काँग्रेस नेता कान्छारामको पैसा फिर्ता गर्दै जनताले नै किने एम्बुलेन्स

रामेछाप । जिल्लाको लखनपुरका स्थानीयले नेपाली कांग्रेसका नेता एवं निर्माण व्यवसायी पूर्णबहादुर तामाङ (कान्छाराम)ले एम्बुलेन्स किन्न दिएको पैसा फिर्ता गरेका छन् ।  एम्बुलेन्समा आफ्नो कम्पनीको नाम मात्र लेख्नुपर्ने अडान लिएपछि स्थानीयले उनको पैसा फिर्ता गरेको हो ।

एम्बुलेन्स खरिद गर्नको लागि पैसा दिएका कान्छारामले आफ्नो कम्पनीको नाम मात्र लेख्नु पर्ने अडानलाई लत्याउँदै स्थानीयले स्वदेश तथा विदेशमा रहेकाबाट आर्थिक संकलन गरी लखनपुरमा एम्बलेन्स खरिद गरेका छन् ।

स्थानीयले सुरुमा नौ लाख पैसा दिने कान्छारामको नाम राख्ने र सोही शिलालेखमा अन्य सहयोगी दाताहरुको पनि नाम राख्न गरेको प्रस्ताव कान्छारामले अस्वीकार गरेका थिए । स्वदेश तथा विदेशमा रहेका लखनपुरवासीहरुले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग जुटाएर कान्छारामको पैसा फिर्ता गरेका छन् ।

एम्बुलेन्स खरिद एवं आर्थिक संकलनका समितिका अध्यक्ष खिरेन्द्रराज मोक्तानले स्थाननीयले आफ्नो आत्मसम्मानमा चोट पुग्ने बताउदै एम्बुलेन्स किन्न पैसा दिन तयार भएपछि कान्छारामको पैसा फिर्ता गरिएको बताए ।

एम्बुलेन्समा कान्छारामले एकलौटी नाम राख्न खोजेपछि स्थानीय नै सक्रिय भएर एम्बुलेन्स खरिद गर्न पैसा जुटाउन लागेका थिए । कान्छारामले दिएको नौ लाख रुपैयाँ एम्बुलेन्स खरिद समितिका अध्यक्ष मोक्तानले फिर्ता गरेका थिए । कान्छारामको पैसा फिर्ता गरेसँगै शनिवार लखनपुरमा भव्य कार्यक्रमको आयोजना गरेर सामुदायिक स्वास्थ्य इकाई रिष्ठेलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा रामेछापबाट कांग्रेसका उम्मेदवार बनेका कान्छारामले एम्बुलेन्स किनिदिने भन्दै भोट मागेका थिए । निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार केही ठाउँमा एम्बलेन्स खरिद गरेर वितरण गरेपनि ती एम्बुलेन्स सञ्चालन र व्यवस्थापनमा नै कठिनाई सृजना भएको बताइएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।