-अमृत योञ्जन तामाङ

पहिलो चरणको राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदैछ। यस पल्टको जनगणनामा मातृभाषा बोल्न जाने पनि नजाने पनि तामाङहरूले ‘मातृभाषा’को महलमा तामाङ भाषा लेख्नोस्। ‘पूर्खाको भाषा’को महलमा पनि तामाङ भाषा लेख्नोस्। र ‘दोस्रो भाषा’को महलमा आफ्नो छिमेकीको भाषा लेख्नोस्।

किन ?

किनभने

१) मातृभाषा हाम्रो लागि निकै महत्वपूर्ण छ। यो पहिचान र अस्तित्वसँग पनि जोडिएको प्रश्न हो अनि दैनिकी र रोजगारीको पनि बलियो स्रोत हो। नेपाली बोल्दा उच्चारण ठीक भएन भनेर अपमानित हुनु परेकोमा त्यसबाट बच्ने उत्तम उपाय पनि हो।

२) भाषाको वक्ता सङ्ख्या कै आधारमा मातृभाषाहरू प्रदेश र पालिकाको पनि सरकारी कामकाजको भाषा बन्दछ। जुन भाषाको वक्ता सर्वाधिक हुन्छ त्यै भाषा त्यस प्रदेश र त्यस पालिकाको पनि सरकारी कामकाजको भाषा बन्छ। यस कारणले पनि जनगणनामा ‘मातृभाषा’ किटेर लेख्नु आवश्यक छ। गणकले पेन्सिलले लेख्न सक्छ, होशियार हुनुहोस् र कलमले लेख्न लेखाउन होस्।

३) नेपालको राज्यसत्ताले भाषाको नाममा राजनीति गर्दै आएको छ। ऊ जसरी पनि एकल भाषी सत्ता कामय गर्न चाहन्छ। २०६८ को जनगणनामा नेपाल आदिवासी जनजाति महासंघ लगायतले मातृभाषाको सही तथ्याङ्‌क सच्चाउन ‘मातृभाषा’को साथै ‘जाति भाषा’ राख्न अनुरोध गरिदा केन्द्रिय तथ्याङ्‌क विभागले ‘थप्ने ठाऊँ छैन’ भनेर पन्छियो। र २०७८ मा मातृभाषीहरूसँग परामर्श नै नगरी सो ठाउँमा ‘पूर्ख्यौली भाषा’ राख्यो। समयमै ‘जाति भाषा’ राख्न अनुरोध गर्दा ऊ सच्चिन चाहेन। र ‘पूर्ख्यौली भाषा’ हामीले चाहेको होइन, यो हामीलाई नरुचेको गाँस हो। यसको पछाडि निकै ठुलो राजनीतिक षड्यन्त्र भैरहेको छ।

४) आइएलओ कन्भेन्सन १६९ ले आदिवासी जनजाति समुदायसँग ‘स्वतन्त्र र पूर्व-सुसूचित सहमति’ लिनु पर्ने व्यवस्था छ। तर ‘पूर्ख्यौली भाषा’ राख्दा हामीसँग सहमति नलिएर हामीलाई वेवस्ता गरेकोले हामीले पनि स्वच्छचारी कदमलाई वेवास्ता गर्नु नै उचित हुन्छ। भाषा आयोगले पनि सरकारी कामकाजको भाषा तोक्दा आदिवासी जनजाति महासंघलगायतका मातृभाषी संघसंस्थासँग सहमति लिएन रे, प्रदेशका आदिवासी सांसदहरूसँग पनि परामर्शसमेत गरेन रे। यो नेपाली सत्ताको गुण नै हो- गैर नेपाली भाषी नागरिकलाई ‘रैती’ ठान्ने।

र, मूल जनगणना कार्तिक १८ देखि मङ्‌सिर ९ गतेसम्म हुनेछ। जनगणना भरपर्दो भएमा यसले व्यक्ति, समुदाय, राष्ट्र र अन्तर्राष्ट्रिय जगतलाई पनि निकै फाइदा हुन्छ, यथार्थमा आधारित विकास योजना बन्न यसले सघाउँछ। तर नेपालमा यो भरपर्दो कहिल्यै भएन, जहिले नि राजनीतिको आखडा बन्यो। कर्मचारीहरूले आफ्नो दुनो सोझ्याइ रहे। तथ्याङ्‌क मिथ्याङ्‌क बनाइ रहे। यसर्थ हामी होशियारी होऔं। जाने पनि नजाने पनि आफ्नो ‘मातृभाषा’ लेखौं र लेखाऔं।

Comments

comments