मण्डनदेउपुर नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट
आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम
१. मण्डनदेउपुर नगरपालिकाका नगर सभाका सदस्यज्यूहरु, मण्डनदेउपुर नगरपालिकाको नगर सभाको १३ औं अधिवेशनमा हार्दिक स्वागत गर्दछु ।
२. नेपाली जनताले विभिन्न कालखण्डमा गरेका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, मधेस आन्दोलन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापनार्थ गरेको त्याग र बलिदानलाई स्मरण गर्दै सो क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरूप्रति सम्मान र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
३. मण्डनदेउपुर नगरपालिकाको नगरसभाको यस गरिमामय अधिवेशनमा मण्डनदेउपुर नगरपालिकाको प्रमुखको हैसियतले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरव महशुस गर्दछु । सम्वत् २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भई कार्यभार सम्हालेको एक वर्ष पुरा भएको छ ।
यस अवधिमा नगरपालिकाको विकास र सुशासन कायम गर्ने दिशामा निकै दुरगामी र महत्वपूर्ण प्रभाव पर्ने कार्यहरुको थालनी गरिएको छ। यस कार्यमा नगरवासी तथा सरोकारवाला निकायहरुबाट भएको सहयोग, सहकार्य र समन्वयको लागि म मण्डनदेउपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवादज्ञापन गर्न चाहन्छु ।
४. मण्डनदेउपुर नगरपालिकाले स्थानीय सरकारको हैसियतबाट विभिन्न संरचनागत, नीतिगत, कानूनी, प्रशासनिक तथा व्यवस्थापकीय कार्य सम्पादन गरेको छ । मूलतः यस अवधिमा विगतदेखि सञ्चालित आवश्यक कार्यक्रमको निरन्तरता र शिघ्रताका साथ सम्पन्न गर्ने कुरालाई जोड दिदै थुप्रै नविन, सिर्जनात्मक र सुशासनका लागि अपरिहार्य मानिने योजना तथा कार्यक्रमको शुरुवात गरिएको छ । नगर सभा, नगर कार्यपालिका, विषयगत शाखा र वडास्तरबाट सम्पादन गर्नुपर्ने काम कारवाहीलाई प्रभावकारी रुपमा सम्पादन गर्न प्राथमिकता दिईएको छ ।
५. नगरसभा र नगर कार्यपालिका अन्तर्गतका विषयगत समितिहरुको भूमिकालाई थप प्रभावकारी बनाउँदै लगिएको छ। आवश्यक विषयमा कानुन तर्जुमा, योजना तथा परियोजनाको निर्माण, सेवा प्रवाहमा सूचना प्रविधिको उपयोग गर्दै पारदर्शी शासन सञ्चालन गर्ने दिशामा अग्रसर भएका छौं ।
६. सूचना र प्रविधिको उच्चतम् प्रयोग गरी सेवा प्रवाहलाई सहज बनाउन नगरक्षेत्र भित्रका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्थाहरु र सामुदायिक विद्यायहरुमा निःशुल्क ईन्टरनेट सुविधाको व्यवस्था गरिएकोमा थप प्रभावकारी बनाईने छ ।
७. शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, न्याय निरुपणजस्ता विषयका कार्यक्रमलाई संचालन गर्ने कार्यको निरन्तरतालाई प्राथमिकतामा राखेका छौं।
८. स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । यो सरकार संघीय लोकतान्त्रीक गणतन्त्रात्मक नेपालमा लोकतन्त्रको अभ्यासको हिसाबले शासन प्रणालीको आधारस्तम्भ हो। त्यसैले स्थानीय सरकार जनताप्रति जिम्मेवार, भ्रष्टाचारमुक्त, सीमित साधनस्रोतको अधिकतम उपयोगमा दक्ष र मितव्ययी भयो भने मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र सफल हुनेछ भन्ने कुरामा नगरपालिका सचेत छौं ।
९. मण्डनदेउपुर नगरवासीको विकास, समृद्धि, जनअपेक्षा र हाम्रा प्रतिबद्धताहरूलाई आर्थिक रूपान्तरणको माध्यमबाट सफल बनाई नागरिकको आधारभूत आवश्यकता परिपूर्ति गर्नु स्थानीय सरकारको प्रमुख दायित्व हो । नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन तथा रुपान्तरण गर्न आर्थिक तथा सामाजिक विकासका योजनाहरूमा लगानी गरी नगरवासीको समृद्वितर्फ परिलक्षित हुने कार्यक्रमतर्फ नीति तथा कार्यक्रम केन्द्रित गरिएको छ।
आदरणीय नगर सभाका सदस्यज्यूहरु,
अब म चालू आ.व २०७९/८० सम्ममा नगरपालिकाले सम्पन्न गरेका कार्यक्रमहरूको सङक्षिप्त समीक्षा प्रस्तुत गर्दछु।
अ) परिमाणात्मक उपलब्धिहरू
१. चालू आ.व. २०७९/८० मा बेमौसमी तरकारी खेतीमार्फत कृषकको आयस्तर वृद्वि गर्न ६८ वटा पक्की टनेल निर्माण, ६१३ जनालाई माटो परीक्षण गर्ने नमुना संकलन तालिम संचालन, ११० मेट्रिक टन कृषि चुन वितरण, मकवानपुर-१ जातको धानको बिउ दश हजार के.जी. तथा खुमल ४ जातको धानको विउ ७,१४३ के.जी कृषकसँगको लागत साझेदारीमा वितरण गरिएको छ । त्यसैगरी व्यवसायिक तरकारी खेती सम्बन्धी ७३१ जना कृषकलाई तालिम प्रदान तथा वडा नं. ६ देखि ११ सम्मको आलुवाली पकेट क्षेत्र विकास कार्यक्रम अन्तरगत ७८६ जना कृषकका लागि पावर स्प्रेयर वितरण गर्ने कार्य समेत सम्पन्न गरिएको छ ।
३. महामारीजन्य रोग विरुद्वको बृहत पशु खोप कार्यक्रम अन्तर्गत ७५२१ गाई, ४८९८ भैसी, १८,६१३ बाख्रा, १७० बंगुर गरी कुल ३१,२०२ पशु चौपायलाई खोरेत खोप लगाईएको छ । पशु आहार सेवा कार्यक्रम अन्तर्गत ४५०० के.जी जै घाँसको विउ वितरण गरिएको छ । गाई, भैसी, बाख्रा, बंगुर तथा कुखुरा सहित कुल ३५,५९९ पशु वस्तुलाई भेटिरिनरी औषधि वितरण, नियमित कृतिम गर्भाधान सेवा प्रदान, १७६ कुकुरको स्थायी बन्ध्याकरण तथा ४४२ वटा कुकुरलाई रेविज विरुद्वको खोप प्रदान गरीएको छ।
४. मण्डनदेउपुर नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट
पशु वस्तुमा देशै भरि महामारीजन्य रुपमा देखिएको लम्पिस्किन रोग यस नगरमा समेत फैलिएकोले यसको रोकथामको लागि ६,००० पशु वस्तुमा यस रोग विरुद्वको खोप लगाउने कार्य सम्पन्न भएको छ। यो रोग विरुद्वको खोप अभियान जारी छ ।
६. यस नगरपालिकामा एक घर एक धारा कार्यक्रम अन्तर्गत चालु आ.व. २०७९/८० मा थप ९२० घरधुरीमा धारा निर्माण सम्पन्न हुदाँ हालसम्म कुल ७,३२० घरधुरीमा स्वच्छ पिउने पानीको व्यवस्था गरीएको छ । बाँकी घरधुरीहरुमा एक घर एक धारा निर्माण गरी जडान गर्ने कार्यलाई निरन्तरता दिईएको छ ।
