‘जनतासँग गरेको प्रतिबद्धता अनुसार सरकारले काम गरिरहेको छ’ –मन्त्री ढुंगेल

रामेछाप । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले निर्वाचनको क्रममा गरेको प्रतिबद्धता अनुसार नै सरकारले काम गरिरहेको बताएका छन् ।

सुुनापती गाउँपालिका–१ गुन्सीमा रहेको शतलिङगेश्वर मावि गुन्सीको ६२ औ बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले उक्त कुरा बताएका हुन् ।

तीन वटा सडक कालोपत्रे गर्नको लागि टेन्डर प्रक्रिया अगाडि बढेको बताउँदै मन्त्री ढुंगेलले अस्पताल सञ्चालन र प्रहरी चौकी निर्माणको लागि समेत बजेट विनियोजन भइसकेको बताए ।
मन्त्री ढुंगेलले स्वास्थ्य, शिक्षा, कृषि, सडक र पर्यटन क्षेत्रको विकासमा विशेष ध्यान दिएको बताउदै प्राथमिकता निर्धारण गरेर नै काम अगाडि बढाइएको बताए ।

सरकारले केही काम गरेन भन्ने प्रचार गरेको प्रति उनले आपत्ति जनाए । ‘सरकारले केही काम गरेन भनेर गलत प्रचार भइरहेको छ ।’ उनले भने, ‘विकास निर्माणको काममा सरकार पूर्ण रुपमा प्रतिबद्ध भएर लागेको छ ।’ प्रदेश ३ लाई समृद्ध बनाउने अभियानमा सरकार अगाडि बढिरहेको उनको भनाई थियो ।

मन्त्री ढुंगेलले सामुदायिक क्याम्पसहरुको सुधारको लागि सरकारले कार्यक्रम अगाडि बढाएको बताउदै शतलिङगेश्वर माविको स्तरउन्नती गर्ने कार्यमा पनि आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

सुनापती गाउँपालिका–१ गुन्सीका वडा अध्यक्ष चण्डेश्वर चौलागाईको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाई, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, प्रदेश कमिटीका सदस्य टंकलाल घिसिङ ‘टकल’, तुलाप्रसाद कडेल, सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट, सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्क घिसिङ, सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतको सहभागीता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।