अर्को बर्षको क्यालेन्डरमा ल्होछारको बिदा लेखाएरै छाड्छौ – पूर्वमन्त्री तामाङ

धुलिखेल । पूर्व कानून तथा न्याय मन्त्री शेरबहादुर तामाङले अर्को बर्षको क्यालेन्डरमा ल्होछारको बिदा लेखाएरै छाड्ने प्रतिवदता व्यक्त गरेका छन् ।

तामाङ समुदायको साँस्कृतिक पर्व २८५५ औं सोनाम ल्होछारको उपलक्ष्यमा धुलिखेल नगरपालिका वडा नं. १ मा रहेकाे सुनौलो देविटार युवा क्लबले आयोजना गरिएको ल्होछार साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री तामाङले उक्त प्रतिबद्धता जनाएका हुन् ।

‘सरकारले बिदा कटौती गर्नु सहि होइन ।’ उनले भने, ‘अर्को बर्षको क्यालेन्डरमा ल्होछारको बिदा लेखाएरै छाड्छौ ।’

प्रकृतिको स्थापनासँगै ल्होछारको सुरुवात भएको बताउँदै पूर्व मन्त्री तामाङले बीचमा तामाङहरुले विर्सेको बताए । ‘बिचमा हामीले ल्होछार बिर्सेछौ । हामीले अर्कै जातिको चाड मनाएछौं ।’ उनले भने, ‘नेपालमा मानिने सबै चाड नेपाली चाड हुन । ल्होछार पर्व पनि सम्पूर्ण नेपालीहरुको महान चाड हो । तर राज्यले विभेद गरेको छ ।’

तामाङहरुले पढ्न नचाहेको प्रति दुःख व्यक्त गर्दै सबैलाई पढ्न अनुरोध समेत गरे । ‘लोकसेवामा लड्ने भन्दा ठोकसेवामा लड्ने तामाङ अगाडी भए ।’ उनले भने, ‘तामाङहरुलाई प्रयोग मात्र गरे त्यसैले टिकट माग्न गए टिकट दिदैन ।’

आफू सामान्य परिवारमा जन्मेर ‘साङाको गोरेङ’ खाएर पढेको बताउँदै पढेकै कारण जंगबहादुरका सन्तानसँग राजनीतिक प्रतिस्पर्धा गर्न सकेको बताए ।

भ्रष्टचारको विरुद्ध सधैं लड्छु

पूर्व मन्त्री तामाङले आफू भ्रष्टचारको विरुद्ध सधैं लडिरहने बताए । कर्मचारीले तलब मात्र खाएर काठमाडौ मा घर नबनाएको प्रष्ट पारे । भ्रष्टारीलाई तह लगाउने कानून निर्माण गर्न लागेकै कारणले आफू मन्त्री हुँदा सबैको टाउको दुखेको प्रष्ट पारे । ‘सबैको सम्पत्ति खोताल्ने कानून बनाउन लागेको थिए । सबैको टाउको दुख्यो ।’ उनले भने, ‘मुलुकमा भ्रस्टाचार हुन्छ कि हुन्न ? यो मुलुकमा रहिन्जेल भ्रष्टाचारीहरुको विरुद्ध लड्छौं ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।