७. चालु आ.व. २०७९/८० मा ३३,८४१ मिटर खानेपानी पाईप बिछ्याइएको, २३ वटा इन्टेक, ९ वटा PVC पानी ट्याङ्की र १३ वटा RVT ट्याङ्की निर्माण गरीएको, १४ वटा पम्प खरिद गरीएको, ७ वटा इनार र कुवा निर्माण र मर्मत गरिएको, पम्प हाउस ३ वटा तयार गरिएको, भल्भ च्याम्बर ४ वटा र खानेपानीको मुहान संरक्षण गर्न ६०० मिटर घेराबार गर्ने कार्य सम्पन्न भएको छ ।
८. चालु आ.व. २०७९/८० सम्ममा यस नगरको नगरकोट- गैह्रीविसौना-हिगुवापाटी सडक खण्डको १.७ कि.मि. यस नगरपालिका र संघीय सरकार तथा बागमती प्रदेश सरकारको साझेदारीमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । त्यसै गरी नगरकोट-नयाँगाँउ-कुन्ताबेशी सडक खण्डको कुल १८ कि.मि. मध्ये १७ कि.मि सडक कालोपत्रे गर्ने कार्य बागमती प्रदेश सरकारको सहयोगमा सम्पन्न भएको छ । हिगुवापाटी-जोगीटार-दोलालघाट सडकको १९ कि.मि. कुल लम्वाईमध्ये संघीय सरकारको सहयोगमा १२.५ कि.मि. खण्ड कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । हाल सम्म जिरोकिलो- हेलम्बु सडक बाहेक यस नगर क्षेत्र भित्र ३६ कि.मि. सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । नगरपालिकाले निर्धारण गरेको सडक मापदण्ड बमोजिम नगर क्षेत्र भित्रका प्रमुख सडकहरुमा हाल सम्म ४५.५ कि.मि. सडक चौडा गर्ने कार्य सम्पन्न भएको छ ।
९. यस नगर क्षेत्र भित्र रहेका सडकहरुमा हालसम्म ५,३७१ मिटर पक्की नाली निर्माण, १० वडा कल्भर्ट निर्माण, १५० कि.मि. सडकको मर्मत सम्भार, १० कि.मि सडक ग्रावेल र १२.८ कि.मि नयाँ ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ। यस नगर क्षेत्रभित्र संचालनमा रहेका सडक मध्ये १ कि.मि. सडक आर. सि. सि. ढलान सम्पन्न भएको, ४५ थान ह्युमपाईपको प्रयोग भएको र २७९ थान ग्याविन जाली प्रयोग गरी नागरिकको आवागमन सहज बनाईएको जानकारी गराउन चाहन्छु। नगरवासीको शान्ति सुरक्षा र आवागमनमा सहजता ल्याउन नगरपालिकाले विभिन्न स्थानमा ८३ वटा सोलार बत्ति जडान गरेको छ।
१०. कृषि योग्य जमिनमा सिंचाई सुविधा उपलब्ध गराई उत्पादन वृद्वि गर्न नगर क्षेत्रभित्र १.५ कि.मि. सिंचाई कुलो आर सि.सि. गरिएको छ ।
११. यस नगरपालिकामा बसोवास गर्ने अपाङ्गता भएका व्यक्तिहरु मध्ये १०८ जनालाई रातो कार्ड, २४६ जनालाई निलो कार्ड, १६४ जनालाई पहेँलो कार्ड र १०४ जनालाई सेतो कार्ड प्रदान गरी ६२२ जना व्यक्तिहरुको अभिलेखीकरण गर्ने कार्य सम्पन्न गरीएको छ।
१२. यस नगरपालिकामा बसोवास गर्ने ५८० जना महिला र ५५१ जना पुरुष ज्येष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचय पत्र प्रदान गरिएको छ ।
१३. यस नगरपालिकामा हालसम्म टोल विकास संस्था र उपभोक्ता समिति समेत गरी १०८ वटा संस्था दर्ता, ३११ वटा व्यवसाय दर्ता, ९२ वटा सहकारी संस्था दर्ता/सूचीकृत, ४६ वटा संघ संस्था सूचीकृत, कृषि समूह, कृषि फर्म र वन समूह गरी २४६ वटा दर्ता र २४ वटा कम्पनीलाई घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र प्रदान गराएको छ।
१४. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस नगरभित्र रहेका अदक्ष ७३९ सुचिकृत वेरोजगार मध्ये आ.व. २०७९/८० मा ८० जनालाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिएको
छ ।
आदरणीय नगरसभाका सदस्यज्यूहरू,
आ) विषय क्षेत्रगत उपलब्धिहरू
क) पूर्वाधार विकास
यस नगरपालिकाले नागरिकलाई सहज सेवा प्रदान गर्न गौरवको आयोजनाको रुपमा अघि सारिएको नगरपालिकाको प्रशासकीय भवन सम्पन्न हुन लागको र ५ बेडको मण्डनदेउपुर आधारभूत नगर अस्पताल बागमती प्रदेश र नगरपालिकाको साझेदारीमा सम्पन्न भईसकेको र संघीय सरकार नगरपालिकाको साझेदारीमा त्यस अस्पताललाई स्तरोन्नती गरी १५ बेडको नगर अस्पताल निर्माण गर्ने कार्यको प्रक्रिया अगाडी बढाईएको छ ।
ख) आर्थिक विकास
उद्योग ग्रामको प्रारम्भिक पूर्वाधार तयारी अन्तर्गत जग्गा प्राप्ति, जग्गा सम्याउने, घेराबार र पाले घर निर्माण कार्य गरी उद्योग मन्त्रालयमा नमूना उद्योग निर्माण गरिएको छ ।
ग) सामाजिक विकास
सामुदायिक विद्यालयको सिकाइ उपलब्धि अभिवृद्धि गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न विद्यालय प्र.अ. र शिक्षकलाई कार्यसम्पादन सम्झौता गरी प्रोत्साहन र दण्डको व्यवस्था, मातृभाषा तथा स्थानीय पाठ्यक्रम निर्माण गरी कक्षा ३ सम्म तामाङ र दनुवार भाषा विषय पठनपाठन प्रारम्भ, नगरपालिका अन्तर्गतका विद्यालयहरूमा इन्टरनेट जडान र मल्टिमिडिया सामग्रीहरू वितरण, ३ वटा विद्यालयमा पुस्तकालय, २ वटा मा.वि.हरुमा विज्ञान प्रयोगशाला तथा २ वटा विद्यालयमा कम्प्यूटर ल्याव निर्माण कार्य सम्पन्न गरिएको छ। मण्डनदेरपुर आधारभूत अस्पताल सञ्चालन गरी आकस्मिक सेवालगायतको अन्य स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ ।
घ) सुशासन र सेवा प्रवाह
नगरपालिका अन्तर्गतका सम्पुर्ण कार्यालयहरुलाई एउटै नेटवर्कमा ल्याउन ८५ कि.मि. प्राईभेट नेटवर्कको लागि फाईवर विस्तार गर्ने कार्य सम्पन्न गरिएको छ । नगरपालिकामा आफ्नो ब्रोडब्याण्ड सेवाको लागि पूर्वाधार निर्माण कार्य गरिएको छ। नगरपालिकाको घटना दर्ताका लागि सबै वडाहरूमा दर्ता शिविर सञ्चालन गरी तथ्याङ अध्यावधिक गरीएको, वैदेशिक रोजगार प्रोफाईल निर्माण कार्य अघि बढाईएको, विभिन्न कम्प्युटर सफ्टवेयरहरूको प्रयोग गरी नगरपालिकाले दिने सेवाहरू छिटो, छरितो प्रदान गर्नुका साथै डिजिटल माध्यमबाट घर नक्सा पास गर्ने कार्य पुर्णरुपमा कार्यान्वयमा ल्याईएको छ । वडावडामा शिविर सञ्चालन गरी अपाङगता पहिचान तथा परिचय पत्र वितरण कार्यलाई निरन्तरता दिइएको छ । साथै एकीकृत सम्पति कर सङ्कलन तथा व्यवस्थापन प्रत्येक वडा कार्यालयबाटै सूचारु गर्न सफ्टवेयर खरिद गरिएको छ ।
