काभ्रे । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेश ३ को नामाकरण नेवा–ताम्सालिङ हुनुपर्ने बताएका छन् ।
असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा अन्तर्गत काभ्रेमा आइपुगेका संयोजक भट्टराईले उक्त कुरा बताएका हुन् । भकुण्डेमा सम्पन्न ‘संघीयताको कार्यान्वयन, ३ नं. प्रदेशको नामाकरण र राजधानी’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले संघीयता भूगोललाई नभएर जनतालाई चाहिएको बताए ।

‘प्रदेश ३ को नामाकरण नेवा–ताम्सालिङ नै सबैभन्दा उपयुक्त हुन्छ ।’ उनले भने, ‘संघीयता उत्पीडित जाति, क्षेत्र, लिंगलाई चाहिएको हो । भूगोललाई चाहिएको होइन ।’
सुदुर पश्चिम प्रदेशको नाम प्रति पनि उनले आपत्ति जनाए । ‘सुदूरपश्चिम नाम राखेर जनताको भावना माथि कुठराघात गरेको छ । दिशालाई संघीयता चाहिको हो र ?’ –भट्टराईले बताए ।

प्रदेशको राजधानी काभ्रे उपयुक्त
डा. भट्टराईले प्रदेश ३ को राजधानी काभ्रे उपयुक्त हुने बताए । ‘सुगमताका हिसाबले काभ्रे उपयुक्त हुन्छ ।’ उनले भने, ‘यसको लागि हामी पहल गरौंला ।’

जनसंवाद यात्रा अन्तर्गत काभ्रेको नार्केका जनतासँग पनि नेता भट्टराईले संवाद गरेका थिए । कार्यक्रममा नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।






















