तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँकार्यपालिकाले गत माघ २३ गते टिपर दुर्घट्नामा परि घाइते हुनेहरुलाई उपचारको क्रममा लागेको खर्चको ५० प्रतिशत रकम राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले आज (सोमबार) एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेको जानकारी दिएका हुन् ।

जारी विज्ञप्तिमा अध्यक्ष तामाङले दुर्घट्नामा परि मृत्यु भएका २ जना प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सामान्य घाइते २१ जना र गम्भिर घाइते १९ जनाको शिघ्र स्वास्थ्य लााभको कामना समेत गरेका छन् ।

‘घट्नामा मृत्यु भएको मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सबै घाइते जनहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दाछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न अस्पतालमा रहेका घाइतेहरुलाई अस्पतलामा भएको उपचार खर्चको ५० प्रतिशत रकम राहत स्वरुप तेमाल गाउँपालिकाबाट उपलब्ध गराउने यस विज्ञप्ति मार्फत जानकार िगराउँदछौं ।’

गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङका अनुसार घाइतेहरुको आर्थिक स्थिति अत्यन्तै कमजोर भएका कारण उपचारको लागि सहयोग गर्नुपर्ने बताए ।

यस अघि धुलिखेल अस्पताल, नर्भिक अस्पताल, न्यूरो अस्पताल र बीर अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्न तेमाल गाउँकार्यपालिकाका सदस्यहरु पुगेका थिए । विरामी भेट्न गाउँपालिका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, प्रवक्ता तथा ७ नं. वडा अध्यक्ष ज्ञानबहादुर तामाङ, वडा नं. १ वडा अध्यक्ष मानबहादुर श्रेष्ठ, वडा नं. २ का वडा अध्यक्ष तिमालसिं तामाङ, वडा नं. ३ का वडा अध्यक्ष विष्णुबहादुर तामाङ, वडा नं. ६ का वडा अध्यक्ष विकु मोक्तान तामाङ, वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, प्रशासकिय अधिकृत शर्मिला लामिछाने, लेखा अधिकृत विनाेद शाह लगायतका पुगेका थिए ।

यस्तो छ प्रेस विज्ञप्तिः
मिति २०७५ साल माघ महिना २३ गते बेलुका ५ बजे तेमाल गाउँपालिका वडा नं. ९ बस्ने कान्छा माझीको छोरा चाउरे माझीको विवाहमा जन्ती लिएर फर्किरहेको टिपर नं. बा ४ ख ९४३८ को सिन्धुली जिल्ला सुनकोशी गा.पा. वडा नं. २ टुप्पीडाँडामा दुर्घट्ना हुँदा घट्ना स्थानबाट उपचारको क्रममा लैजाँदै गर्दा बाटैमा २ जनाको मृत्यु भएको र सामान्य घाईते भएका २१ जना उपचार भई घर फर्केको र गम्भिर घाइते भएको १९ जना उपचारको क्रममा रहेको घाइतेहरुको जानकारी लिनका लागि तेमाल गाउँकार्यपालिकाको टोली अस्पताल पुगियो ।

घट्नामा मृत्यु भएको मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सबै घाइते जनहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै विभिन्न अस्पतालमा रहेका घाइतेहरुलाई अस्पतलामा भएको घाइतेहरुको उपचार खर्चको ५० प्रतिशत रकम राहत स्वरुप तेमाल गाउँपालिकाबाट उपलब्ध गराउने यस विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।
सलामसिं तामाङ
अध्यक्ष
तेमाल गाउँपालिका, काभ्रे