आदरणीय नगरसभाका सदस्यज्यूहरू,
मण्डनदेउपुर नगरपालिकाको “देउपुर र मण्डन – कृषि र पर्यटन” भन्ने नाराको मर्मलाई आत्मसात गर्दै समुन्नत, समृद्ध र सबल नगरपालिका एवम् सुखी नगरबासी बनाउने आकाङ्क्षापुर्ति गर्न आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम यो सम्मानित सभा समक्ष प्रस्तुत गर्न चाहान्छु ।
क) पूर्वाधार विकास
१. नगरपालिका क्षेत्रभित्र गरिने पूर्वाधार विकासको कामलाई व्यवस्थित एवं दीर्घकालीन बनाउन र पुँजिगत लगानी बृद्वि गर्न राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रका सवल नीजि क्षेत्र, गैरसरकारी संघ संस्था, गैरआवासीय नेपाली, सार्वजनिक निकाय र अन्य इच्छुक लगानीकर्ताहरुको भेला गराई नगरको साझेदारीमा लगानी अभिवृद्वि गर्न “मण्डनदेउपुर लगानी सम्मेलन” आयोजना गरिनेछ ।
२. नगरपालिकाको दीर्घकालीन विकास र योजनाबद्व नीति नियमको तर्जुमा तथा कार्यान्वयनको लागि गठित मण्डनदेउपुर नगरपालिकाको स्थानीय नीति तथा योजना आयोगलाई सक्षम र स्रोत साधन सम्पन्न गराईनेछ ।
३. उत्थानशिल भौतिक संरचनाको निर्माण र त्यसको दिगो संचालनको लागि आयोजनाको सम्भाव्यता तथा वातावरणीय प्रभावको मुल्यांकन गरेर मात्र विकास निर्माणका कार्य अघि बढाईने नीति लिईने छ । नगरक्षेत्रभित्र सम्भाव्यता अध्ययन, वातावरणीय प्रभावको विश्लेषण तथा प्राविधिक मुल्यांकन विना जथाभावि स्थानीय पूर्वाधार निर्माण गरिने छैन् ।
४. नगरक्षेत्रभित्र निर्माण भएका सडकहरुले चर्चेको नीजि स्वामित्वमा रहेको जग्गाको रेखाङ्कन गराई लगत कट्टा गर्ने कार्यको थालनी गरिनेछ।
५. मण्डनदेउपुर नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट
नगरभित्रका सडकहलाई दिगो संचालन गर्न तथा सडक यातायात सेवालाई व्यवस्थित गर्न “नगर यातायात गुरुयोजना” बनाई लागू गरिनेछ ।
६. सडक निर्माण, स्तरोन्नति र मर्मत गर्दा हरित सडकको अवधारणा लिई नगरक्षेत्र भित्रका मुख्य-मुख्य सडक किनाराका दाँयाबायाँ सौन्दर्यजन्य बोटविरुवा रोपी हरियाली प्रवर्द्वन गरिनेछ ।
७. सङ्घीय तथा वागमती प्रदेश सरकार सँगको लागत साझेदारीमा नगरपालिकाले प्राथमिकता निर्धारण गरेको सडक खण्डहरुको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
८. नगरपालिकाको केन्द्रबाट वडा केन्द्र जोड्ने प्रत्येक वडाका मुख्य-मुख्य सडकहरूलाई बाह्रै महिना यातायातका साधन सञ्चालन योग्य बनाइनेछ ।
१०. संघ, प्रदेश र यस नगरपालिकाबाट विनियोजित बजेटको शिर्षक र क्षेत्र सबै वडा कार्यालयमा सार्वजनीकिकरण गरी नागरिकलाई सुसुचित गरी लगानी दोहोरो नपर्ने गरी सुनिश्चित गरिनेछ ।
१०. यस नगर क्षेत्रभित्र संचालनमा रहेका सार्वजनिक यातायात संचालन हुने मुख्य सडकहरुलाई बाह्रै महिना संचालन योग्य बनाईने र सो कार्य नीजि क्षेत्रबाट गराई उक्त कार्यको भुक्तानी सडक मर्मत सम्भारकोष बाट तत्काल दिने व्यवस्था मिलाईनेछ ।
११. नगरको वडा नं. ८,९ र १० को वडा कार्यालयको भवन निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढाईने छ र वडा नं. १२ को वडा कार्यालय भवन निर्माण कार्य बागमती प्रदेश सरकारसँगको साझेदारीमा थालनी गरिनेछ । साथै संचालनमा रहेका वडा कार्यालयहरुको मर्मत सम्भार गरी संचालन योग्य गरिनेछ ।
१२. नगरभित्रको सबै सडकहरूलाई बर्गीकरण गरी नामकरण गरिनेछ ।
१३. नेपाल विद्युत प्राधिकरण सँगको सहकार्यमा नगर क्षेत्र भित्रका मुख्य शहरी केन्द्रमा सडक बत्तीको व्यवस्थापन गरिनेछ ।
ख) आर्थिक विकास
अ) कृषि तथा पशुपालन
१४. किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य प्रदान गर्न संघ र प्रदेश सरकारसँगको
साझेदारीमा नगरक्षेत्र भित्र गोदामघर, शीत भण्डार ( कोल्ड स्टोर), कृषि उपज सङकलन तथा विक्री केन्द्र वा हाटबजारको व्यवस्था गरिनेछ। यसका लागि स्थानीय व्यवसायी, व्यावसायिक कृषि फर्म, सहकारी र अन्य सङ्घसंस्थाहरूसँग साझेदारी गरिनेछ ।
१५. कृषि उत्पादन बृद्विका लागि कृषि चुन वितरण तथा तरकारी, अन्नबाली र फलफूलको बिउ बेर्नाको नर्सरी निर्माण गरी वितरणको व्यवस्था गर्ने नीतिलाई निरन्तरता दिइनेछ । पकेट क्षेत्रमा आधारित स्थानीय बिउ र बेर्ना उत्पादन र वितरणलाई प्राथमिकता दिईने छ।
१६. नगरपालिका क्षेत्रभित्रका कृषकहरूको पहिचान, वर्गीकरण, तथ्याङ्क व्यवस्थापन गर्न नीतिगत व्यवस्था गरी किसान परिचय पत्र वितरण कार्यको थालनी गरिनेछ ।
१७. जमिनको अवस्था हावापानी माटो तथा उत्पादनको सम्भावना भएको स्थानको पहिचान गरी प्रतिस्पर्धाका आधारमा एक वडा एक एक उत्पादन कार्यक्रम संचालन गरिने छ ।
१८. बागमती प्रदेश सरकारको सहयोगमा पशु स्वास्थ्य क्लिनिक स्थापना गरिनेछ । नगरपालिका अन्तर्गतका सबै वडाहरूमा पशु सेवा प्राविधिकको कार्यतालिका बनाई सेवा उपलब्ध गराइनेछ।पशु स्वास्थ्य जाँच घुम्ती शिविर सञ्चालन गरी गोबर तथा रगत जाँच गर्ने, आवश्यक औषधी र उपकरण उपलब्ध गराईनेछ ।
१९. किसानले उत्पादन गर्ने फसल तथा पशुजन्य उत्पादनमा हुने क्षतिलाई न्यूनीकरण गर्न बाली बिमा र पशुपन्छी बिमालाई विस्तार गरिने छ । कृषि उत्पादन तथा पशुपन्छी उत्पादनमा संलग्न किसान तथा उद्यमीहरूलाई कृषि बिमाका लागि आवश्यक रकममा पचास प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।
२०. रैथाने प्रजातीको बालीको संरक्षणको लागि बिउ बैंक स्थापना गरिनेछ ।
२१. नगरपालिकाले घोषण गरेको कृषि पकेट क्षेत्रमा नमूना नर्सरी स्थापना गरी रोजगारी सिर्जना गर्ने लगानी कर्तालाई अभिप्रेरित गर्न कार्यविधि बनाई अनुदानको व्यवस्था गरिनेछ ।
