वर्षातका कारण विचल्ली भएका चन्द्रमायाको परिवार । तस्बीर– राजकुमार गोले

राजकुमार गोले
काभ्रे । बनेपा नगरपालिका–७ झापालीटोलमा भत्किएको घरको भग्नावशेष भेटिन्छ । भत्किएको घरको गाह्रोमा ढुसी उम्रेर बसी नसक्नु छ । बाहिर जस्ता तेर्साएर सरसमानहरु राखिएको छ । ५४ वर्षीय चन्द्रमाया प्रधान त्यही भत्किएकै घरमा जसोतसो गुजारा चलाउँदै आएकी छिन् । बुधवार राती परेको पानीका कारण उनको परिवार झन् विपतमा प¥यो । भुकम्पमा बल्ल–बल्ल ज्यान जोगाएकी चन्द्रमायालाई मध्यरातमा परिवारको ज्यान जोगाउनै मुस्किल भयो ।

भुकम्प पीडित भए पनि हालसम्म पनि राहत र सरकारी अनुदानबाट बञ्चित भएकी चन्द्रमायालाई आफू बसेको भत्केकै घरमा पटक–पटक पानीको भेल पसेपछि थप समस्यामा परेकी हुन् ।

वर्षातका कारण विचल्ली भएका चन्द्रमायाको परिवार । तस्बीर– राजकुमार गोले
भत्किएकै घरमा रात काट्न विवस

भत्किएको घरको भग्नावशेषमा जस्ता तेर्साएर एक ५४ बर्षिया विधवा आफ्ना दुई नावालक छोरीसँगै रात काटिरहेकी छिन् । भत्किएको गारोबाट फुसफुस माटो झरिरहेको छ । अन्य विकल्प नहुँदा त्यही टहरामा रात काट्न विवस छ चन्द्रमायाको परिवार ।

एक १४ वर्षीय सुस्त अपाङ्ग भएकी रमिला र १२ वर्षकी छोरी प्रमिलालाई जसोतसो बर्षा कटाउन उनलाई गाह्रो परिरहेको छ । रातभर पानी परिरहँदा जसोतसो बच्चाहरुलाई त जोगाएँ तर लुगाफाँटा र अन्य सरसमानलाई भने जोगाउन सकिनँ–उनले गहभरी आँसु पार्दै भनिन् ।

सिनागालको पुण्यमती खोला छेउमा भाडामा जस्ताको टहरामा बस्दै आएकी चन्द्रमाया प्रधान नगरपालिकाले मोटरबाटो निर्माण गर्दा टहरो भतकाएपछि एकसाता अघि भुकम्पले भत्काएकै घरमा बस्न आएकी थिइन् । भुकम्पले घर भत्किएर घरबार विहिन भएकी चन्द्रमाया हालसम्म पनि लाभग्राही सूचिमा पर्न सकिरहेकी छैनन् ।

चन्द्रमायाको घर । तस्बीर–राजकुमार गोले

आफ्नो बोलिदिने कोही भएन त्यसैले लाभग्राही सूचिमा पर्न सकिन होला, उनले नयाँ पत्रिकालाई भनिन् । सुनेकी थिएँ विधवा र महिलाहरुको परिवारमा पुनर्निर्माणले नै घर बनाइदिन्छ भनेको तर आफूले त लाभग्राही सूचिमा समेत नपरेको चन्द्रमायाले गुनासो गरिन् ।

यस विषयमा बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादेसँग बुझ्दा उनले प्राधिकरणले के कसरी मुल्याङ्कन गरेको थाहा हुन नसकेको र चन्द्रमाया लाभग्राही सूचिमा पर्नुपर्ने बताए ।

भारी वर्षातका कारण टहरामै जाडो कटाएर ज्यान जोगाएका भुकम्पपीडितलाई बर्खामा गुजारा चलाउन समस्या देखिएको छ । सकसका साथ टहरामा चलिरहेको पीडितको जीवन वर्षातले थप चेपुवामा परेको छ ।

