काभ्रे । ‘प्रतिक्रियावादी राज्यसत्ताको ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ताको स्थापना गरौं ,’ भन्ने मूल नाराका साथ नेपालमा जनयुद्धको घोषणा गरेको २३ वर्ष पूरा भएर २४ वर्षमा आजदेखि प्रवेश गरेको छ । २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा भएको जनयुद्धकै वलमा नेपालमा राजतन्त्रको अन्त्य मात्र भएर, धर्मनिर्पेक्ष सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको समेत स्थापना भएको छ ।
यसै दिनलाई स्मरण गर्दै देशैभरि जनयुद्ध दिवस मनाईदै छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशैभरि जनयुद्ध दिसव मनाईदैछ । यस अघि नेकपाका महासचिव विष्णु पौडेलले पार्टीका विभिन्न तहलाई सर्कुलर जारी गरिसकेका थिए । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र बीच भएको एकता पछि जनयुद्ध दिवस मनाउँछ कि मनाउँदैन सबैको चासको विषय बनेको थियो आज केन्द्र, प्रदेश र जिल्ला पार्टी कार्यालयहरूमा जनआन्दोलन तथा जनयुद्धका शहीदको सम्मानमा श्रद्धाञ्जलि कार्यक्रमसहित दिवस मनाउने नेकपाले निर्णय गरेको थियो ।
नेकपाले आज केन्द्रिय स्तरमा पार्टी कार्यालय धुम्बाराहीस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिदैछ । यस कार्यक्रममा अध्यक्षद्वय केपी शार्मा ओली र प्रचण्डसहित शीर्ष नेताहरूको उपस्थिति रहने बताइएको छ ।
गत जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा एकीकरण भएपछि यसपटक नेकपाले पहिलो पटक फागुन १ गते यो दिवस मनाउन लागेको हो ।
विसं. २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्धको घोषणा भएको दिनलाई दिवसको रुपमा मनाउने गरेको छ । तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरू गरेको २३ वर्ष पूरा भएको छ ।
जनयुद्ध शुरू गरिएको सम्झनामा नेकपा र अलगअलग रहेका विभिन्न समूहका माओवादीले छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी जनयुद्ध दिवस मनाउने भएका छन् । माओवादीमा यतिका परिवर्तन आए जस्तै देशमा पनि थुप्रै परिवर्तन भएको छ ।
जनयुद्ध दिवस शुरूका दिनमा खुलामञ्चमा भव्यताका साथ मनाइन्थ्यो भने अहिले यसको स्वरुप फेरिएको छ । २०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरी सशस्त्र युद्धको सुरुआत भएको थियो । त्यसपछि १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भएका थिए ।
विसं.२०६३ मा विस्तृत शान्ति सम्झौता गरी नेकपा (माओवादी) शान्ति प्रक्रियामा आयो । १० वर्ष सशस्त्र युद्धमा बिताएका माओवादीले १० वर्ष शान्ति प्रक्रियामा पनि बितायो । प्रचण्डको नेतृत्वमा दुईपटक र डा. भट्टराईको नेतृत्वमा एक पटक सरकार पनि यस बीचमा बनिसकेको छ ।
माओवादीबाट अलग भई क्रान्तिकारी माओवादी गठन गरेका मोहन वैद्य र विप्लव नेतृत्वको नेकपाले रत्नपार्कस्थित शान्तिबाटिकामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने जानकारी दिएका छन् । गोपाल किराँतीले पुनर्गठन गरेको माओवादी केन्द्रले प्रज्ञा भवनमा कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने भएको छ ।






