२२. संघ र प्रदेशको साझेदारीमा भूमि बैङकको स्थापना तथा जग्गाको लगत व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ ।
२३. माटो परीक्षण ल्याब र कृषि बाली रोग परीक्षण ल्याब स्थापना गरिनेछ । सबै वडाहरूमा कृषि प्राविधिकको कार्यतालिका बनाई सेवा उपलब्ध गराइनेछ ।
२४. सहकारी संस्थाहरूको सहकार्यमा कृषि उपज, बीउ, विषादी तथा दानाको सूपथ मूल्य पसल खोल्ने व्यवस्था गरिनेछ । साथै रासायिनिक मलको विक्री वितरण कार्यलाई व्यवस्थित बनाउन अनुगमन कार्यलाई प्रभावकारी वनाईनेछ ।
२५. कृषि क्षेत्रमा भौगोलिक अवस्था तथा जलस्रोतको उपलब्धता अनुसार सतह सिंचाई, थोपा सिँचाई, लिफ्ट सिंचाईका लागि उपकरणमा अनुदानको व्यवस्था गरिनेछ ।
२६. रासायनिक मलप्रतिको परनिर्भरता घटाउँदै जैविक मल उत्पादनतर्फ किसानहरूलाई आकर्षित गराउने, हानिकारक विषादीको प्रयोगलाई निषेध गर्दै जैविक किटनाशक औषधिको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
२७. भौगोलिक विशेषता र वडाको विशिष्टताको आधारमा वडागत रूपमा कृषि उत्पादनका पकेट क्षेत्रहरू निर्धारण गरिनेछ । सो क्षेत्रमा आबद्ध कृषकहरूको आयआर्जन वृद्धिका लागि पकेट क्षेत्रगत उत्पादनलाई प्रोत्साहन गरिनेछ।
आ) उद्यम विकास
२८. नगरमा निर्माणाधीन औद्योगिक ग्रामलाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईनेछ । उक्त स्थानमा संचालन हुने घरेलु तथा साना उद्योगहरूलाई प्रोत्साहन स्वरूप पहिलो वर्ष शत प्रतिशत, दोस्रो वर्ष पचास प्रतिशत र तेस्रो वर्ष २५ प्रतिशत कर छुटको व्यवस्था गरिनेछ ।
२९. स्नातक वा सोभन्दा माथि उतीर्ण गरेका, व्यावसायिक गुरुयोजना भएका युवाहरूलाई छनौट गरी योजना प्रस्तावनाका आधारमा संघ प्रदेश सरकार एवम् वित्तीय संस्थाको सहकार्यमा सहुलियत ऋणको व्यवस्थाका लागि सहजीकरण तथा परिक्षणको रुपमा सहुलियत पूर्ण ऋणको व्यवस्था गरिनेछ ।
३०. साना तथा घरेलु उद्योग सञ्चालन तथा उद्यमीहरूको क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन, कच्चा पदार्थको व्यवस्थापन र बजारीकरण, बजार सूचना केन्द्रको विकास, प्रविधिको व्यवस्था र लगानी अभिवृद्धिका लागि सङ्घीय तथा प्रदेश सरकार, निजीक्षेत्र, विकास साझेदार संस्थाहरू, गैरसरकारी संस्था तथा सरोकारवालाहरुसँग सहकार्य गरिनेछ । घरेलु उद्योगलाई ठूला खरिदकर्ता र सुपर मार्केटसँग सम्बन्ध कायम गर्न सहजीकरण गरिनेछ।
३१. नगरपालिका अन्तर्गतका लघु, साना तथा मझौला उद्योग/व्यवसायलाई प्रवर्धन गर्नका लागि उद्यमशीलता सम्बन्धी अभिमुखीकरण, प्राविधिक सिप विकास तालिम तथा मौजुदा उद्यमीहरूको स्तरोन्नतिका लागि क्षमता अभिवृद्विका साथै नवीन प्रविधि हस्तान्तरण गरिनेछ।
३२. नगरपालिकामा श्रम बैङ्क स्थापना गरी श्रम माग गर्ने संस्था वा निकायलाई उपलब्ध गराउन
नगरपालिकाले समन्वय र सहकार्य गर्ने छ । रोजगारीको खोजीमा रहेकाहरूको सहयोगका लागि सूचना उपलब्ध गराउने तथा नगरक्षेत्रमा नै स्थानीय माग अनुसारको सीपमूलक तालिम सञ्चालन गरिनेछ ।
३३. श्रमिकहरुलाई पञ्जिकरण गरी परिचय पत्र वितरण गरिने कार्य आरम्भ गरिनेछ ।
३४. वैदेशिक रोजगारमा संलग्न वा रोजगारीबाट फर्केका व्यक्तिहरूलाई उद्यम सञ्चालन गर्न
सहजीकरण गर्ने, उद्योग व्यवसाय सम्बन्धी बेसलाइन सर्वेक्षण गरी स्थानीय बजार र नजिकका अन्य बजारको माग संकलन, रोजगारी र स्वरोजगारीको सम्भावना पहिचान गरी अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरूलाई औपचारिक प्रणालीमा ल्याउन आय आर्जनको कार्यमा संलग्न गराउने नीति अवलम्वन गरिने छ ।
३५. सिप सँग जोडिन चाहने यस नगरका युवालाई प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी तालिम दिई रोजगारीको बजारमा जाने अवसर मिलाइनेछ ।
३६. महिला तथा पुरूष श्रमिकले समान ज्याला पाउने गरी न्यूनतम ज्याला निर्धारण, आधारभूत श्रम अधिकार र श्रम मापदण्डको कार्यान्वयन, श्रमिक सङ्गठन, श्रमिक प्रतिनिधि तथा रोजगारदाता संस्था एवम् प्रतिनिधि समेतको प्रतिनिधित्व हुने गरी नगरप्रमुखको अध्यक्षतामा श्रम सल्लाहकार परिषद् गठन गरी श्रमिकको अभिलेख राख्न पञ्जीकरण गर्ने तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई समेत जोड्ने प्रबन्ध गरिनेछ ।
३७. यस नगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा दुग्ध उत्पादन तथा प्रशोधन कार्यलाई अगाडी वढाईनेछ ।
३८. स्थानीय तहका उत्पादनलाई निजी क्षेत्र र सहकारीसँगको साझेदारीमा ग्रेडिङ, प्याकेजिङ र ब्रान्डिङ गरी व्यवसायीकरण तथा बजारीकारण गरिनेछ ।
इ) पर्यटन विकास
३९. नगर क्षेत्रको पर्यटन विकासका लागि पर्यटन विकास गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिनेछ।
४०. मुख्य पर्यटकीय स्थलहरूमा मनोरञ्जन सहितका सेवाहरू दिने इको पार्क, फन पार्क, पदमार्ग, जिपल्याण्ड, साइक्लिङ रुट, भाषिक तथा सांस्कृतिक सङ्ग्रहालय र स्थानीय भेषभुषा प्रर्दशनका लागि नाच घरको स्थापना गर्ने कार्य अगाडी वढाईनेछ ।
४१. नगरकोट, ठुलीचौर, थामीडाँडा, बुद्धथुम्का जस्ता प्रमुख पर्यटकीय गन्तव्यहरूमा पर्यटन पूर्वाधारको विकास गरिनेछ ।
४२. कृषि पर्यटन, गाउँ पर्यटन, भाषिक, सांस्कृतिक र धार्मिक पर्यटन अभिवृद्वि गर्न नमूनाको लागि आ.व. २०८०/८१ मा क्षेत्र निर्धारण गरी कम्तीमा २ वटा होमस्टेको विकास गरिनेछ ।
४३. यस नगर क्षेत्रभित्र रहेको उपयुक्त स्थानमा साहसिक खेल गन्तव्यको विकास गरी पर्यटक आकर्षण केन्द्रको रुपमा विकास गरिनेछ ।
४४. नगरपालिकाको पर्यटकीय सम्भव्यतालाई उजागर गर्न तथा पर्यटन प्रवर्धन गर्न मुख्यमुख्य पर्यटकीय स्थानहरूको विद्युतीय एवम् सञ्चार माध्यमबाट प्रचार-प्रसार गरिनेछ ।
४५. पर्यटन प्रवर्द्धनको लागि नगर क्षेत्रभित्र उपयुक्त देखिएको एक स्थानमा पर्यटकीय पदमार्ग निर्माण गरिनेछ ।