चन्द्रमाया भन्छिन,‘गरिबलाई भाग्यले पनि ठक्दो रहेछ कहिले भुकम्पले विस्थापित बनायो अब बर्खामा पानी पर्न थालेपछि छोरीलाई कसरी जोगाउने भन्ने चिन्ताले सताउन थालेको छ ।’ दुःखको यात्रा अझै टुङ्गिएको छैन

उनको श्रीमान बितेदेखि सुरु भएको दुःखको यात्रा अझै टुङिगएको छैन बरु झन्झन् दयनीय र जरजर बनिरहेछ । एउटी छोरी जन्मजात अपाङ्ग छिन त्यो पनि सुस्तमनस्थिकी विरामी । निरक्षर रहेकी चन्द्रमायाको श्रीमान बितेको तीन दिनपछि जन्मिएकी कान्छी छोरी रमिला पनि १० बर्षकी मात्र छिन् ।

भुकम्प गएको पनि करिब ४ बर्ष भयो तर हालसम्म बनेपा नगरपालिका तिनधाराकी चन्द्रमाया प्रधानले राज्यबाट पाउनुपर्ने कुनै राहात पाउन सकिरहेकी छैनन् । भुकम्प गएकै केहीदिनमा उनको तस्विरहरु सहित राष्ट्रिय पत्रपत्रिकामा समाचारहरु आए तर चन्द्रमाया भने लाभग्राही सूचिमै परिनन् ।

चन्द्रमायाको घर । तस्बीर–राजकुमार गोले

टाठाबाठाहरुले नभत्किएको घरको पनि राहात लिए र महल ठडाइसके तर वास्तविक पीडित लाभग्राहीकै सूचिमा पर्न सकिरहेका छैनन् । राम्रोसँग नेपाली भाषा समेत बोल्न नजान्ने चन्द्रमायाको श्रीमानको निधन आजभन्दा १० बर्षअघि भएको हो ।

श्रीमानको निधन भएकै पीडामै तीन दिनपछि उनले जन्माएकी कान्छी छोरी रमिला प्रधान अहिले ४ कक्षामा पढ्छिन् । जेठी छोरी जन्मजातनै सुस्त मनस्थितिकी छिन् । अहिलेपनि उनी राम्रोसँग बोल्न र हिडडुल गर्न सक्दिनन् । श्रीमान बित्नु र सुत्केरी हुनुसँगै परेको बर्जपात दिनदुगुना रात चौगुना थपिनै रहेकोछ ।

किरिया गरिरहेको समयमै अर्थात श्रीमान बितेको तीन दिनमा उनी सुत्केरी भइन् । सुत्केरीहुँदा राम्रोसँग खान समेत नपाएकी चन्द्रमायाको दुखद यात्रा अझै एक दशक बित्दासमेत घटेको छैन । संझदा पनि कहालिलाग्दो चन्द्रमायाको जीवनमा एकपछि अर्को पीडा थपिनै रहेको छ । घरमा कमाएर ल्याइदिने कोही छैन त्यसमाथि एउटा छोरी अपाङ्ग छे र अर्की छोरी पनि १० बर्षकै नावालक छे ।

बच्चाहरु भोकाएर कराउँछन् खान लाउन दिन केही हुँदैन त्यसमाथि घर भत्किएर घरबार विहिन बन्नु परिरहेको छ चन्द्रमाया । श्रीमान बित्नु र सँगसँगै सुत्केरी भएर आफै एकल जीवन जिउन पर्दाको दुख विर्सन नपाउँदै जसोतसो जीवन गुजारा गरिरहेकी चन्द्रमायालाई ४ बर्षअघि गएको भुकम्पले अर्को बर्जपात थपिदियो ।

भुकम्पले आफू बस्दै आएको घर भत्काएपछि उनले बनेपा तीनदोवाटो सिनागाल पुन्यमाता छेउमा भाडामा जग्गा लिएर टहरा बनाई बस्न सुरु गरिन् । एक बर्षपनि बस्न नपाउँदा जग्गाधनीले जग्गा बेचिदिएसँगै उनले त्यहाँबाट पनि बासस्थान छोड्न प¥यो । त्यसपछि उनले पुन्यमाता नदीकै छेउमा रहेको टहरो भाडामा लिएर बस्न सुरु गरिन् ।

