काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. १२ का मजदुरहरुले क्रसर व्यवसायी राजभक्त प्रधान विरुद्ध नायिक समितिमा निवेदन दर्ता गरेको छ । पटक–पटक ज्याला मागेपनि नदिएपछि ‘ज्याला दिलाई पाउँ’ भनी रोशी गाउँपालिकाको न्यायिक समितिमा मंगलबार मजदुरहरुले निवेदन दर्ता गरेका हुन् ।
निवेदनमा ८ जना मजदुरहरुको करिब ११ लाख रुपैयाँ ज्याला नदिएको उल्लेख छ ।
‘रोशी गाउँपालिका १२ नं. वडा माम्ति स्थित रहेको भिमेश्वरी एग्रीगेट स्टोन प्रालि नामको क्रसर उद्योग संञ्चालक राजभक्त प्रधानले २०७६ असार १५ देखि २०७८ साल सम्मका काम गर्ने मजदुरहरुको ज्याला र होटलको खानाको पैसा उक्त उद्योगपतिले विभिन्न बहानावाजी गरी छलफल र फोन गर्दा समेत बेवास्था गरि कुनैपनि मजदुरहरुको हिसाब नदिएको हुँदा यस मजदुरहरुको ज्याला र खाना सहितको रकम दिलाई पाउँ भनी यस रोशी गा.पा. को न्यायपालीकाको र्काालयमा यो निवेदन पेश गर्दछौँ ।’ निवेदनमा उल्लेख छ ।
र याे पनि
नाम सफल व्यवसायी ‘राजभक्त’: क्रसरका मजदुरलाई दिएन ज्याला
निवेदनमा हिरालाल बलको ६ लाख रुपैयाँ, ठाइँला मोक्तान १ लाख ६८ हजार रुपैयाँ, राजकुमार रायमाझीको ४२ हजार रुपैयाँ, उद्धव रायमाझीको २८ हजार रुपैयाँ, सान्तरामको ३१ हजार ६ सय रुपैयाँ, सुमन रायमाझीको १९ हजार ५ सय, जिबन रायमाझीको १० हजार र होटल वाला गोमा पुलामी मगरको २ लाख ६३ हजार रुपैयाँ व्यवसायी राजभक्त प्रधानले नदिएको जनाएको छ ।
न्यायिक समितिका कानूनी सहजकर्ता बेवी डेगी गुप्ताले पिडितहरुको निवेदन बुझेपछि प्रधानलाई छलफलमा आउन फोन गरेको थियो । ‘म दशैं पछि आउँछु’ भन्ने जवाफ दिएको सहजकर्ता गुप्ताले जानकारी दिए । आफ्नोबारेमा सञ्चार माध्यममा आएको समाचार हटाए मात्र आफू छलफलमा आउने फोनमा बताएको गुप्ताले जानकारी दिए । साथै प्रधानले पनि पत्रकार महासंघमा मुद्दा दर्ता गरेकोले छलफलमा नआउने जवाफ दिएको बताइएको छ ।
यसैबीच न्यायिक समितिका संयोजक तथा रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबा (ज्वाला)ले छलफलको प्रक्रियामा लाने बताए । ‘विधिवत रुपमा निवेदन दर्ता भएको छ । अब छलफलको लागि वातावरण बनाउँछु ।’ वाइबाले भने, ‘मैले पनि व्यक्तिगत रुपमा पहल गरेको थिएँ । दिन्छु त भनेकै थिए तर किन दिएन थाहा भएन ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