४६. पर्यटक क्लिनिक सुविधा, पर्यटक एम्बुलेन्स सुविधा, पर्यटन प्रहरी सेवा र पर्यटन सम्बन्धी शिक्षाको व्यवस्था गरिनेछ ।
ग) सामाजिक तथा सरसफाई
अ) खानेपानी
४७. यस नगरमा बसोबास गर्ने नागरिकको खानेपानी र सरसफाई आधारभूत आवश्यकता हुन् । उक्त आवश्यकता पुरा गर्न कार्य पूरा गरिनेछ । हरेक घर परिवारमा पिउने पानीको व्यवस्था गरिनेछ ।
४८. नगरभित्रको जलस्रोतहरुको नक्साङ्कन गर्ने कार्यलाई प्राविधिकको संयोजकत्वमा समिति गठन गरी अभिलेखिकरण गरिनेछ । स्रोतहरूको संरक्षणको लागि क्रमशः दीर्घकालीन गुरुयोजना बनाई लागू गरिनेछ ।
४९. मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना दुई वर्षभित्र सम्पन्न गराइनेछ।तर उक्त परियोजना सम्पन्न हुनुअघि अस्थायी रूपमा लिफ्टिङ प्रणालीको माध्यमबाट सञ्चालित खानेपानी योजना सञ्चालन गर्नका लागि आवश्यक नीति प्रबन्ध गरिनेछ ।
५०. बृहत नगरकोट खानेपानी तथा सरसफाई आयोजना सम्पन्न गर्न नगरपालिकाको तर्फबाट आवश्यक समन्वय र सहयोग गरिने छ।
५१. नगरपालिकाभित्रका पोखरी, कुवा, इनार, मुहान, ढुङ्गेधारा आदिको संरक्षणका लागि प्रयेक वडामा वडा तहको समिति वनाई अभिलेखिकरण गर्ने अभियान संचालन गरिनेछ।
(आ) आधारभूत स्वास्थ्य सेवा
५२. नगरबासीको स्वास्थ्यसम्बन्धी विवरण वडामा रहेका स्वास्थ्य संस्था मार्फत अद्यावधिक गरी उमेर र रोगको अवस्था अनुरूप सचेतना, परामर्श र उपचारात्मक सेवा उपलब्ध गराईने
छ।
५३. पचास वर्ष उमेर पुगेका सबै नागरिकको वर्षमा एक पटक उच्च रक्तचाप, मधुमेह, मुटु, मृगौला, कलेजो, श्वासप्रश्वास, महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग लगायतका नसर्ने रोगहरूको नगर अस्पतालबाट निःशुल्क परीक्षणको व्यवस्था गरिनेछ ।
५४. सबै वडाहरूमा स्वास्थ्य चौकीको स्तरोन्नति तथा सहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरिने छ।नगरभित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउनेका लागि निःशुल्क एम्बुलेन्स सेवा, अशक्त अपाङ्ग भएका नागरिक तथा जेष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिईनेछ ।
५५. मौजुदा ५ शैयाको नगर अस्पताललाई विस्तार गरी १५ सैयाको अस्पतालमा स्तरोन्नति गर्ने कार्यको थालनी गरिनेछ ।
५६. दलित, लोपोन्मुख, सीमान्तकृत तथा विपन्न वर्गका सुत्केरीलाई अतिरिक्त पोषण उपलब्ध गराउन विभिन्न संघ सस्था सँग समन्वय र सहकार्य गरिनेछ।
५७. नसर्ने दीर्घ रोगहरू स्पाइनल कर्ड, मुटु, मृगौला, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी रोगहरूमा सङ्घीय सरकारले उपलब्ध गराउने आर्थिक सहयोगमा सहजीकरण गरिनेछ ।
५८. महिला स्वास्थ्य स्वयम सेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ।
५९. सङ्क्रामक रोगहरूको रोकथाम, नियन्त्रण तथा उपचारका लागि घुम्ती स्वास्थ्य शिविर संचालन गरी स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ । साथै स्वास्थ्य विमाको दायारमा सम्पूर्ण नगरबासीलाई आवद्व हुन प्रोत्साहन गरिनेछ ।
६०. प्रजनन स्वास्थ्य अन्तर्गत नगरपालिकाको नगर अस्पताल, स्वास्थ्य चौकी, सहरी क्लिनिकबाट नियमित स्वास्थ्य परीक्षण, परामर्श, खोप तथा युएसजी सेवा लगायत सुरक्षित मातृत्व सेवा प्रदान गरिनेछ ।
६१. नेपाल सरकारबाट निशुल्क वितरण गरिने ९८ प्रकारका औषधिको सहज उपलब्धताको सुनिश्चितता गरिनेछ ।
६२. नगर अस्पतालको सेवालाई सहयोग पुग्ने गरी नगरक्षेत्र भित्र रहेका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु मध्ये तीन वटा संस्थालाई रिफरल सेन्टरको रुपमा विकास गरिनेछ ।
६३. नगरपालिकाभित्र कार्यरत गैरसरकारी र सामुदायिक संस्थाहरूसँग समन्वय गरी स्वास्थ्य सम्बन्धी सचेतना, परीक्षण कार्य र उपचारात्मक शिविरहरू सञ्चालन गरिनेछ ।
इ) युवा तथा खेलकुद विकास
६४. बालबालिका तथा युवाहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुदका गतिविधिहरू सञ्चालन गर्न नगरमा नगरस्तरीय खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिनेछन्। यस नगर अन्तर्गतका विद्यालय तथा क्लबहरू बीच खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, नगर बाहिर हुने खेलकुद प्रतियोगितामा नगरको प्रतिनिधित्व हुने गरी प्रतियोगिताहरूमा सहभागी हुने व्यवस्था मिलाइने तथा क्लवहरूलाई खेलकुद सामग्री उपलब्ध गराइनेछ ।
६५. नगरपालिकामा युवा सहभागिता वृद्वि गर्न युवा परिषद् गठन गरी परिचालन गरिनेछ ।
६६. नगरपालिका भित्रका युवालाई आयमूलक, व्यावसायिक र सीपमूलक तालिम प्रदान गरिनेछ ।
६७. युवाहरूलाई लक्षित गरी सरकारी सेवा प्रवेशका लागि सेवा प्रवेश तयारी (लोक सेवा तथा शिक्षकसेवा आयोग तयारी) कक्षाहरू सञ्चालन गर्न नीजि क्षेत्रलाई अनुमती प्रदान गरिनेछ ।
६८. नगरपालिकामा खेलकुद विकासका लागि मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ ।
६९. नगरपालिका स्तरीय खेलकुद विकास समिति, महिला परिषद, दलित उत्थान परिषद तथा आदिवासी जनजाति उत्थान परिषद गठन गरिनेछ ।
ई) शिक्षा विकास
७०. यस नगरक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको सामान्यतय शैक्षिक शत्र सुरु हुन भन्दा अगाडी नै बर्षमा एक पटक सरुवा गर्ने व्यवस्था गरिनेछ।
७१. यस नगरक्षेत्र भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा तहगत स्थायी शिक्षक हरुविच खुल्ला प्रतिस्पर्धा गराई प्र.अ. छनौट गरी शिक्षक स्थानीय शिक्षक सेवा आयोगले सामान्यतया
५ बर्षको लागि नियुक्तिको सिफारिस गर्ने व्यवस्था मिलाईने छ । यसरी नियुक्त भएको प्र.अ.ले ५ बर्षको विद्यालय सुधार कार्ययोजना पेश गर्नुपर्नेछ ।
७२. एक शैक्षिक बर्षमा शिक्षकको दरबन्दी मिलान र नयाँ नियुक्ति सामान्यतय वढीमा २ पटक मात्र गरिनेछ ।