मुस्किलले जोगियो प्रधानको परिवार

सामान्य बत्ती काटेर जसोतसो आफ्ना छोरीहरु पालेर हुर्काइरहेकी चन्द्रमायालाई त्यहाँ पनि बर्षौ आउने बाढीले दुख दिन छाडेन बर्षाभरी रातरातभरी ननिदाई जाग्राम बसिरहेकी चन्द्रमायाको टहरा पनि १५ दिन अघि मात्रै बनेपा नगरपालिकाले पुण्यमाता करिडोर निर्माण गर्ने भन्दै डोजर लगाएर भत्काइदियो ।

टहरा भत्किएपछि उनले कोठाभाडामा लिन हारगुहार गरिन् अपाङ्ग छोरी भएकै कारणले कसैले पनि कोठा भाडामा नदिएपछि उनी पुन आफ्नो पुरानो भत्किएको घरमा फर्किइन् । भत्किएको घरको एक तलालाई जस्ताले छोपेर जसोतसोत उनी बसिरहेकी छिन् तर भुकम्पले भत्काएको गारो पल्टिएर बुधबार झण्डै उनी र उनको छोरीहरुको एउटै तिहान कसो भएन ।

समस्याले थिचिएको चन्द्रमायाँको जिन्दगी

गहभरी आशुँ झार्दै उनले भनिन् दैवले पनि कति दुःख दिन सकेको । भुकम्पले घरबार विहिन बनिरहेकी चन्द्रमाया प्रधान एकल महिला हुन् । दुईवटा छोरी मध्ये एक अपाङ्ग छिन् । यस्तो परिवारलाई राज्यले आफै घर बनाइदिने समाचारहरु रातदिन सुनाइरुहन्छन् उनका छिमेकीहरु तर चन्द्रमायाको भुकम्प लाभग्राही सूचिमा समेत नाम समावेश भएको छैन ।

भुकम्पले घर भत्कादा उनी पुन्यमाता छेउमा बस्नेगर्थिन् त्यही बेलामा आएका सर्वेक्षणकर्ताहरुले उनलाई नभेटेसँगै उनलाई लाभग्राही सूचिमा परिनन् । पछि थाहा पाएर गुनासो त भरिन् तर हालै आएको गुनासोमा समेत उनको नाम समावेश भएको रहेनछ । कहिल्य काँही त पाएको दुः खदेखेर कतै हाम फालेर मर्न मनलाग्छ रे उनलाई तर नावालक छोरीहरुको अनुहारले बाच्न बाध्यु छु भन्छिन् चन्द्रमाया ।

गरिबका लागि भगवान पनि कति निष्ठुरी

गहभरी आँशुका धारा पार्दै उनले भनिन् गरिबका लागि भगवान पनि कति निश्ठिुरी । नियतिले पटक पटक परीक्षा लिइरहेको यी निरक्षर चन्द्रमाया माथि बर्जपात पर्न अझै रोकिएको छैन । घरबार विहिन चन्द्रमायालाई कुनदिन आफ्नै घरको भग्नावशेषले पुर्ने हो थाहा छैन भुकम्प पुर्न्निर्माणका जिम्मा पाएका पुनर्निर्माणका कर्मचारीहरु भने पुनर्निर्माणले गतिलिएको भाषण दिइरहेका छन् ।

बर्षा चलिरहेको छ भत्किएको घरको गाह्रोले कतिखेर चन्द्रमाया र उनको परिवारलाई पुरिदिने हो र समाचार बन्ने हो भन्न सकिन्न । एककल महिला, अपाङ्ग र वालवालिकाका क्षेत्रमा काम गर्ने संस्था र भुकम्प प्राधिकरण लगायतको यस विषयमा ध्यान जाहोस् र पीडित चन्द्रमायाको घाउँमा थोरै भए पनि मलम लागोस् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।