दोलखा । २० वर्ष अघि घटेको घट्नालाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शंकर लामा बिरुद्ध दोलखा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ ।
नेकपाका प्रदेश कमिटी सदस्य समेत रहेका लामा बिरुद्ध द्वन्द्वकालमा दोलखाको फस्कुका भरत भनिने चक्रवहादुर बुढाथाकीको हत्या गरेको अभियोग लागेको छ । २०५५ साल माघ १ गते राति साविक फस्कु गाविस वडा नम्बर ३ निवासी बुढाथोकीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा नेकपाका नेता लामालाई मात्रै अभियोग लगाउँदै मुद्दा दर्ता भएको हो ।
घटना घटेको २० बर्ष पुग्नु भन्दा एक दिन अघि हिजो दोलखा जिल्ला अदालतमा लामा बिरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ । भरत बुढाथोकीको हत्या पछि २०५५ साल माघ २ गते उनका भाई एवं तत्कालिन नेकपा एमालेका नेता गुणवहादुर बुढाथोकी र मृतक भरतकी श्रीमती लिला बुढाथोकीले नेता लामा बिरुद्ध किटानी जाहेरी दिएका थिए । हत्या हुँदा अपरिचित तिन सहित चार जना भएको जाहेरीमा उल्लेख भएपनि किटानी भने लामालाई मात्रै गरिएको थियो ।
जन्मकैद सजायको माग
जनयुद्धको क्रममा भरतको हत्या भएपनि शान्ति प्रक्रियाको १२ बर्षपछि पुनः सो मुद्धा व्यूँतिएको हो । २० बर्षसम्म दोलखा प्रहरीमा थन्किएर बसेको कर्तव्य ज्यान मुद्धालाई प्रहरीले अनुषन्धान पुरा गरी चार दिन अघि मात्रै जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । त्यस लगत्तै जिल्ला सहायक न्यायधिवक्ता राजन हमालले नेकपाका नेता सँकर लामा बिरुद्ध मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नम्बर बमोजिमको कसुरमा महल १३ को १ नम्बर बमोजिम जन्मकैद सँजायको माग दावी सहित अभियोग पत्र अदालतमा दर्ता गराएका हुन् । नेता लामा तत्कालिन बिद्रोही नेपाल कम्युनिष्ट पार्टी दोलखाका ५ जना सँस्थापक मध्ये एक हुन् । जनयुद्ध सुरु हुनु अगावै लामा सहित ५ नेता सडक विभागको जिलेटिन कव्जा गरेर भूमिगत भएका थिए । नेता लामा २०७० सालमा तत्कालिन एकिकृत नेकपा माओवादीवाट दोलखा क्षेत्र नम्बर २ मा सभासदको उम्मेदवार पनि हुन् ।
म्याद सकिन एक दिनअघि मुद्धा दर्ता
२०५५ साल माघ १ गते बेलुकी अर्थात आजकै दिन बुढाथोकीको हत्या भएको थियो । हत्या लगत्तै तत्कालिन बिद्रोही नेकपा माओवादीले सुराकी गरेका कारण उनको सफाया गरेको भनेर जिम्मेवारी लिएको थियो । माओवादी द्वन्द्वको क्रममा घटेका घटनाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत निरुपण गर्ने भनिए पनि एक पछि अर्को द्धन्द्धका घटना ब्यूँत्याएर तत्कालिन माओवादी नेताहरु बिरुद्ध अदालतमा मुद्धा दर्ता हुँदै आएका छन् । फस्कु घटना घटेको २० बर्ष पुग्न एक दिनमात्र बाँकी रहँदा नेकपाका नेता सँकर लामा बिरुद्ध अदालतमा मुद्धा दर्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजसम्म मुद्धा दर्ता नभएको भए उनी बिरुद्ध अदालतमा मुद्धा चल्न सक्ने थिएन ।
मुलुकी ऐन ज्यान सम्वन्धी महलको २० नम्बरमा कर्तव्य गरी ज्यान मारेको मुद्धामा कसुरदार आफैं सावित भै पोलेकोमा बाहेक कर्तव्यको उजुर परेकोमा तहकिकातबाट कर्तव्यवाला यहि हो भन्ने पत्ता नलागेकोमा २० बर्षपछि मुद्धा चल्न नसक्ने उल्लेख छ । –ईदोलखाबाट






















