-योगेश राल्फाली

“धोका दियौं तिमीले कलेजीमा घाउ लाग्यो” भन्दै सखारै बस्यो मेरो मोबाइल घण्टी आज । हत्तनपत्त आँखा भित्तामा टाँसेको घडीको सुईतिर हुत्याएँ, विहानको ठीक ५ बजेछ । प्रायगरी बिहान ढिलै गरी बास्थ्यो मेरो मोबाइल । विस्तराको छेवईको मोबाइल हेरें गाङ्नाम्साको च्याङबाको नम्बर रहेछ ।

बिहान ७ बजे भन्दा अगाडि र बेलुका ९ बजेभन्दा पछाडि आउने फोनलाई म आपतविपतको घण्टीको रुपमा लिने गर्छु, नभन्दै हो रहेछ । काठमाडौंको मित्रपार्कमा बस्ने गरेकी च्याङ्बाको दिदी लासाङ सिकिस्तै छे, सास भेट्न पनि मुस्किल छ जाउँन दाइ भन्दै अकमकिएको स्वरमा बोल्यो च्याङ्बाले । छर छिमेक, आफन्त, इष्टमित्रको आपतविपतमा घरको समस्यामा भन्दा दश गुणा अगाडि उचालिने मेरो पाइला झन् च्याङबाको घरको समस्यामा चुप रहने त कुरै भएन । च्याङ्बा साइनोले मेरो आफ्नै सहाेदर काकाको कान्छो छोरा हो ।

हुन त विपतको घडीमा साइनो लगाईन्न तर पनि च्याङ्बाको कुरा इन्कार गर्ने साहस भएन र हुन्छ भने मैले । ६ बजे बनेपामा भेट्ने सल्लाह भयो च्याङ्बा र मेरो । च्याङ्बाको घर गाङ्नाम्सा भए पनि धुलिखेलतिर मजदुरी गरेर बसेको कुरा बेलाबखतको फोन वार्तामा हुने गर्थ्यो हाम्रो । ऋण काढेर घर सल्लाहमा परदेश उडेकी जीवन संगिनी बेखबर भई धोका दिएपछि विरक्तिएर दिनभर मजुरी गर्ने साँझ परेपछि गिलासमा डुबुल्की मारेर जीवन बर्बाद पार्दैछ च्याङ्बाले भनेर नसुनेको होईन मैले । जेहोस् आज धेरै समयपछि दुःखको खबरसँगै च्याङ्बालाई भेट्ने भएँ । भेटेर राम्रोसँग सम्झाउने काेशिस गर्दा प्रत्यक्ष भेट्नबाट टाढिरहन्थ्यो च्याङ्बाले सबै आफन्तसँग ।

आज बसको यात्राभरी सम्झाउने योजनाका साथ म बिहानको नित्यकर्म सकाएर तयार भएँ तर आजको सामुदायिक सूचना नेटवर्क सिआईएन खबर सुन्न नपाउने भएकोमा भत्तभति पोलेको छ, मन भने । किनकी बिहानी रेडियो खबर सुन्ने लत ममा गहिरो परेको छ तैपनि कान र मोबाइलबीच जोड्ने तारकाे तुइनको उपयोग गरेरै भए पनि रेडियो खबर सुन्ने निर्णय गरेर तयारीका साथ एयरफोन पनि बोकी बनेपाको लागि बस पक्रेँ पनौतीबाट । धन्न आज चिनेको कोही रहेनछ बसभित्र । यदी चिनेको कोही हुँदाे हाे त यति विहानै कता ? किन ? कहाँसम्म ? कहिले फर्कने ? घरमा कस्तो छ ? अचेल के गर्दै हो नि ? जस्ता प्रश्नहरुको जवाफ दिँदैमा बनेपा पुगेको पत्तै हुने थिएन ।

“जेष्ठ नागरिक” लेखिएको आरक्षित सिटको पछिल्तिर बसेर बसको दृश्यमा आँखा चराएँ । बस एकै छिनमा खचाखच भरेर हुईकियो । मेरो मनमा भने “कोभिड–१९” महामारी र विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य मापदण्डको बेवास्ता गरेको आँखै अगाडिको परिदृष्यहरु साथै दैनिक बढिरहेको कोभिड संक्रमणदर र मृत्युदरको खबरहरु तँछाडमछाड भईरह्यो । सम्झाउँ भने कसलाई सम्झाउँ यात्रु या चालकलाई ? (बनेपा–काठमाडौं)–२ (सिट खाली)-२ भनेर बोलाउने सहचालक या म आफैंलाई कसलाई के भन्ने ? कतै च्याङ्बाको दिदी लासाङलाई पनि कोभिड त हैन भनेर सोच्दै बनेपा आईपुगेको पत्तै भएन, च्याङ्बा आएको छैन होला भनी ओर्लें म ।

