काभ्रे जिल्लामा मात्र होइन, देशैभरि सफल व्यवसायीका रूपमा परिचित बनेपाका स्थायी बासिन्दा राजभक्त प्रधान पैसामा जति धनी छन्, मानवीयताका हिसाबले त्यति नै गरिब छन् । प्राकृतिक स्रोतसाधन माथि दोहन गरेर राज्यलाई नै ठग्ने काम त गरेकै छन्, तर उनले मजदुरहरिलाई लाखौँ पैसा नदिएर समेत ठगेका छन् ।
विशेष गरी क्रसर उद्योग र खानीजन्य उद्योगहरूमा लगानी गर्ने प्रधानको प्रायजसो उद्योग अवैध छ । सत्तामा रहेका राजनीतिक दलका केही नेता र प्रशासनलाई समेत आर्थिक प्रभावमा पार्न सक्ने क्षमता भएका प्रधानले प्राकृतिक साधन स्रोतको अवैध दोहन गरेर करौंडौ पैसा कमाए । गुन्डादेखि प्रशासन र नेताहरू सबै उनको मुठीमा रहेको चर्चा विगतदेखि चल्दै आएको कुरा हो ।
अझै पनि उनको क्रसर उद्योग देखि खानी उद्योगहरू अवैध छन् । यसरी खुलेला दोहन हुँदा पनि यहाँका राजनीतिक दलका नेताहरू, प्रशासन सबै चुप छन् । यसबाट के पुष्टि हुन्छ भने ‘यसरी पो बनेका रहेनछन् राजभक्त सफल व्यवसायी ।’
तर उनको उद्योगमा काम गर्ने मजदुरहरूको पारिश्रमिक नदिएको कुरा न राजनीतिक दलहरूले उठाउँछ न प्रशासनले ।
रोशी गाउँपालिका वडा नं. १२ मा रहेको भीमेश्वर एग्रीग्रेट प्रा.लि. नामको क्रसर उद्योग स्थापना गर्ने राजभक्तले उद्योग दर्ता भने गरेनन् । दर्ता विनै सञ्चालन गरेको सो उद्योगबाट उनले करोडौँ पैसा कमाए । प्रशासन र राजनीतिक दलका नेताहरूको ‘आँखामा पैसाको पट्टी बाँधेपछि’ राजभक्तले गरेको गैर कानुनी कार्य कहिल्यै नदेखेको आरोप स्थानीयले लगाउन थालेका छन् ।
तर अवैध रूपमा सञ्चालन गरेको सो उद्योगका मजदुरहरूले अहिलेसम्म पनि ज्याला नपाएको कुराप्रति सरोकारवाला समेत बेखबर छ । न स्थानीय सरकारलाई चासो छ, न सांसद, मन्त्री र प्रशासनलाई चासो छ ।
राजभक्तको सो उद्योगमा काम गर्ने मजदुरहरूको ज्याला ९ लाख २५ हजार ९ सय र स्थानीय होटेलमा २ लाख ५५ हजार ९ सय १५ गरी ११ लाख ८१ हजार ८ सय १५ रुपैयाँ पैसा विगत ३ वर्षदेखि दिएका छैनन् । हाल सो उद्योग बन्द अवस्थामा छ ।
२०७६ असार १५ गतेदेखि २०७८ सालसम्म काम गरेको ज्याला मजदुरहरूले नपाउँदा उनीहरू पीडित भएका छन् । ज्याला नपाएपछि आफ्नो पारिश्रमिक लिनका लागि उनीकहाँ धेरै पटक धाए मजदुरहरू तर उनले ‘दिन्छु, चिन्ता नलिनु’ भन्ने जवाफ मात्र दिने गरेको गुनासो मजदुहरुको छ ।
‘म ज्यालादारी मजदुर मान्छे, मेरो श्रीमती निक्कै बिरामी भइन्, उपचार गर्न मलाई पैसाकै कारणले निक्कै कठिन थियो । मेरो पारिश्रमिक १ लाख ६८ हजार रुपैयाँ पाउनुपर्ने छ ।’ सो उद्योगका मजदुर ठाइँला मोक्तानले भने, ‘मेरो श्रीमतीको उपचारको लागि पैसाको अभाव भएपछि उहाँसँग मागेँ, तर दिनु भएन । उहाँसँग मैले चन्दा मागेको त थिएन नि । मेरो ज्याला पो मागेको त ।’
