‘विकासको गतिले कहिल्यै विश्राम लिनेछैन’ –मन्त्री बाँस्कोटा

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासले गति लिएको बताएका छ । बनेपा नगरपालिका–६ बूडोलमा आज शहीद सडकको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।

‘विकासले गति लिएको छ ।’ उनले भने, ‘तपाईंहरु ढुक्क हुनुहोस् यो गतिले अब कहिल्यै विश्राम लिने छैन ।’सडक, विद्यालय, विश्वविद्यालय, अस्पताल, सञ्चार प्रविधि लगायतमा देश समृद्ध बनाउने विकासका काममा सरकार दत्तचित्त रहेको समेत उनले प्रष्ट पारे ।

आउँदो वर्ष बनेपामा सेकुरिटी प्रेस राखिने

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले काभ्रेको बनेपा स्थित सूचना प्रविधि पार्क (आइटी पार्क)मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी पे्रस) राखिने बताए । ‘आइटी पार्कमा आउँदो वर्ष सेक्युरिटी प्रेस राखिन्छ, यो राष्ट्रिय गौरवको योजना हो ।’ उनले भने, ‘यो सेक्युरिटी प्रेसमा पहिलो चरणमा पेपरवेस सेक्युरिट प्रिन्ट गरिन्छ र दोस्रो चरणमा प्रविधि थपगर्दै प्लाष्टिक कार्डवेस प्रिन्टिङ गरिने छ ।’

सेक्युरिटी पे्रसको निरन्तर क्षमता अभिवृद्धि गर्दै नोट, राहदानी, हुलाक टिकट, तथा डिजिटल कार्डल गायतका सामग्री छापिने पनि उनले बताए ।

मन्त्री बाँस्कोटाले बनेपा नपाको विकासका लागि रु ६ करोड विनियोजन गरिएकोमा चार करोड थपिदिने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा प्रदेश नं ३ का सांसद बसुन्धरा हुमागाईंले शहीद मार्गका लागि प्रदेश सरकारले रु ५० लाख छुट्याइएको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।