मोबाईल निकालेर च्याङ्बालाई फोन गर्न खोज्छु त दशौंपटक फोन आईसकेछ पत्तै भएन च्याङ्बाको फोन आको । फोन गर्न आँटेको मात्रै के थिएँ च्याङ्बाले म यहाँ छु दाइ भन्दै नजिकै आयो च्याङ्बा । च्याङ्बाको शरीरभरी आँखा चराएँ, हो रहेछ आफन्तले सुनाएको खबर । नभन्दै च्याङ्बा रक्सीले पुरै परिवर्तन भईसकेछ । देख्ने बित्तिकै बेस्सरी झपार्ने मन त कहाँ नभएको हो र तैपनि आफैंले आफैलाई सम्झाएँ याे बेला केही भन्नु हुन्न भनेर ।

हिजोको च्याङ्बा र वर्तमानको च्याङ्बाको भौतिक शरीर तुलना गर्दै चाबहिल पुग्ने मयुर यातायात पक्रन खोज्छु हुन्न दाइ अर्कोमा जाने भन्दै इन्कार गर्याे च्याङ्बाले । यो बेला च्याङ्बालाई बढी किन कराउनु कोटेश्वर ओर्लेर जाउँला मयुर यातायातले पनि पहिले जस्तो छिटो लग्दैन घ्याच्च-घ्याच्य गरी यात्रु कुर्ने अरु बसको सिको सिकिसकेको छ भन्ने सोचें मैले । म चढेको भन्दा पछिल्लो पनौतीको बस आयो त्यही बसमा चढ्यौँ हामी दुबै ।

बनेपाबाट हामी लगायत खचाखच यात्रु बोकेर हुईकियो काभ्रे मिनिबस सेवा समितिबाट सञ्चालित ८२५२ नम्बरकाे बस । च्याङ्बा चुपचाप बसिरहेछ छेउमा । बेलाबेला छड्के आँखाले पढ्ने कोशिस गर्छु म च्याङ्बाको अनुहारलाई । उ एकोहोरो टोलाईरहेछ मैले बेलाबेलामा सोधेका केही प्रश्नहरुका जवाफ दिन पनि उ अनइच्छुक भाव झल्काउँछ, सोचें दिदी लासाङ साह्रै बिरामी भएकोले होला । उ आँखा चिम्लेर सिटमा आड लगाई निदाए झैं गर्छ तर छिनछिनमा आँखा पुर्लुक्क खोलेर हेर्छ ।

यतिकैमा बस कोटेश्वर पुग्नै लाग्दा ‘भाइ अब ओर्लने बेला भो कोटेश्वर आईपुग्न लाग्यो उठ ।’ भनी उतिर हेर्दा च्याङ्बा दुबै हातले कान थुनेर बसेको रहेछ । यत्तिकैमा हवाई जहाजको ठूलो आवाज बसभित्रै ध्वनी प्रदुषण हुने गरी अावाज आएकोेले होला भन्ने सोचें र हात धकेल्दै “उठ भाइ ! ओर्लौ भनें ।’ तर उसले ‘यहाँ होईन दाइ ! रत्नपार्क ओर्लने’ भन्यो । कोटेश्वर ओर्लेर सिधा नगई आज के भयो यसलाई भनि म चुपचाप उसलाई मौन समर्थन गरें, उ भने दुबै हातले बेस्सरी कान थुनिरहेछ । च्याङ्बाकै सल्लाह अनुसार हामी रत्नपार्क ओर्लेर शान्तिबाटिका अगाडिको निलो माइक्रो पक्रेर मित्रपार्क पुग्यौं । च्याङ्बाले दिदीलाई फोन गर्दा दीर्घायु गुरु हस्पिटलमा भन्ने जानकारी पाएपछि हामी त्यही हस्पिटलमा गयौं सरासर । तर दिदी लासाङ भने तङरी सकिछे, पाँच मिनेट ढिला भएको भए जे पनि हुन सक्थ्यो भन्यो रे डाक्टरले ।

