तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ स्थित सिङन्हान गाङमा राष्ट्रिय स्तरको तामाङ संग्रहालय बन्ने भएको छ ।
प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)को नेतृत्वमा गएको टोलीले उपयुक्त स्थानको छनौट गरेपछि संग्रहालय बन्ने पक्का भएको हो । संग्रहालय निर्माणको लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट सांसद बमध्वजले ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । साथै प्रादेशिक सांसद रत्न ढकालले गुम्बा, भ्यूटावर र तामाङ संग्रहालयको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।

सम्भावनाका हिसाबले तीन ठाउँलाई उपयुक्त स्थानको रुपमा छनौट गरि आज(मंगलबार) स्थलगत निरिक्षण पछि सिङन्हान गाङ नै उपयुक्त भएको सांसद बमध्वजले बताए । तेमाल गाउँपालिका वडा नं. ५ याङबेल, वडा नं. ७ को सिङन्हान गाङ र वडा नं. ८ को म्हेछोपालाई छनौट गरेको थियो । स्थलगत निरिक्षणपछि सिङन्हान गाङलाई छनौट गरिएको हो ।
यस अघि तेमाल गाउँकार्यपालिकाको बैठकले पनि सिङन्हान गाङमा तामाङ संग्रहालय बनाउने निर्णय गरेको थियो ।
निर्वाचनको वाचा पूरा
निर्वाचनको क्रममा सांसद बमध्वजले तामाङ समुदायको बहुल्यता भएको तेमालमा राष्ट्रिय स्तरको तामाङ संग्रहालय बनाउने बाचा गरेका थिए । तेमालका जनतासँग गरेको बाचा पूरा गर्न लागेको सांसद बमध्वजले तेमाल अनलाईनलाई बताए । ‘मैले निर्वाचनमा भोट माग्ने बेला जनतासँग तेमालमा तामाङ संग्रहालय बनाउने बाचा गरेको थिए ।’ सांसद बमध्वजले भने, ‘आज मैले विजय गरेपछि जनताका सामु वाचा गरेको कुरा पूरा गरेको छु ।’ निर्वाचनको क्रममा आफूले वाचा गरेको सबै कुरा क्रमिक रुपमा पूरा गर्दै जाने उनले बतबाए ।

संग्रहालय राष्ट्रिय स्तरको बन्ने
सांसद बमध्वजले तेमालमा बन्न लागेको तामाङ संग्रहालय राष्ट्रिय स्तरको बनाउ लागेको बताए । नेपालमा खासै तामाङ संग्रहालय नभएकोले पनि यो संग्रहालय राष्ट्रिय स्तरको बनाउनुपर्ने उनको तर्क छ । ‘तामाङ समुदायको संग्रहालय रहेको कुरा सुनेन ।’ उनले भने, ‘राजधानीबाट नजीक रहेको काभ्रे जिल्लामा अब राष्ट्रिय स्तरको तामाङ संग्रहालय जसरी पनि बनाउने हो ।’
सांसद बमध्वजको सोचमा तामाङ संग्रहालय
संग्रहालयमा तामाङ जातिको जन्मदेखि मृत्युसम्मको संस्कार, सँस्कृति, भाषा, धर्म सबै रहने सांसद बमध्वजले बताए । ‘यो संग्रहालय भित्र हाम्रो जातिको जन्म देखि मृत्युसम्मको सामग्रीहरु हुनेछ ।’ उनले भने, ‘यहाँ सँस्कार, भाषा, लिपी, धर्म र पुस्तकालय समेत रहने छ ।’
उनका अनुसार तामाङहरु थतथलोका रुपमा रहेको रसुवा, धादिङ, नुवाकोट, मकवनपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, चितवन लगायतका जिल्लामा बसोबास गर्ने तामाङ समुदायको समेत झल्कने खालको सामग्री राख्ने बताए । आधारभूत रुपमा सबै ठाउँमा बसोबास गर्ने तामाङ समुदायमा एकरुपता भएपनि तामाङ समुदाय भित्र पनि भाषिक, धार्मिक र साँस्कृतिक हिसावले फरक फरक रहेको छ ।

‘ग्याई र ग्युइ’ हराए अब तेमालमा
तामाङ समुदायमा एउटा किमबदन्ती छ कि ‘ग्याइ र ग्युइ’ अथवा भाषा र संस्कार हराए तेमाल जानू । सबै जिल्लालाई समेटेर संग्रहालय बन्ने भएपछि पुर्खाले भनेको किमबन्ती पनि पूरा हुने भएको छ । संग्रहालयमा ताम्सालिङ क्षेत्रकै तामाङ समुदाय र तेमालको मौलिक सँस्कृति झल्कने सामग्री राखेपछि यो कुराको चरितार्थ हुनेभएको हो ।
तामाङ संग्रहालय निर्माणमा युवाहरु
तामाङ संग्रहालय निर्माणका लागि तेमालका युवाहरुले सांसद बमध्वजलाई साथ दिएका छन् । विशेष गरि नेकपा निकटका युवा नेताहरु टोलीमा सहभागी थिए । टोलीमा युवा नेताहरु संग्रमजीत लामा, इन्द्रबहादुर तामाङ, डिएम लामा, जेनिस लामा लगायका युवाहरु सहभागी थिए ।






















