काजीमान थिङ तामाङ
सिन्धुली । तामाङ समुदायको साँस्कृतिक पर्व २८५५ फाग, सोनाम ल्होछारको अवसरमा सिन्धुलीको मरिण गाउँपालिकाले २ दिन सार्वजनिक विदा दिने भएको छ । मरिण गाउँकार्यपालिकाको गत सोमबार बसेको बैठकले ल्होछार पर्वको अवसरमा यही माघ २२ र २३ गते गाउँपालिका भरी सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता बिमर्श मोक्तानले बताए ।
ल्होछार पर्वको अवसरमा माघ २२ र २३ गते त्यसैगरी लदी पूजाको अवसरमा आगामी फागुन २१ गते गाउँपालिका भरी सार्वजनिक विदा दिने निर्णय भएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बोम्जनले बताए ।
यस अघि नेपाल तामाङ घेदुङ र नेपाल माझी उत्थान संघ मरिण गाउँ कार्य समितिले ल्होछार र लदी पूजाको दिन सार्वजनिक विदाको माग गर्दै ज्ञापन पत्र बुझाएको थियो ।
तामाङ समुदायको मौलिक परम्परागत साँस्कृतिक पर्व सोनाम ल्होछार यही माघ २१ गते राती १२ बजेबाट २८५४ खि ल्हो सकेर २८५५ फाग ल्हो प्रारम्भ हुदैछ । बि.सं अनुसार माघ शुक्लापक्ष प्रतिपदाको दिन पर्ने सोनाम ल्होछार, मञ्जुश्री तामाङ सम्बत अनुसार तामाङ पहिलो महिना ख्रे लाको १ गते पर्दछ । जुन दिन यसवर्ष माघको २२ गते परेको छ । सोनाम ल्होछार तामाङ समुदायले धुमधामसँग विविध कार्यक्रम गरी मनाउदै आएको ।
त्यसैगरी माझी समुदायले प्रत्येक फागुनको साइली मंगलवार अर्थात तेस्रो मंगलबार लदी पूजा गरी साँस्कृतिक पर्व मनाउने गरिन्छ । यसवर्ष उक्त दिन फागुनको २१ गते परेको छ ।






