७३. नगर स्तरीय पुस्तकालय स्थापना गरी संचालनमा ल्याईनेछ ।
७४. शिक्षकको कार्यसम्पादनलाई वृतिविकास र सरुवा बढुवा प्रयोजनसँग आबद्ध गरी नतिजामा आधारित स्वचालित प्रणालीमा लगिनेछ ।
७५. दीर्घकालीन शिक्षा विकास गुरुयोजना निर्माण गरी साधारण र प्राविधिक शिक्षामा नयाँ कार्यक्रमहरू सञ्चालन गर्न अभिप्रेरित गरिनेछ ।
७६. यस नगरक्षेत्र भित्र रहेका युवाहरलाई सिप, क्षमता, दक्षता सहित रोजगारीको वजारमा पठाउन मण्डनदेउपुर नगर प्राविधिक तालिम केन्द्र स्थापना गरी संचालनमा ल्याईनेछ ।
७७. विभिन्न विश्वविद्यालयहरूसँग समन्वय र सहकार्य गरी नगरक्षेत्रभित्र रहेका युवाहरुलाई कृषि, र प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनको अवसर सिर्जना गर्न समन्ययात्मक भूमिका निर्वाह गरिनेछ ।
७८. अभिभावक विहीन बालबालिकाहरूको माध्यमिक शिक्षासम्मको निशुल्क अध्ययनको लागि आर्थिक सुविधा सहितको अवसरको सुनिश्चतता गरिनेछ ।
७९. विद्यालयहरूमा लैङ्गिक तथा अपाङगमैत्री भौतिक संरचनाहरू निर्माण तथा आवश्यकताको
आधारमा छात्राहरूका लागि सेनेटरी प्याड र महिनावारी बेडरेस्टको व्यवस्था गरिनेछ ।
८०. सामुदायिक विद्यालयमा अध्ययन गरेका दलित, पिछडिएको वर्ग, अति विपन्न र जेहेन्दार
छात्रछात्रालाई अध्ययनपछि नगरपालिकामा कम्तीमा ३ वर्षसम्म सम्बन्धित क्षेत्रमा अनिवार्य सेवा गर्ने गरी कृषिमा-१ जना, स्वास्थ्यमा १ जना र इन्जिनियरिङ्गमा १ जना भौचरमा आधारित छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाईनेछ ।
८१. बाल कक्षादेखि आधारभूत तहको कक्षा ७ सम्मका बालबालिकालाई विद्यालयमा दिवा खाजाको व्यवस्था गरिनेछ ।
८२. अपाङगता भएका बालबालिकालाई शिक्षा उपलब्ध गराउन आवश्यक सहयोग गरिने छ ।
८३. आधारभूत तहका सामुदायिक विद्यालयहरुमा स्थानीय पाठ्यक्रम र मातृभाषा शिक्षा लागू गरिनेछ ।
८४. स्थानीय तहको परिक्षा नियन्त्रण कार्यालय स्थापना गरी विद्यार्थीहरुको सिकाइ उपलब्धि परीक्षण गर्ने व्यवस्था गरिने छ ।
८५. यस नगर क्षेत्रभित्र बसोवास गर्ने विद्यार्थीका लागि डेडीथुम्का कलेजमा उच्च शिक्षा अध्ययनका लागि मण्डनदेउपुर नगर छात्रवृत्ति उपलब्ध गरिनेछ ।
८६. सामुदायिक विद्यालयहरूमा बालकक्षादेखि अङ्ग्रेजी र बहुभाषिक माध्यमबाट शिक्षा प्रदान गर्ने नीति अनुरूप अङ्ग्रेजी र बहुभाषिक पाठ्यपुस्तक उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ
।
८७. नगरपालिकाभित्रका विद्यालयहरूको कक्षा ३ र ५ को वार्षिक रूपमा उपलब्धि परीक्षण तथा ८ र १० को परीक्षामा एकरूपता कायम गर्न उक्त कक्षाहरूको परीक्षा नगरपालिकाबाट सञ्चालन गर्ने व्यवस्थालाई निरन्तरता दिँदै बाँकी अन्य कक्षाहरूको वार्षिक परीक्षा विद्यालयबाट नै सञ्चालन हुनेछन् ।
८८. सामुदायिक विद्यालयको सिकाइ उपलब्धि अभिवृद्धिका लागि विद्यालय शिक्षक र प्र.अ.लाई शैक्षिक सत्रको सुरूवातमा सामूहिक रूपमा नगरपालिकाबाट कार्यसम्पादन सम्झौता गराई कार्य सम्पादनमा सुधार गरिनेछ ।
८९. समाजमा रहेका अनुभवी व्यक्ति तथा जेष्ठ नागरिकबाट अतिरिक्त कक्षा (नैतिक शिक्षा, जीवनोपयोगी शिक्षा, स्थानीय तथा रैथाने प्रविधि) सञ्चालन गरिनेछ ।
९०. सामुदायिक विद्यालयहरूका शिक्षकका लागि सेवा प्रवेश, सेवाकालीन र पुनर्ताजगी तालिमका लागि काठमाण्डौ विश्वविद्यालय शिक्षा संकायको डिन कार्यालय सँग समन्वय गरी कार्यसम्पादन गरिनेछ ।
९१. विद्यालयमा नयाँ जनशक्ति भित्र्याउने उद्देश्यले आगामी आर्थिक वर्षमा पनि २० वर्ष स्थायी सेवा अवधि पूरा गरी ५० वर्ष उमेर नाघेको र अनिवार्य अवकाश हुन ५ वर्षसम्म बाँकी रहेका शिक्षकले अवकाश लिन चाहेमा शिक्षकलाई नगद र प्रशंसापत्रसहित सम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
९२. नतिजाका आधारमा उत्कृष्ट विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्र.अ. र विषय शिक्षकलाई वार्षिक रूपमा नगरपालिकाबाट सम्मान गरिनेछ ।
९३. नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्वि गर्न विषय विज्ञ सहित नगर शिक्षा समितिले कम्तिममा वर्षमा ३ पटक विद्यालय अनुगमनको नीति लिईने छ । अनुगमनका लागि अनुगमन मुल्यांकन फारम तयार गरी अनुगमनका बेला स्थलगत रुपमा भरिएको फारम एक प्रति विद्यालयमा र एकप्रति नगर शिक्षा शाखामा रहने व्यवस्था गरिने छ । यसै मुल्यांकनका आधारमा विद्यालयको बर्गिकरण गरिने छ ।
उ) वातावरण तथा विपद व्यवस्थापन
९४. स्थानीय विपद् तथा जलवायु उत्थानशीलता सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गरी विपदबाट जनधनको क्षति न्यूनीकरण गर्न आवश्यक पूर्व तयारी गरिनेछ ।
९५. विपदबाट हुने आर्थिक तथा भौतिक क्षतिलाई सम्बोधन गर्न कृषि, घरेलु तथा साना उद्योगलाई सहुलियत दरमा बिमा गर्ने व्यवस्था गरिनेछ ।
९६. नगरपालिकाभित्र उत्सर्जन हुने फोहोर व्यवस्थापनका लागि वडागत कार्यक्रमहरू सञ्चालन गरिनेछन् र डम्पिङ साइटको निर्माणको लागि प्रक्रिया अगाडि बढाइनेछ ।
९७. वातावरणमैत्री वडा घोषणा गरी क्रमशः वातारणमैत्री नगर घोषणाको कार्यक्रम सञ्चालन
गरिनेछ ।
९८. सबै आयोजनाहरूको प्रारम्भिक वातारणीय परिक्षण (आ. इ. इ. ) र वातारणीय प्रभाव मूल्याङ्कन (इ.आइ.ए.) गरेपछि मात्र परियोजना कार्य अघि बढाईनेछ ।
९९. संघीय तथा प्रदेश सरकार सँगको सहकार्य र साझेदारीमा दमकलको व्यवस्था गरिनेछ ।
१००. विपद व्यवस्थापन कोषलाई निरन्तरता दिई विपद रोकथाम, प्रतिकार्य, पुनर्लाभ र पुनस्थापना कार्य गरिनेछ ।
घ) सुशासन तथा सेवा प्रवाह
अ) सेवा प्रवाह / लक्षित वर्ग
१०१. सामाजिक सुरक्षा भत्तालाई बैकिङ प्रणालीमा व्यवस्थित गर्ने पद्धतिलाई निरन्तरता दिइनेछ । सो भत्ता वितरणका लागि सम्बन्धि वडा कार्यालयबाट सेवा प्रवाह गर्न बैंकसँग समन्वय गर्ने प्रक्रिया अगाडी बढाईनेछ ।
