबहादुर थिङ (छिन्ताङ) दाइको घर आँगनमा पुगिसकेको रहेछु । एकै सासमा भनेँ  “आमा केही सामन छ भने लुकाउनुस शाहीसेना आइ सक्यो ।
माइला दाइको घरमा सेनाले घेरा हाली सकेको छ । यहाँ पनि आउन सक्छ। ” त्यति बेला मान्छे अलिअली चिन्न सक्ने मिरमिरे उज्यालो भइ सकेको थियो । म पूर्ण रुपमा खतरा मुक्त भएको थिएन । मैले सेनाको घेरा तोडेको घर र छिन्ताङ दाइको घर जम्मा दस पन्ध्र मिनेटको फरकमा थियो । आमालाई यति बोलेपछी म सरासर खोला तरेर  जङ्गलको उकालो लागेँ । सेना र म वारीपारिको भूगोलमा आमनेसामने थियौं । मैले शाही सेनाको गतिविधि देख्न सक्थें । करिब बिहानको सात बजेतिर शाही  सेनाको तान्डब नृत्य शुरु भयो । मैले छोडेको ग्रिनेडहरू ड्याम-ड्याम पड्काउन थाल्यो । कार्यालयमा भएको सामग्री जलाउन थाल्यो । त्यति मात्र कहाँ हो र घरको एघार बाह्र वर्षको भाइलाइ पिट्न थाल्यो । भाइ आँत्तिएर रोयो । यसै बेला घर माथितिरबाट एक जना मेरै उमेरकी बहिनीलाई घिसार्दै ल्याएको देखेँ । त्यो क्रूर ज्यादती देखेर हृदयमा विद्रोहको ज्वाला दन्किए पनि तत्कालीन अवस्थामा प्रतिरोध गर्न सक्ने अवस्था थिएन । पछि बुझ्दा थाहा पाएँ मैले छोडेको मेरो फोटो र ती बहिनीको अनुहार केही मिलेकै कारण बहिनीले बेस्सरी शाही सेनाको कुटाइ खानु परेछ ।
अझ अघि टुकि बत्ती खोज्न जाने केटी यहि नै हो भन्दै लछारपछार र बुटैबुटले भकुरेछ । मैले गर्दा बहिनीले दु:ख पायो भनेर झन दु:ख लाग्यो । जब मान्छेको मनलाई आफू खतराबाट मुक्त भयो भन्ने लाग्छ तब मात्र शारीरिक पीडाको अनुभव हुँदोरहेछ । खाली खुट्टा दौडँदा ठोक्किएर रगत बगेको रहेछ । चसचस दुख्न थाल्यो । पैतालाबाट रगत पनि चुहिदैरहेछ । जङ्गलमा छेलिदै शाही सेनाको गतिविधि नियाल्दै खुट्टाको घाउलाइ मनैले सुमसुम्याउदै करिब दुई घन्टाको उकालो काटेपछि चित्रे हुँदै डाँडागाउँ निस्किन सफल भएँ । त्यहाँ संचार वेस क्याम्प थियो । सिधै त्यहा पुग्दा कमरेड प्रताप जो वेस क्याम्पमा कार्यरत हुनुहुन्थ्यो मलाई देख्ने बितिकै भाग्न लाग्नुभयो ।मैले हतारमा बेलि बिस्तार गरेँ । म घेरा तोडी भागेर आएको भनेपछी रोकिनुभय । म सम्पर्कमा आइ पुगेको खबरले सबै जना शसङ्कित हुनुभयो । मलाई शङ्काकै घेरामा राख्नुभयो । पूर्व उर्जा राज्य मन्त्री सूर्यमान दोङले त झन सेनाले ” परिचालन गरेको होला ! सबै कमरेडहरू सचेत हुनुहोस् ” पो भन्नुभयो । हुन त त्यसो भन्नु पनि गलत थिएन । अवस्था त्यस्तै थियो । त्यतिबेला कैयौ साथीहरूलाई गिरफ्तार गर्न । सुराकी गर्न परिचालन गरेका थुप्रै घटनाक्रमहरु थियो । शाहीसेनाले आवश्यक रासनपानी र थप फोर्स हेलिकप्टर मार्फत ल्याइ रह्यो । हामी डाँडाको जङ्गलमा बसेर शाही सेनाको गतिविधि नियाल्दै बस्यौ ।
