रामेछाप । जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद श्याम कुमार श्रेष्ठले मुलुकमा अब रेल पनि आउने, जहाज पनि आउने दावी गरेको छन् । मन्थली नगरपालिका–११ गेलुको सावाडाँडामा निर्माण भएको शारदा माविको चार कोठे पक्की भवनको उदघाटन गर्दै सांसद श्रेष्ठले उक्त दावी गरेका हुन् ।
नेकपा नेतृत्वको सरकारले नै रामेछापलाई समृद्ध बनाउने पनि सांसद श्रेष्ठले बताए । ‘सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको छ ।’ उनले भने, ‘समृद्धिको सपना साकार पार्न सरकार प्रतिबद्ध भएर लागेका छौं । हेर्दै गर्नुहोस रेल पनि आउछ, पानी जहाज पनि चल्छ, पाइपलाइनबाट तेल पनि आउछ ।’
रामेछाप जिल्लाको विकास निर्माणको प्रक्रियालाई अगाडि बढाउन आफू लागि परेको बताउदै निर्वाचनमा गरेको प्रतिबद्धता अनुसारको काम हुने दावी समेत गरे । ‘जिल्लाका मुख्य सडकलाई कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढेको छ ।’ उनले भने, ‘स्वास्थ्य शिक्षा, खानेपानी लगायतको जनताको दैनिक जीवनसँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’ सांसद श्रेष्ठले विद्यालयको भौतिक संरचना निर्माणसँगै शिक्षाको गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्व सभासद एवं नेकपाका नेता तारानारायण श्रेष्ठले शिक्षा क्षेत्रमा राज्यले थप लगानी गर्नुपर्ने बताउदै भौतिक पूर्वाधारको उपलब्धतासँगै गुणस्तरीय शिक्षा प्रदान गर्न पनि आवश्यक रहेको बताए ।
उक्त कार्यक्रममा मन्थली नगरपालिकाका उप्रप्रमुख माया कार्कीले शिक्षा क्षेत्रको विकासको लागि नगरपालिकाले प्राथमिकतामा राखेको स्पष्ट पारे ।
जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) रामेछापका प्रमुख हेमन्त बुढाथोकीले ८८ लाख रुपैयाँमा छ कोठे पक्की भवन निर्माण भएको जानकारी दिए ।






