१०२. यस नगरको भौतिक पूर्वाधार विकासलाई व्यवस्थित र दीर्घकालीन वनाउन स्थानीय नीति तथा योजना आयोग मार्फत आवधिक योजना निर्माण गरी लागू गरिनेछ ।
१०३. यस नगरको दिगो विकासका लागि दिगो विकासका राष्ट्रिय लक्ष्यलाई स्थानीयकरण गरिनेछ
१०४. यस नगर क्षेत्रभित्र सम्भाव्यता अध्ययन गरी कम्तिमा एउटा एकीकृत बस्ती विकास योजना तयार गरी लागू गरिनेछ ।
१०५. यस नगरपालिकाले बर्गिकरण गरेको जग्गाको आधारमा कृषियोग्य जमिन भनी तोकिएको क्षेत्रमा आवास निर्माणमा रोक लगाईने छ ।
१०६. प्रत्येक वडामा रहेका सामुदायिक भवन, पार्क, चौतारी, पाटीपौवा, मठ-मन्दिर, गुम्बाहरूको आवश्यक मर्मत सम्भारसमेत गरी स्थानीय समूहहरूको बैठक तथा जेष्ठ नागरिक मिलन केन्द्रको रूपमा प्रयोग गर्ने र क्रमशः टोलसम्म बिस्तार गरिनेछ ।
१०७. सङ्घीय तथा प्रदेश सरकारसँगको साझेदारीमा लैंगिक हिंसा निवारण कोषको कार्यान्वयनका लागि नीतिगत तथा संरचनात्मक प्रबन्ध गरिनेछ ।
१०८. नगर क्षेत्र भित्र सव-बहान व्यवस्थापन कार्यलाई व्यवस्थित गर्न आ.व. २०८०/८१ मा थान-१ सव-बहान प्राप्त गर्न सम्बन्धीत निकाय, संघ संस्था र सरकारी निकायसंग सहकार्य गरिनेछ ।
१०९. नगरपालिकाभित्र निर्माण हुने संरचनाहरू सार्वजनिक सडक, स्वास्थ्य भवन, विद्यालय एवम सामुदायिक भवन तथा शौचालय आदिलाई अपाङ्गमैत्री बनाउने कार्यको थालनी गरिनेछ ।
११०. संघ र प्रदेशको सहकार्यमा भूमिहीन नागरिकका लागि बसोबास गर्ने घरपरिवारलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यमा सहजीकरण गरिनेछ ।
१११. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति (स्ट्राटेजी) तर्जुमा गरी कार्यान्वयन
गरिनेछ । लैङ्गिक हिंसा निवारण सम्बन्धी कार्यक्रम सञ्चालन र कोषको व्यवस्था गरिनेछ।
११२. बालबालिका संरक्षण, बालविकास र बाल सहभागिता मार्फत बालबालिका विरुद्ध हुने सबै प्रकारका विभेद, शोषण, दुर्व्यवहार र हिंसाको अन्त्य गरी बालबालिकाको सर्वाङ्गीण विकासका लागि बालमैत्री स्थानीय शासनका लागि कानुनी प्रबन्ध गरी बालमैत्री वडा घोषणा गर्दै बालमैत्री नगर घोषणा गर्ने दीर्घकालीन नीति अवलम्बन गरिनेछ ।
११३. नगरपालिका अन्तर्गतका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र यौनिक तथा लैंगिक अल्पसङ्ख्यकहरूको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक गरिनेछ ।
११४. अपाङ्गता भएका व्यक्तिहरूको सबै प्रकारका अधिकारको प्रत्याभूत गर्दै समष्टिगत विकासका लागि सहभागितामूलक नीति र अपाङ्गमैत्री भौतिक पूर्वाधार विकासमा जोड दिइनेछ । अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक पुनःस्थापना कार्यक्रम सञ्चालन गरिनेछ।
११५. सामाजिक सुरक्षा व्यवस्थापन तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई प्रविधिमैत्री र सरल बनाउनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वयमा सञ्चालित अनलाइन प्रणालीलाई निरन्तरता दिइनेछ ।
११६. हरेक वडाबाट जन्म, मृत्यु र बसाइसराइ दर्तालगायतका पञ्जिकरणसम्बन्धी विवरण प्रत्येक महिना नगरपालिकाको सामाजिक विकास शाखामा पठाउनुपर्ने व्यवस्था र प्रत्येक वडाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरू र मृत्यु भएमा व्यक्तिहरूको नामावली सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ।
११७. नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O and M ) गरी उक्त सर्वेक्षणको प्रतिवेदन बमोजिम कर्मचारी व्यवस्थापन गरिनेछ ।
११८. स्थानीय सेवा आयोग गठन गरी नगरपालिकाको सेवा प्रवाहलाई व्यवस्थित र नागरिक मैत्री बनाउन दरबन्दी संरचनालाई छरितो बनाईने छ ।
आ) सुशासनः क्षमता विकास र नवप्रवर्तन
११९. खरिद ऐन र नियमावलीको प्रबन्ध बमोजिम पर्याप्त स्पेसिफिकेशन उल्लेख गरेर मात्र खरिद गरिने नीतिको अवलम्वन गरिनेछ ।
१२०. नगरपालिकाको सेवा प्रवाहलाई व्यवस्थित गर्न नागरिकको गुनासो सुन्न कल सेन्टरको स्थापना गरी संचालन गरिनेछ ।
१२१. आ.व.२०८०/८१ मा समावेश गरिएका नीति तथा कार्यनीतिहरुको कार्यान्वयनको अवस्था मापन गर्न नगर नीति तथा योजना आयोगसँगको समन्वयमा नगरसभाको हिउदे अधिवेशन अगावै नीति परीक्षण गर्ने कार्यको थालनी गरिनेछ ।
१२२. आर्थिक सहायता सम्बन्धी कार्यविधि निर्माण गरी लागु गरिनेछ ।
१२३. नगर अस्पताल परिसरमा फार्मेसी स्थापनाको लागि नीजि क्षेत्रसँग सहाकार्य गरी कार्यक्रम अघि वढाईनेछ ।
१२४. नगरपालिका भित्रका जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक, विद्यार्थीले अनिवार्य रूपमा नेपालमा बनेको कपडाको पोशाक लगाउनुपर्ने व्यवस्था गरिनेछ ।
१२५. नगरबाट हरेक वर्ष जनताको घरदैलोमा सेवा प्रवाहको सन्तुष्टि मूल्याङकन प्रयोजनका रिपोर्ट
कार्ड वितरण गरिनेछ। ती कार्डहरूमा जनताले स्थानीय सरकारको कामको मूल्याङ्कन गरी अङ्क दिने व्यवस्था गरिनेछ । त्यस्ता रिपोर्ट कार्डहरू अध्ययन गरी सो रिपोर्ट सार्वजनिक गरीनुका साथै जनताले देखाएका गल्ती, कमजोरी सुधार्ने र गुनासो समाधान गरिनेछ।
१२६. सार्वजनिक सुनुवाई, नागरिक वडापत्र, सामाजिक परीक्षण र सार्वजनिक परीक्षण कार्यलाई अनिवार्य गरिनेछ ।
१२७. नगरपालिकामा ब्रोडब्यान्ड सेवा विस्तार गरीसकिएको हुँदा इन्टरनेट सेवाको पहुँच र प्रयोग विस्तार गरी सूचना प्रविधिमार्फत जनतासम्म सेवा प्रवाह गरिनेछ ।
१२८. स्मार्ट नगरपालिकाको अवधारणालाई मूर्त रूप दिन नगरपालिकाको विद्युतीय प्रोफाइल वा डिजिटल प्रोफाइल तयार गरी नगरपालिकाबाट प्रदान गरिने सेवालाई सोको माध्यमबाट छिटो, छरितो र प्रभावकारी रूपमा जनतासम्म प्रवाह गरिनेछ ।
