सिन्धुली । उर्जा, जलस्रोत मन्त्री बर्षमान पुनले सोनाम ल्होछार लगायत सांस्कृतिक पर्बहरुको सार्बजनिक बिदा कटौती फिर्ता हुने बताएका छ्न ।

शनिबार जिल्लाको मरिण गाउँपालिकामा आयोजना गरिएको २८५५ ड्वा सोनाम ल्होछार जागरण साँस्कृतिक कार्यक्रम तथा घेङ प्रथम अधिबेशनको उद्घाटन गर्दै मन्त्री पुनले उक्त कुरा बताएका हुन् । शुभकामना मन्तव्य राख्दै मन्त्री पुनले मुलुकको परिवर्तनमा सिन्धुलीको मरिणको ऐतिहासिक योगदान र बलिदान रहेकोले यसलाई विर्सन नसकिने बताए ।

‘ल्होछारको विदा कटौती गरेर सरकारले केही त्रुटी भएको छ । त्यसलाई आगामी दिनहरुमो सच्याएर अगाडि बढ्छौं ।’ मन्त्री पुनले भने ।

आदिवासी जनजातिको अधिकार संविधानमा स्थापित भएपनि कार्यन्वयन सही ढंगले हुन नसकेको उनले बताए । ‘संविधानमा उत्पीडित जातिहरुको अधिकारहरु स्थापित भएका छन,् त्यसलाई सहि ढंगले कार्यन्वयन गर्न सकेको छैन ।’ उनले भने, ‘अधिकारहरु कार्यन्वयन गर्न कर्तव्य केन्द्र सरकारको मात्र नभई प्रदेश र स्थानीय तहको सरकारको जिम्मेवारी पनि हो ।’

कार्यक्रममा विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले आगामी ३ बर्ष भित्रमा हरेक नेपालीको घर–घरमा बत्ति पुग्ने बताएका थिए । त्यसैगरि नेपाल तामाङ घेदुङ भाषा तथा साहित्य विभाग प्रमुख काजीमा थिङ तामाङले तामाङहरु माथिको उत्पीडनमा अहिले पनि निरन्तर रहेको बताउँदै गाई गोरुको मासु खाएबापत पनि जेल जान बाध्य हुनु उत्पीडनको उदाहरण भएको बताए ।

कार्यक्रममा नेकपा नेता तथा पूर्व मन्त्रीद्वय अग्न सापकोटा र हरिबोल गजुरेल मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बोम्जन लगायतले ल्होछारको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्थानीय साँस्कृतिक प्रतियोगिता, तामाङ भाषामा अन्तर माध्यमिक हाजिरि जवाफ प्रतियोगिता, विजेताहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

सोनामा ल्होछारमा २ दिइ ल्होछार लगायतका सँस्कृतिको विकास, संरक्षण र संबद्र्धन गरेबापत मरिण गाउँपालिकालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा ताम्बा, लामा, बोन्बोहरुको झाँकी प्रदर्शन गरेका थिए ।
नेपाल तामाङ घेदुङ मरिण गाउँपालिका तदर्थ समितिका अध्यक्ष चन्द्रबहादुर थिङको अध्यक्षतामा र मोतीराम गोलेका सञ्चालनमा कार्यक्रम भएको थियो ।

यस अघि सोनाम ल्होछारको उपलक्ष्यमा हरिहारपुर गाउँपालिकाले माघ २१, २२ र २३ र ग्याङलेक गाउँपालिकाले २०, २१ र २२ गते सार्वजनिक विदा दिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।