काठमाडौं । विनासकारी भूकम्प लगत्तै बनेको भूकम्पपीडितको घरलाई पनि अनुदान दिने सरकारले निर्णय गरेको छ ।
सोमबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्ले उक्त निर्णय गरेको बताए । ‘भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने छ ।’ बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि बनिसकेका घरलाई अनुदान दिने निर्णय गरेको छ ।’
बैठकमा प्रधानमन्त्री ओलीले प्राविधिक कारणले समयमा इन्जिनियरिङ जाँच हुन नसकेका घरहरुले समेत अनुदान पाउने बताए ।
भूकम्प गएको झण्डै ३ वर्ष बित्दा पनि पुननिर्माणले पूर्णता नपाएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि ब्यक्त गरे । कामलाई चुस्त बनाउनका लागि पुननिर्माणको काम स्थानीय प्राविधिकबाट गराउन प्रधानमन्त्री ओलीले निर्देशन दिए ।
प्राधिकरणको प्रतिवेदन यस्तो छः
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अहिले सम्म भएका कामहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
प्राधिकरणले हालसम्म तीन लाख ४७ हजार ८१७ घर पुनर्निर्माण भएको विवरण प्रस्तुत गरेको छ । भूकम्पले आठ लाख ११ हजार १५४ घरमा क्षति पुगेको छ । सात लाख ४९ हजार १५५ घरधनीसँग पुनर्निर्माणका लागि अनुदान सम्झौता भएको पनि प्राधिकरणले जनाएको छ । सात लाख ४१ हजार ७९९ लाभग्राही पहिलो किस्ताबापत रु ५० हजार बुझेका छन् । पाँच लाख ७८ हजार ८४७ घर पुनर्निर्माण शुरु भएको छ ।






















