काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष तथा नेकापाका नेता सूर्यमान दोङ (लालध्वज)ले पहिचान वाग्मती र पशुपतिले नभई तामाङले मागेको बताएका छन् ।
काठमाडौंको टुँडिखेलमा भएको सोनाम ल्होछार महोत्सवलाई सम्बोधन गर्दै नेता लालध्वजले आज (मंगलबार) उक्त कुरा बतएका हुन् ।
‘पशुपतिले पहिचान मागिरहेको छैन । वागमतिले मागिरहेको छैन । नेवारहरु र तामाङहरुले मागिरहेका छन् ।’ नेता लालध्वजले भने, ‘राष्ट्रपति कार्यालय र सिंहदरबार भित्र प्रदेश ३ नाम वागमति र पशुपति राख्ने तानाबाना बुन्दै छ रे, खबरदार हामीलाई यो मान्य हुनेछैन ।’
हाम्रो यो देशको राजनीतिक नेतृत्वले जे चीज माग्दैन त्यो चीज दिन तयार भएको बताउँदै मागेको चीज प्रदेश ३ को नामाकरण नेवा–ताम्सालिङ यो सरकारले दिनुपर्ने प्रष्ट पारे । पहिचानको आधारमा प्रदेशको नामाकरण नभए विद्रोह हुने चेतावनी नेता लालध्वजले दिए ।
बहुपहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्छ भन्ने नेताहरु नै सत्तामा भएको भन्दै प्रदेश ३ को नाम नेवा–ताम्सालिङ राख्न सरकारलाई अनुरोध समेत गरे ।
एक अर्को प्रशंगमा यो देशमा इमान्दार नेता तामाङ मात्र भएको जिकिर गरे । ‘हजार प्रश्न उठ्दा पनि यहाँ अरु जातिका मन्त्रीले राजीनामा दिंदैनन् ।’ नेता लालध्वजले भने, ‘तामाङ इमान्दार भाएकै कारण सामान्य प्रश्न उठ्न वित्तिकै शेरबहादुर तामाङले राजीनामा दिनुभयो ।’






















