दोलखा, २३ बैशाख । चालु आर्थिक बर्ष सकिन करिव साँढे दुई महिना बाँकी रहँदा दोलखाका स्थानीय सरकारको विकास बजेट खर्च निकै सुस्त देखिएको छ ।
साँढे ९ महिनाको अवधिमा दोलखाका ९ वटा स्थानीय सरकारले करिव ३० प्रतिशत बजेट मात्रै खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाको अनुसार ७ वटै गाउँपालिका र २ नगरपालिकाको बजेट खर्चको स्थिती उत्साहजनक हुन सकेको छैन । सँघीय सरकारले स्थानीय सरकारलाई बित्तिय समानिकरण अनुदान, सर्शत अनुदान, समपुरक अनुदान र बिशेष अनुदान दिने गरेको छ । चालु आर्थिक बर्ष दोलखाका स्थानीय सरकारलाई बित्तिय समानिकरणतर्फ १ अर्व ४४ करोड १७ लाख २ हजार र सर्शत अनुदानतर्फ १ अर्व १८ करोड ४० लाख ४ हजार गरी कूल २ अर्व ४६ करोड १ लाख ६ हजार अनुदान उपलव्ध गराएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख कोष नियन्त्रक भिष्मप्रसाद न्यौपानेले स्थानीय सरकारलाई जाने सवै रकम सम्वन्धित स्थानीय सरकारको खातामा निकासा भईसकेको जानकारी दिनुभयो । उहाँका अनुसार साउन १ गते पहिलो चौमासिक, कार्तिक १ गते दोश्रो र चैत्र १ गते तेश्रो चौमासिक रकम निकासा भईसकेको हो । सरकारले तिन वटै चौमासिक रकम समयमै स्थानीय सरकारलाई निकासा दिएपनि दोलखामा विकास निर्माणका योजना समयमै कार्यान्वयन नहुँदा बजेट खर्च उत्साहजनक हुन सकेको छैन ।
मेलुङ गाउँपालिकाको बजेट खर्च सवैभन्दा कम
कालिन्चोक र तामाकोसी गाउँपालिकाले बजेट खर्चको विवरण कोलेनिकामा नपठाएका कारण विकास निर्माणको काममा भएको प्रगति विवरण र खर्चको अनुपात यकिनरुपमा आउन सकेको छैन । गत माघ मसान्तसम्मको बजेट खर्चको अनुपातलाई हेर्दा बित्तिय समानिकरण अनुदानतर्फ मेलुङ र भीमेस्वर नगरपालिकले सवैभन्दा कम बजेट खर्च गरेका छन् भने सवैभन्दा बढि बैतेस्वर गाउँपालिका र बिगु गाउँपालिकाले खर्च गरेका छन् । मेलुङ गाउँपालिकाले जम्मा ६ दशमलव ३९ प्रतिशत र भीमेस्वर नगरपालिकाले १० दशमलव ९६ प्रतिशत बजेट मात्रै खर्च गरेको छ भने बैतेस्वर गाउँपालिकाले २५ दशमलव ९९ प्रतिशत र बिगु गाउँपालिकाले २१ दशमलव ८१ प्रतिशत बजेट खर्च गरेको छ । यस्तै, शैलुङ गाउँपालिकाले १४ दशमलव ८४ प्रतिशत, गौरीसँकर गाउँपालिकाले १६ दशमलव ९२, जिरी नगरपालिकाले १८ दशमलव ६६ प्रतिशत बजेट खर्च गरेको छ ।
यसैगरी सर्शत अनुदानतर्फ सवैभन्दा बढी भीमेस्वर नगरपालिकाले ६६ दशमलव २८ प्रतिशत, मेलुङ गाउँपालिकाले ६१ दशमलव ९६ प्रतिशत, शैलुङ गाउँपालिकाले ६० दशमलव ९८ र बिगु गाउँपालिकाले ६० दशमलव ९५ प्रतिशत बजेट खर्च गरेको छ । भीमेस्वर नगरपालिका, मेलुङ गाउँपालिका र शैलुङ गाउँपालिकाको बित्तिय समानिकरण खर्च न्यून भएपनि सर्शत अनुदानतर्फ भने करिव ६० प्रतिशत बजेट खर्च भएको हो ।
७० प्रतिशत बजेट खर्चको चुनौती
स्थानीय सरकारलाई बित्तिय समानिकरणतर्फ प्राप्त अनुदान रकम गाउँ सभा र नगर सभावाट योजना तथा बजेट निर्माण गरी खर्च गर्न पाउने व्यवस्था छ । सामानिकरणतर्फको अनुदान बजेटवाट चालु खर्च कटाएर बाँकी रकम पूर्वाधार विकासमा खर्च गर्न सकिन्छ । यस्तै, सर्शत अनुदानतर्फको बजेटमा शिक्षा, स्वास्थ्य, पशु सेवा, आयुर्वेद लगायतका बिषयगत कार्यालयको चालु खर्च र कार्यक्रमतर्फ तथा कर्मचारीको तलव, भत्ता र सेवा सुुविधामा खर्च गरिन्छ ।
चालु आर्थिक बर्षको साँढे ९ महिनाको अवधिमा करिव ३० प्रतिशत बजेट खर्च गरेका स्थानीय सरकारलाई अवको साँढे दुई महिनामा ७० प्रतिशत बजेट खर्च गरी पूर्वाधार विकासका काम गर्न नकिै चुनौतिपूर्ण देखिएको छ । यद्धपि प्रमुख कोष नियन्त्रक न्यौपानेले आर्थिक बर्षको अन्त्य सम्ममा बजेट खर्चको अनुपात बढ्ने बिस्वास व्यक्त गर्नुभयो ।
स्थानीय सरकारका जनप्रतिनिधिले पनि तेश्रो चौमासिकको अन्त्य सम्ममा विकास निर्माणको काममा प्रगति हुने बताएका छन् । तर, बैशाख महिनावाटै हल्का बर्षा सुरु भएका कारण विकास निर्माणका योजना सँचालनमा झनै समस्या हुने देखिएको छ ।






















