२४ बैशाख, काठमाडौं । सिन्डीकेटधारी यातायात व्यवसायीहरुको आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।
सेभल्यान्डीङ खोजीरहेको सिन्डीकेटधारी यातायात व्यवसायी र सरकार बीचमा विभिन्न ५ बुँदे सहमति सोमबार भएसँगै आन्दोलन फिर्ता लिएको हो ।
५ बुँदे सहमतिमा यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको सरकारी कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिन्डिकेटको अन्त्य गर्न सहमत भएका छन् ।
यस्तै यातायात क्षेत्रलाई व्यवस्थित तथा प्रभावकारी बनाउन मन्त्रालयलाई यथाशीघ्र राय परामर्श दिन सरोकारवाला समेतको प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने पनि समझदारी भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको उपस्थितिमा आइतबार मन्त्रालय र यातायात व्यवसायी महासंघबीच भएको छलफलबाट सो सहमति भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।