धुलिखेल । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले देश विकासको पहिलो आधार शिक्षा भएको बताएका छन् ।

आज (आइतबार) काभ्रेको धुलिखेल नगरपालिकाको ३३ औं नगर स्थापना दिसव तथा साक्षर नगर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।

‘शिक्षा देश विकासको पहिलो आधार हो । धुलिखेल नगरले यो आधारको पहिलो खुड्कीला प्राप्त गरेको छ ।’ मन्त्री बाँस्कोटाले भने, ‘निरन्तर लगानी गर्नुपर्ने एउटै मात्र क्षेत्र शिक्षा हो । सडक बरु २० वर्षको लागि चल्ला तर शिक्षामा यस्तो हुन्न ।’

उनले धुलिखेलका कतिपय गाउँमा महाभारत र खानीखोला गाउँपालिकामा जसरी नै मिहनत गुर्नुपर्ने भएकोले सबै जनप्रतिनिधिलाई मिहनत गर्न अनुरोध समेत गरे ।

मुलुकमा यो सरकारले केही पनि नगरेको र प्रगति शुन्य छ भनेर हल्ला पिटाउनेहरु धेरै भएको बताउँदै उनले आर्थिक बृद्धिदार ६.७ प्रतिशत भएको र राजस्व बृद्धि भएको बताए । ‘सरकारको सम्पूर्ण ध्यान जनताको जीवन सुखी बनाउने तिर लाग्ने नै हो ।’ उनले भने, ‘हामी हरेक दिन एक पाईला अघि बढ्छौं । धुलिखेल नगरले पनि एक पहिला अघि बढेको छ ।’ उनले १ वर्ष सरकारले सफलतापूर्वक पूरा गरेको दावी गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।