दिन बित्यो हामी जङ्गलमै बास बस्ने निधो गर्‍यौं । पौषको बेला लेकमा तुषारापात भयो । घरमा बस्न सक्ने अवस्था थिएन । समथर अलिअली झाडी भएको ठाउँ रोज्यौ । लहरै क. प्रताप क. सन्चमान र म कोदोको पराल ( नल) ओछ्याएर सिङ्गो खुल्ला आकाशलाई फाइबरको सिरक सम्झिदै चनाखो भएर  पल्टियाैँ ।  चरामुसाले खस्रक खुस्रुक गर्दा पनि हामी सचेत हुन्थ्याैँ  । पल्टिए पनि अाँखामा निद थिएन । मनमा तरह-तरहको प्रश्नको वर्षा भइरह्यो । राती सेल्टर सरेका कमरेडहरु सेनाको घेराबाट मुक्त भयो कि भएन होला ? मैले झोला अनि हतियार छोडी भागेको भनी  पार्टीले सजाय दिने पो होकि ? म त बाँच्न सके उहाँहरुको अवस्था के होला ?  अा…  ज्यान भन्दा ठूलो कुरो केही हैन यस्तै तर्क वितर्क मनमा खेली रह्यो ।
कठ्याँग्रिने जाडोमा ताराहरु झर्दै उज्यालोको लालीमा पोतिएर बिहानी भयो । ती निर्दोष विद्यार्थी जो घरकै भाइ र मेरो अनुहार जस्तै भएको बहिनीलाई शाही सेनाले मानसिक र शारीरिक यातना दिए पनि स्कुलको सरहरुको लाख बिन्ति कोसिसबाट धन्न ज्यान बच्यो । शाही सेनाले कसैको हत्या चाहिँ गरेन । दुई दिनपछि हेलिकप्टर मार्फत सेना फर्किए । हामी पनि बिस्तारै छुटेको टिम जम्मा हुँदै गयौं । मलाई देखेपछि मसङ्ग भेटेपछि सबै कमरेडहरु खुशी भए । मैले नाटकीय रुपमा शाही सेनालाई छलेको र घेरा तोड्न सफल  भएको घटनाक्रम सुनाइ रहँदा कमरेडहरूले मेरो साहसको प्रशंसा गरिरहे । त्यसपछि हामी निरन्तर पार्टीको योजना अनुसार काममा लागिरह्यौं ।
       त्यतिबेलाको प्रिय दाइ क. बुद्धि जो सहिद भै सक्नुभयो । तर उहाँ मेरो मानसपटलमा जीवितै हुनुहुन्छ । ती महान जनता जो बाख्रा सार्ने निहुमा मलाई बचाउनु भयो । वहाँहरूप्रति आत्मैदेखि सम्मान छ । हिजो एक ढिक्का रहेको पार्टी आज दस चिरा हुँदा मन बेस्सरी दुख्छ । आज पार्टीले हिजोको म जस्तै साहसिक योद्धाहरु जो कालको मुखबाट बचेको थिए । उनीहरुको योगदानलाई  कदर नगरे तापनि म जस्तै योद्धाहरूको चाहना भने पार्टी एक भै हिजोको वाचा कसम नभुलेर अगाडि बढोस भन्ने हो । जनताले हुर्काएको पार्टीले जनभावनाको कदर गरोस् भन्ने नै  लाग्छ । आज काम र मामको खोजिमा छरिएर रहेका  हिजोको योद्धाहरूको व्यवस्थापनमा ध्यान दिओस भन्ने लाग्छ ।
जनवादी शिक्षाको आशामा सुन्दर भविस्य अन्योल भएका  म जस्तै जनयुद्ध कालमा पढाइ छोडेका विद्यार्थीहरु । एकै  आदेशमा छातीमा गोली थाप्न तयार भएका योद्धाहरू  आज  खाडीमुलुकमा पसिना बगाउन बाध्य छन । ती योद्धाहरूलाई  उत्पादनमूलक रोजगारीको सृजना गराएको भए आज खाडीमा पसिना बगाउन जानु  त  पर्दैनथ्यो । शरीरभरी जनयुद्ध र गणतन्त्रको उपहार गोली र बमको छर्ला  बोकि संघर्ष गरि रहेका योद्दाहरुको उपचारमा ध्यान दिइयोस  । यी नै कुराहरू पार्टीले मध्यनजर गरोस । बाँकी समयले देखाउला । हिजोको नेतृत्व जो आज सत्ताको कुर्सीमा पुगेका छन उनीहरूले हिजोकै जस्तो एकताको भावना लिएर अघि बढेछ भने अझै हजारौं योद्धा अनि लाखौ जनता साथ दिन तयार छन । पार्टी र कार्यकर्ता र ती महान जनतालाई कस्तो बनाउने कस्तो विश्वास दिलाउने जिम्मा तपाईं नेतृत्वको हातमा ।

Comments

comments