आँखामा आँसु टिलपिलाउँदै मोक्तानले आफ्नो पिडा सुनाउँदै थिए । राजभक्तसँग थोरै पनि मानवीयता नभेटेको उनको गुनासो छ ।
त्यसैगरि सोही उद्योगमा काम गर्ने अर्का मजदुर हिरा तामाङको ६ लाख रुपैयाँ ज्याला नदिएको खुलेको छ । उद्योगबाट करोडौँ कमाएका राजभक्तले आफ्नो पारिश्रमिक नदिएपछि आफू माथि निक्कै ठूलो अन्याय भएको तामाङ बताउँछन् । ‘मैले त्यो उद्योगमा निक्कै पसिना बगाएँ । मैले ज्याला पाएन । मैले ६ लाख रुपैयाँ पाउनुपर्ने छ ।’ तामाङले पिडा सुनाउँदै भने, ‘मैले भिख मागेको त होइन नि, हाम्रो पसिनाले जोडेको उहाँको सम्पत्तिले नै उहाँलाई कुनै दिन बाटो छेक्ने छ ।’
टन्टलापुर घाममा तार जाली ओसारेका राजकुमार रायले पनि आफ्नो ४२ हजार रुपैयाँ ज्याला पाएनन् । विगत ३ वर्षदेखि पाउने आसामा थिए उनी । तर पाएनन् । ‘मैले निक्कै दुःख गरेँ । तर मैले ज्याला पाउन सकिन ।’ रायले भने, ‘घामपानी भनिन । मैले गरेको मिहिनेतको ज्याला पो मागेको त ।’
राजभक्तबाट होटेल सञ्चालक समेत पीडित बनेका छन् । होटेल सञ्चालक गोमा मगरलाई उनले २ लाख ५५ हजार ९ सय १५ रुपैयाँ तिर्नुपर्ने देखिन्छ । मगरका अनुसार उनी पनि पैसा पाउने आसामा राजभक्त कहाँ धाएको धेरै भयो ।
‘म गाउँको सामान्य मान्छे हुँ । दुईचार पैसा हुन्छ कि भनेर सामान्य होटेल खोलेको तर उहाँले मेरो २ लाख ५५ हजार ९ स १५ रुपैयाँ पैसा नदिएपछि म धेरै समस्यामा परेको छु ।’ मगरले भनिन्, ‘मेरो जाबो त्यति पैसा दिन नसक्ने मान्छे पनि होइन उहाँ । किन यसरी बेइमान गरेको हो थाहा छैन ।’
बारम्बार धाउँदा पनि ज्याला नपाएपछि गत असार २१ गतेका दिन रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबा (ज्वाला)को पहलमा पीडितहरू र राजभक्तबिच छलफल गर्ने वातावरण बनाएको थियो । छलफलमा उनीसँगै स्थानीय फुर्साङ मोक्तान, सुक लाल तामाङ, होटेल सञ्चालन गोमा मगर र क्रसरको रेखदेख गर्ने मजदुर हिरा तामाङ सहितको सहभागी थियो । सो छलफलमा साउनको पहिलो हप्तामा सबैको ज्याला चुक्ता गर्ने सहमति भयो ।
सहमति अनुसार श्रावणको पहिलो हप्तामा उनलाई सम्पर्क गर्दा सबैको नम्बर ‘ब्लक लिस्ट’ राखेको पीडित हिरा तामाङले बताए । ‘उहाँसँगको हाम्रो सहमति अनुसार साउनको पहिलो हप्तामा दिने भन्ने थियो । सोही अनुसार मैले फोन सम्पर्क गरेको, तर हामी सबैको मोबाइल नम्बर ‘ब्लक लिस्ट’ राखेछ ।’ तामाङले भने, ‘हामी मिडियासम्म आउन बाध्यभयौं । न्याय पाउनको लागि अब हामी अगाडि बढ्छौँ ।’
यता उद्योगपति राजभक्त प्रधानलाई यो विषयमा बुझ्न खोज्दा उनले फोन उठाएनन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















