सुदीप शिवाकोटी
प्रदेशको स्थायी राजधानी सम्भाव्यता अध्ययन सम्बन्धमा हेटौंडामा आयोजित अन्तरक्रियामा नेता र सांसदहरुले राजधानी हेटौंडा बाहिर सार्न नदिने बताएका हुन् ।
प्रदेशका प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले संघीयता कार्यान्वयन गर्नपनि ३ नम्बर प्रदेशको राजधानी हेटौंडा उपयुक्त भएको बताए । उनले राजधानीबारे संसदीय समितिले प्रतिवेदन तयार गरिरहेकाले हेटौंडा प्रदेशको स्थायी राजधानीका लागि उपयुक्त भएको बताए ।
संघीयता कार्यान्वन गर्न विकेन्द्रिकृत राज्यप्रणाली अनुसार राजधानी हेटौंडा उपयुक्त हुने बानियाँको तर्क थियो । स्थायी राजधानीका विषयमा अध्ययन समितिले काम गरिरहेकाले धेरै बोल्नु उपयुक्त नहुने भन्दै उनले प्रदेशसभामा आफ्नो कुरा राख्ने जानकारी दिए । ‘संघीयताको मूल्य र मान्यतामा आधारित भएर प्रदेशको स्थायी राजधानी तोकिनुपर्छ,’ उनले भने ।
कार्यक्रममा नेकपाबाट विजयी मकवानपुरकी सांसद मुनु सिग्देलले प्रदेशका सांसदहरुको बलका भरमा राजधानी अन्यत्र सारिए ती सांसद्विरुद्ध आन्दोलन गर्ने चेतावनी दिइन् । हेटौंडा राजधानी उपयुक्त भएर नै राखिएकाले अब स्थायी राजधानी पनि हेटौंडा नै बनाउने गरी प्रतिवेदन पेश गर्न उनले समितिलाई सुझाव दिइन् ।
‘प्रदेशको स्थायी राजधानीको सन्दर्भलाई मत विभाजन र राजनीतिक स्वार्थको विषय बनाए जनताले पछि यसको मूल्यांकन गर्नेछन्,’ उनले भनिन् ।
उनले सम्भाव्यता अध्ययन गरेर राजधानी तोकिएको भन्दै पुनः सम्भाव्यता अध्ययन आवश्यक नरहेको जिकिर गरिन् । ‘सुखी नेपाली–समृद्ध नेपाल नारा जनप्रतिनिधि मात्र सुखी हु“दा जनताले सुख पाउने हो र ?’, सिग्देलले प्रश्न गरिन् ।
मकवानपुरकी सांसद् जुनेली श्रेष्ठले राजधानी सारिए मकवानपुरबासी आन्दोलनमा उत्रने र आफूहरु पनि आन्दोलनमा होमिने चेतावनी दिइन् । सांसद श्रेष्ठले प्रदेश राजधानी सार्ने कुरा द्वन्द्व र खतराको विषय हुनसक्ने दाबी गरिन् । वातावरणदेखि सबै कुराले हेटौंडा नै राजधानीका लागि उपयुक्त रहेको तर्क गर्दै उनले भनिन्,‘विकास गर्नुपर्ने बेलामा राजधानी सारे आन्दोलन गर्नुपर्ने हुन्छ ।’
सांसद प्रेमबहादुर पुलामीले सात जिल्लालाई छोएकाले हेटौंडा प्रदेश राजधानीका लागि उपयुक्त क्षेत्र रहेको बताए । हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माण गरी एयरपोर्ट निर्माण गर्न सकिने बताउ“दै उनले भने,‘२ नम्बर प्रदेशमा राजधानीबारे रिले अनसन जारी छ, समृद्ध नेपाल बनाउने अठोट लिएर राजधानी सार्ने कुरा गर्नु हु“दैन, सबै तरिकाले हेटौंडा राजधानी उपयुक्त रहेकाले सार्ने कुरा सजिलो छैन,’ उनले भने । मकवानपुरका सांसद् ओम घलानले कुनै बहानामा राजधानी अन्यत्र सार्न नमिल्ने बताए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले हेटौंडा स्थायी राजधानी भए हालकै सरकारी संरचनामा सबै मन्त्रालय राख्न सकिने बताए । भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र मकवानपुर प्रमुख सुदीप आचार्यले भवनका संरचना धेरै रहेको र थप संरचना बनाउन आफूहरु तयार रहेको बताए । अब पूर्वाधार विकास स्थायीरुपमा बनाउन सहज हुने उनको भनाइ छ । आचार्यले हेटौंडाको वासुदेव सभागृहमा सुविधासम्पन्न प्रदेशसभा सञ्चालन गर्न सकिने बताउ“दै सभामुख, उपसभामुख, मुख्य न्यायाधीवक्ता, विपक्षी दलका नेतालगायतको निवास र भवन निर्माण गर्न पर्याप्त जग्गा रहेको बताए ।
जिल्ला मालपोत कार्यालय मकवानपुर प्रमुख मुक्तिनारायण भण्डारीले हेटौंडामा ५ सय ३९ बिगाहा सरकारी जग्गा रहेकाले राजधानीका लागि जग्गाको समस्या नहुने स्पष्ट पारे ।
जिल्ला समन्वय समिति प्रमूख रघुनाथ खुलालले प्रदेश राजधानी पनि उपत्यकामै रहने हो भने संघीयता कार्यान्वयन नहुने दाबी गरे । सबै हिसाबले राजधानी हेटौंडा उपयुक्त रहेको उनको भनाइ छ । प्रदेश स्थायी राजधानी सम्भाव्यता अध्ययन समिति संयोजक दीपक निरौलाले जिल्लाबाट आएका सुझाव प्रतिवेदनमा समेटिने बताए । जिल्लावासीले स्थायी राजधानी माग्ने र समितिले दिने भन्दा पनि उपयुक्त सुझावलाई प्रतिवेदनमा उल्लेख गरिने उनले बताए ।
प्रदेशको स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिमा सरस्वती बस्नेत, वसन्त मानन्धर, विजय सुबेदी, विशाल खड्का, छिरिङ दोर्जे लामा, प्रभा तामाङ र रिना गुरुङलगायतका सांसद छन् ।
संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतले निर्णय गर्ने उल्लेख छ । निर्णय नभएसम्म सरकारले तोकेबमोजिम स्थानमा प्रदेश कार्यालय सञ्चालन हुने उल्लेख छ ।
प्रदेश राजधानी हेटौंडाबाट अन्त नजाओस् भनेर हेटौंडाबासीले कुनै कमी÷कमजोरी हुन दिएका छैनन् । सांसद्हरुलाई होटलमा बसेको ४० प्रतिशत र खाना खाएकोमा १५ प्रतिशत छुट होटल एसोसिएसनले दिएको छ । सपथग्रहणका बेला त खान र बस्न पैसासमेत लिइएकाे थिएन । इनयाँ पत्रिकाबाट ।






















