धुलिखेल । धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जुले नगरभित्रको तामाङ समुदायले तामाङ भाषा सिक्न चाहे नगरले प्रशिक्षकको व्यवस्था गर्ने बताएका छन् ।
आज (शनिबार) धुलिखेल नगरपालिका वडा नं. १ मा रहेको सुनौलो देवीटार युवा क्लाबले आयोजना गरिएको ल्होछार साँस्कृति कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख व्याञ्जुले यस्तो बताएका हुन् ।
‘हामीले बजेट वयवस्था गरेका छौ ।’ उनले भने, ‘तामाङ भाषा सिक्न चाहनुहुन्छ भने प्रशिक्षक पठाउछौ ।’
कार्यक्रममा प्रमुख व्याञ्जुले आदिवासी जनजातिको लागि विभिन्न कार्यक्रम बनाउने नेपालकै पहिलो नगर धुलिखेल नगरपालिका भएको दावी गरे । ‘आदिवासी जनजातिको लागि विभिन्न योजना बनाउने स्थानीय तह धुलिखेल नगरपालिका मात्र हो ।’ उनले भने, ‘हामी नगरलाई नमुना नगरको रुपमा विकास गर्न चाहन्छौं ।’
सबै वडालाई समान ढंगले हेरेको बताउदै धुलिखेल नगरपालिका वडा नं. १ देविटारलाई पनि फरक व्यवहार नगर्ने प्रतिबद्धता जाहेर गरे । ‘बजेटको सवालमा कसैलाई विभेद गरेका छैनौं । यो वडामा हामीले ४५ लाख बजेट पठाएका छौं ।’ उनले भने, ‘अन्य बजेट पनि यहाँ परेको छ । हिजो गाविस मात्र हुँदा जम्मा १७ लाख बजेट आउँथ्यो ।’






















