काभ्रे । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बौद्धमा लाग्ने तेमाल जात्रालाई सम्मान गरेर हुलाक टिकटको प्रकाशन गर्न लागेको बताएका छन् ।
शनिबार (आज) मण्डनदेउपुर ल्होछार महोत्सवको दोस्रो दिनलाई सम्बोधन गर्दै मन्त्री बाँँस्कोटाले उक्त कुरा बताएका हुन् । ‘तामाङ समुदायले बौद्ध र स्वयम्भूमा मनाउँदै आएको तेमाल जात्रालाई सम्मान गर्दै अब हुलाक टिकट प्रकाशन गर्न लागेका छौं ।’ उनले भने, ‘विशेष गरि काभ्रेली तामाङ र देशै भरिको तामाङहरुले गर्व गर्नुपर्छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले विभिन्न समुदायको चाडपर्वमा दिइएको विदा केन्द्र सरकारले कटौति नगरिएको प्रष्ट पारे । स्थानीय सरकारले तीनदिन विदा दिने घोषणा गरिसकेकोले अब यसलाई कटौति भन्न नमिल्ने पनि उनले प्रष्ट पारे ।
नेपाल बहुल साँस्कृति, बहुल भूगोल र बहुल जाति भएकोले समावेशी व्यवस्था सबैले रोजेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले मुलुकको हरेक निकायमा समाबेशी नीति लागु भइरहेको बताए । ल्होछारको शुभकामना मन्तव्य राख्दै उनले राज्य जिम्मेवार भएर सबै जाति समुदायको सम्मान गर्ने बताए ।






















