प्रकाश लामा
ललितपुर । बाग्मती गाउँपालिका–४ प्युटारमा रहेको कालीदेवी माध्यमिक विद्यालयमा जापानी सहयोग संस्था जाईकाले निर्माण गरेको नवनिर्मित विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार विद्यालयको अभिभाभक दिवस समारोहको अवसर पारेर प्रदेश सभा सांसद चेतनाथ सञ्जेलको प्रमुख आतिथ्यता र गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि सञ्जेलले नवनिर्मित भवनको ताम्रापत्र अनावरण गरी साँचो विद्यालयलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक ठाकुर लामाले यो दिन विद्यालयको लागि ऐतिहासिक दिन भएको बताए । कुनै दिन टेन्ट र छाप्रोमा विद्यालय सञ्चालन गर्नुपरेको क्षणलाई सम्झदै लामाले कक्षा व्यवस्थापन विद्यालय सञ्चालनको प्रमुख आधार भएको र जसलाई यस्ता अत्याधुनिक भवनले उजागर गरेको बताए । यद्यपीअझै पनि विद्यालयको लागि चुनौतिहरु धेरै रहेको र जसलाई आफूहरुले अवसरको रूपमा लिएर अगाडि बढ्ने उनले बताए । ३ सय २ विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा प्रअ लामाले विद्यालयको आयव्यय विवरणसमेत प्रस्तुत गरेका थिए ।

चन्डेश्वरी आधारभूत विद्यालयका प्रअ दुधराज लामाले सामुदायिक विद्यालयप्रती अभिभाभकले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताए ।
त्यस्तै गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बिष्टले विद्यालयमा आवश्यक सबै भौतिक संरचनाहरु पूर्ण भएकाले अबको चुनौती गुणस्तरीय शिक्षा रहेकोमा जोड दिए । विद्यार्थीको उपलब्धी नै गुणस्तरीय शिक्षाको मापक रहेको भन्दै उनले विद्यार्थीको समस्यामा केन्दृत रहनुपर्ने शिक्षकको प्रमुख दायित्व रहेको बताए ।
वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलले तीनै तहका सरकारले शैक्षिक गुणस्तरमा विशेष ध्यान दिनुपर्ने भन्दै विद्यालय सुधार गर्नमा अभिभाभक र आमाहरुको प्रमुख भूमिका हुने बताए । यस्तै प्युटारका वडाध्यक्ष नारायण बहादुर घलेले सुविधासम्पन्न भवन निर्माण गरिदिने दातालाइ धन्यवाद दिदै स्थानीय सरकार गुणस्तरीय शिक्षाका लागि सहयोग गर्न तयार रहेको र प्रदेश तथा संघीय तहले पनि यसका लागि ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चेतनाथ सञ्जेलले आफूहरु प्रदेश सभामा निर्वा्चित भएर आईसकेपछी आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रको सुधार गर्नका लागि अहोरात्र खटिरहेको बताए । प्युटारमै हुर्केका,पढेका, अध्यापन गरेका र आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका सञ्जेलले उक्त ठाउँको आफूलाई सधैं माया रहेको र विकासका लागि स्थानीय तथा संघीय तहसंग सहकार्य गरेर विकास निर्माणमा सघाउ पु¥याउने बताए । उक्त अवसरमा सञ्जेललाई पूर्व शिक्षकको हैसियतमा विद्यालयलाई पु¥याएको योगदानको कदर गर्दै सम्मानसमेत गरिएको थियो ।
गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनले पनि अहिलेको स्थानीय र प्रदेशसभाका जनप्रतिनिधी प्युटारकै सन्तान भएको हुँदा विकास निर्माणको लागि अब प्युटार भाग्यशाली साबित भएको बताए ।






















