नेवाःताम्सालिङ नामाकरण नभए कडा संघर्षमा उत्रने गोलेको चेतावनी

हेटौँडा । प्रदेश ३ को नामाकरण नेवाःताम्सालिङ नभए कडा संघर्ष गर्ने नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले बताएका छन् ।

मंगलबार आगामी माघ ४ गत नेवाःताम्सालिङ समन्वय समितिले आयोजना गर्न लागेको नागरिक दबाब सभाकोबारेमा पत्रकार सम्मेलन गर्दै गोलेले उक्त चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा नेवाःताम्सालिङ समन्वय समितिको आयोजनामा यही माघ ४ गते हेटौँडामा ‘नेवाः ताम्सालिङ प्रदेश नामाकरणका लागि नागरिक दबाब सभा’ हुने आयोजकले बताएका हुन् ।

पत्रकार सम्मेलनमा नेवाःताम्सालीङ समन्वय समितिका संयोजक समेत रहेका गोलेले नेवाः ताम्सालिङ प्रदेश नामाकरणका लागि प्रदेश नम्बर ३ का सबै सांसद, जिल्ला समन्वय समिति मार्फत प्रधानमन्त्री, मुख्यमन्त्री लगायतका सबैलाई ज्ञापन पत्र बुझाइसकेको जानकारी दिए । ‘उक्त ज्ञापन पत्र र बिगतमा राज्य पक्षसँग भएको सहमति तथा संविधानको व्यवस्था विपरित पहिचानको मुद्धालाई गलत ब्याख्या गरेर केही समूहले नदिनाला, पहाड र धर्मको नाममा प्रदेशको नामाकरण गर्ने षड्यन्त्र गर्न लागि परेको छ ।’ गोलेले भने, ‘नेवाः ताम्सालिङ प्रदेश नामाकरणमा नेवार र तामाङ समुदाय मात्र नभई आदिवासी जनजातिका १३ वटा संगठन समेत एकढिक्का भई अगाडि बढेको छ ।’

आदिवासी जनजाति सहितको मुद्धा तथा ऐतिहासिक दस्तावेजलाई षड्यन्त्र पूर्वक कुनै एकजातिका नाममा सिध्याउने खेल भएको भन्दै उनले नागरिक दबाव सभापछि पनि माग पुरा नभए कडा संघर्षमा उत्रने बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।