१२९. नगरपालिकाभित्र सञ्चालन हुने योजनाहरूमा दोहोरोपना आउन दिइने छैन। योजना सञ्चालन गर्दा ४ प्रतिशत कन्टेन्जेन्सी र १० प्रतिशत मर्मतसम्भार कोष कट्टिको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
१३०. विभिन्न गैरसरकारी संस्था, सहकारी, निजी तथा अन्य संघ संस्थाको वार्षिक कार्यक्रमहरू अनिवार्य रूपमा नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गराउने व्यवस्था मिलाईने छ ।
१३१. मौजुदा ऐन, कानुनहरूलाई समय सापेक्ष र आवश्यकतानुसार संशोधन र आवश्यक थप ऐन कानूनहरूको तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
ङ) राजस्व परिचालन
१३२. नगरपालिकाको वर्तमान राजस्व प्रणालीलाई व्यावहारिक र यथार्थपरक बनाउन राजस्व सम्भाव्य सर्वेक्षण तथा राजस्व सुधार कार्यान्वयन कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।
१३३. नगरपालिका क्षेत्रमा निर्माण भएका आवासीय घर, स्थायी/अस्थायी टहरा, पक्की भवन तथा व्यवसायिक भवनको सम्बन्धित घर धनी आ.व. २०८०/८१ को पहिलो ६ महिना भित्र अभिलेखीकरण गर्न आएमा २०७५/७६ देखीको सबै जरिवानामा छुट दिने व्यवस्था मिलाईनेछ ।
१३४. व्यापारिक वस्तु विक्री वितरण गर्ने खुद्रा तथा थोकका पसलहरु व्यवसाय लगायत नगरक्षेत्र
भित्र संचालन हुने व्यवसायहरुलाई करको दायरामा अनिवार्य सामावेश हुनुपर्ने व्यवस्थालाई व्यवस्थित गर्न आ.व. २०८०/८१ को पहिलो ६ महिनाभित्र दर्ता हुन आउने व्यवसायीलाई व्यवसाय दर्तामा लाग्ने वार्षिक शुल्कमा लाग्ने जरिवाना छुट दिने व्यवस्था मिलाईनेछ ।
१३५. करको दर वृद्धि गर्नुभन्दा आवश्यकताको आधारमा करका दायरालाई फराकिलो बनाइनेछ ।
१३६. कर तथा गैर कर राजश्वलाई ब्यवस्थित गर्न विशेष समिति गठन गरिनेछ ।
१३७. करदाताको कर सचेतना अभिवृद्धि मार्फत् कर सङ्कलन बढाउन सचेतनामूलक कार्यक्रम
सञ्चालन गरिनेछ । कर प्रशासनलाई मितव्ययी र चुस्त बनाइनेछ । सम्पत्ति कर सङ्कलन वडा कार्यालयबाट नै आरम्भ गरीएकोमा नगरपालिकाले लगाउने सबै प्रकारका करहरू वडा तहबाट सङ्कलन गर्ने व्यवस्था मिलाइनेछ ।
१३८. नगरपालिकाभित्र सञ्चालनमा रहेका उद्योग, व्यवसाय र होटलहरूलाई अनिवार्य रूपमा दर्ता/सूचीकृत गराई करको दायरामा ल्याउने कार्यलाई निरन्तरता दिइनेछ।
१३९. कृषि क्षेत्रको उत्थान र प्रवर्धनका लागि आगामी आ.व.देखि कृषिसम्बन्धी फर्म, उद्योग,
व्यवसायिक संस्थाको दर्ता वा नवीकरण शुल्कमा ५०% छुट दिने व्यवस्था गरिनेछ ।
१४०. नगर क्षेत्रभित्रका सार्वजनिक स्थल, ऐलानी जग्गा वा बाटोको छेउमा संरचना बनाई
व्यवसाय गरिहेका व्यवसायीलाई यसै आर्थिक वर्षदेखि बहाल विटौरी शुल्क लगाइनेछ ।
१४१. सेवाग्राहीले विद्युतीय माध्यमबाट मालपोत कर, घरबहाल कर तथा सेवा शुल्क आदि तिर्न सकिने व्यवस्था गरिनेछ ।
१४२. नगरपालिकाले घर नक्सा पासलाई अनिवार्य गर्नेछ । नगरपालिकाको नक्सा पास कार्यविधि लागू हुनुभन्दा पहिले बनेका निजी आवासहरूको अभिलेखीकरण गरिनेछ ।
१४३. सार्वजनिक जग्गाको लगत सङकलन तथा राजस्व वृद्धि अभियान सञ्चालन गरिनेछ ।
१४४. नगरपालिका भित्रको सामुदायिक विद्यालयमा अध्ययन गरी कक्षा १२ मा बी.प्लस.जिपिए
ल्याएका विद्यार्थीकलाई राजस्व सङ्कलन कार्यमा इन्टर्नसिप गर्ने कार्यक्रम लागू गरिनेछ ।
१४५. मण्डनदेउपुर नगरपालिकामा कायम रहेको बेरुजुको फछ्र्यौटका लागि लेखा समिति मार्फत बेरुजु फछ्र्यौट कार्यको थालनी गरिनेछ ।
च) न्यायिक समिति
१४६. सबै नगरबासीहरुलाई छिटो, छरितो, पहुँच योग्य र प्रभावकारी न्याय सेवा प्रदान गर्ने नीति अवलम्बन गरिनेछ ।
१४७. स्थानीयस्तरमा रहेका अन्तरव्यक्ति विवाद समाधानका लागि मेलमिलाप प्रक्रिया, बहुसरोकारवाला विवाद रुपान्तरणका लागि “माकुरा समुह गठन गरी गरिने रुपान्तरण विधि र सार्वजनिक चासोका सवालहरु समाधानका लागि संवाद विधिको अवलम्बन गरिनेछ ।
१४८. मेलमिलाप तथा बहुसरोकारवाला द्वन्द रुपान्तरणका क्षेत्रमा कार्यरत व्यक्ति तथा संघ संस्थाहरुलाई तालिमलगायतका कार्यहरुमा सहभागिता गराईने नीति अवलम्बन गरी वडा र नगर मेलमिलाप केन्द्र सञ्चालन कार्यविधि, न्यायीक समिति र मेलमिलापकर्ताहरुको सेवा शर्त तथा सुविधा सम्बन्धि नियमावली अद्यावधिक गरी लागू गरिनेछ।
१४९. मेलमिलाप तथा बहुसरोकार द्वन्द रुपान्तरणका लागि दक्ष जनशक्तिको उत्पादन तथा परिचालनका साथै न्यायिक समिति र मेलमिलापकर्ताहरुको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१५०. विवाद भएपछी समाधान गर्ने तर्फमात्र नभई विवादको सृजना नै नहुने वातावरण तथा परिस्थितिको सृजना गर्न विवाद न्युनिकरणका लागि सचेतना कार्यक्रमहरुको आयोजना गरिने छ । साथै नकारात्मक सोचको कारणवाट समाजमा विकृतिहरु बढ्दै गएकाले सकारात्मक सोच र तनाव व्यवस्थापनका कार्यक्रहरु सञ्चालन गर्दै लगिनेछ ।
१५१. न्यायिक समिति, मेलमिलापको प्रक्रिया र सकारात्मक सोचको बारेमा विद्यालयस्तरमा समेत तालिम प्रदान गर्ने तथा बाल अधिकार लगायत सामाजिक ऐन कानूनका बारेमा जानकार बनाउँदै समुन्नत समाजको निर्माण गरिनेछ ।
१५२. मेलमिलापकर्ता र बहुसरोकारवाला विवाद समाधानमा माकुरा समूहमा बसी कार्य गर्ने माकुरा समूह सदस्यहरुलाई संस्थागत गर्दै फाटेका मन सिउने अभियानको दिगोपनको लागि “शान्ति निर्माण कोष” को स्थापना गरिनेछ । यस कोषमा विभिन्न सरोकारवाला व्यक्ति, समूह तथा संघ संस्थाहरुबाट समेत रकम थपी योगदान गर्न सक्ने व्यवस्था सहितको कार्यविधि अद्यावधिक गरी लागू गरिनेछ।
१५३. न्यायिक समितिको दैनिक कार्य सहज र व्यवस्थित गर्न थप जनशक्ति, सफ्टवेयर प्रणाली टेलीफोनलगायत श्रव्य दृश्य जडान सहितको एक सुविधा सम्पन्न ईजलास कक्षको निर्माण गरिनेछ ।
टोकबहादुर वाइबा
नगरप्रमुख
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।