उच्च रक्तचापका कारण विछ्याउनमै अचेत भएको तर समयमै अस्पताल पुर्याएकाेमा दिदी लासाङ निको भईसकिछे । तर च्याङ्बाको मुहारमा अघि भन्दा थाेरै परिवर्तन देखिएता पनि खासै चमक भने देखिएकाे छैन । करिव ११ बजेको समय होला हामी लासाङलाई लिएर उनको कोठामा पुग्यौं । भान्जा लाह्युललाई सँगैको कोठाको साथीले खाना खुवाएर स्कुल पठाइसकेछ । भान्जालाई सानैमा देखेको हो अहिले ११ वर्ष पुग्यो रे तर भेट भएन । लाह्युलको पनि मलेसिया हुईकिएर १० वर्ष पुग्यो मरेको र जिउँदो अत्तोपत्तो छैन । तर च्याङ्बाकी श्रीमती कला भने कतार गएकी झण्डै ७ वर्ष भयो ३ वर्षदेखि भने उनको बेखबर छ, बेला बखत सामाजिक सञ्जाल फेसबुकमा तस्वीर टाँसेको भने देखिन्छ नै । फोन गर्दा मरे उठाउँदिन त्यसैले अचेल फोन गर्न पनि छोडेको छ रे च्याङ्बाले । आज श्रीमान बेपत्ता भएको दिदी र बेखबर श्रीमतीकी श्रीमान च्याङ्बाको साथ म एक्लो कताबाट कुराको उठान गरौं मेसो भएन ।

विछोड के हो ? विछोडको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ । ती दुई दिदी भाइको यथार्थ जीवन कथा थाहा छ तर हाल कस्तो भनेर म परदेशिएका अरुका बारेमा कुरा झिकेर प्रसँग ल्याउँन खाेज्छु तर दिदी भाइ प्रसँगसँग झसँग मात्रै हुन्छ, कुरा मोडेर अन्तै लग्छ । च्याङ्बा बेलाबेलामा हवाईजहाजको अवाज सुन्यो कि दुई हातले बेस्सरी कान थुन्छ । विमानस्थल नजिक भएकोले जहाजको कर्कसध्वनी सुनिनु अस्वभाविक भने हैन । लासाङलाई अलिक ठीक भएकोले हामी दिउँसो ४ बजेतिर मित्रपार्कबाट काभ्रे जान तयार भयौं । मित्रपार्कको सडक छेउमा आएर म कोटेश्वर पुग्ने बस/माइक्रो रोक्न खोज्छु तर च्याङ्बा भने “त्यो होइन दाइ ! मलाई एयरपोर्ट जान फिटिक्कै इच्छा छैन, किनकी त्यो एयरपोर्टबाट जहाजले मेरो सपना उडाएर लगेको छ दाइ ।” भन्दै बर.र.र.र… आँसु झार्याे च्याङ्बाले । म निःशब्द बनें । सुनेको थिएँ “असल श्रीमती परे जीवन सफल हुन्छ, खराब परे दार्शनिक ।” भनेर दार्शनिक सुकरातले भनेका थिए रे । तर च्याङ्बा भने दार्शनिक बन्न सकेन । यो भनाई पनि मेल खाएन च्याङ्बाको जीवनमा । “हो दाइ ! मलाई यो जहाजको आवाजै मन पर्दैन जहाज आयो कि विगत याद आउँछ भन्दै आँसु पुछेर सम्हालिन खोज्छ उ । तर अाँसु भने छैन राेकिन मानिरहेकाे । हो, बिगतमा च्याङ्बाको गाउँमा खुब चर्चा थियो ।

लेखक, कवि, साहित्यकार, समाजसेवी तर अचेल उ केवल रक्स्याहा …। विगतले गर्दा समाजले उसलाई सामुन्नेमा रक्स्याहा जड्या भन्न नसकें पनि अब पछाडि कुरा काट्नेको कमी छैन च्याङ्बाको । केही बेरपछि उही रंगको निलो माइक्रो आयो रत्नपार्क जाने । हामी काभ्रे प्रस्थानको लागि माइक्रो चढ्यौं । च्याङ्बा म छेउमा बसेर एकोहोरिरहेछ । म पनि च्याङ्बाको विगत सम्झँदै कस्तो मान्छे एउटी महिलाकाे कारण आज कस्तो बन्यो अब भविष्य के होला भन्दै सोचि रहें ।

केही समय त लाग्ला तर च्याङ्बालाई ठीक ठाउँमा पहिलेकै अवस्थामा ल्याउने मनमनै प्रण गरें मैले । अनेक सोच्दै आउँदा शान्तिबाटिका आइपुगेको पत्तै भएन हामी शान्तिबाटिका ओर्लने बित्तिकै उड्यो आकाशमा बढेमाको जहाज । च्याङ्बा भने कान थुन्न थाल्यो निहुँरिदै । म भने जहाज उडेको दिशातिर हेर्दै साेची रहेँ यो जहाले पनि कति जनाको सपना उडायो आज । कामना गरें अब कहिल्यै नउडाओस् जहाजले कसैेकाे सपनाहरु…….।