तेमाल । निर्माण कम्पनीले इमान्दारीताका साथ कार्य सम्पन्न गरे लामो समयदेखि काकाकुल तेमालबासीले अब २२ महिना भित्र खानेपानी पाउने भएको छ ।

तिमाल बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो साधारणसभमा जनप्रतिनिधि र उपभोक्ताहरुले निर्माण कम्पनी कालिका, सिएबी जेभीका प्रमुख बसन्त चन्दलाई काम समयमै सम्पन्न गर्न अनुरोध गरे ।

२०७५ साल असार २४ गतेका दिन संस्थाका अध्यक्ष संग्रामजीत लामा र निर्माण कम्पनीका प्रमुख चन्दबीचमा ठेक्का संझौता भएपनि अझै काम शुरु नगरेर ढिलासुस्ती गरेको प्रति सबैले चिन्ता जाहेर समेत गरे ।

साधारणसभामा प्रदेश सांसद रत्न ढकाल, नेकपाका नेता इन्द्र तामाङ, तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङ लगायतका जनप्रतिनिधिहरुले निर्माण कार्य सम्पन्न गर्न अनुरोध गर्दै जनप्रतिनिधिको तर्फबाट गर्नुपर्ने सबै काम गर्ने प्रतिबद्धता जााहेर गरे ।

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङ, सबै वडाका वडाध्यक्षहरु, खानेपानी कार्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कहाँ कहाँ बन्ने भयो ट्यांकी ?

दोस्रो चरणको कार्यक्रम अन्तर्गत २३ वटा ट्यांकी निर्माण हुने संस्थाका अध्यक्ष संग्रामजीत लामाले बताए । उनका अनुसार मेच्छेको मानेडाँडा र मेच्छेपौवामा सार्वजनिक जग्गामा निर्माण हुने भएको छ । त्यसैगरि चापाखोरीमा जर्देउडाँडा, चापाखोरी र धुल्खु, नारायणस्थानको याङ्बेल, गप्तीडाँडा, सिमलचौर, ठूलोपर्सेलमा छापडाँडा, बोल्देफेदिचेमा दोर्जेग्याङ, सरमथलीमा चेप्टेढुंगा, सस्र्यूंखर्कमा मौलेचोर, कानपुरमा कालीमाटी, कालापानी, पौडेलथुम्का, कटुञ्जेमा कुवेरडाँडा, मेथिनकोटमा लालिउकालो र दाहालधुम्का आदि स्थानमा ट्यांकी निर्माण हुनेछ ।

यस अघि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रे, निर्माण कम्पनी कालिका सिएबी जेभी र उपभोक्ता संस्थाले संयुक्त रुपमा सर्भे गर्ने काम सम्पन्न गरिएको थियो ।

भेलाले गरेका निर्णयहरु यस्तो छः

भेलाले विभिन्न प्रस्तावहरु समेत पारित गरेको छ ।

१. आयोजनाको निर्माण चरणको कामलाई सहज र व्यवस्थित बनाउन वडाध्यक्षको संयोजकत्वमा सम्बन्धित वडाका वडा सदस्यहरु, उपभोक्ता संस्थका उपसमितिका सबै सदस्यहरु, राजनीतिक दलका अध्यक्षहरु रहने ‘सुनकोशी खानेपानी आयोजना सहजीकरण उपसमिति’ गठन गर्ने निर्णय गरेको छ ।

२. संस्थाको कार्य क्षेत्र ठूलो र भौगोलिक विकटता भएकोले कामलाई छिटोछरितो प्रभावकारी बनाउन यातायातको साधनको आवश्यकता भएको हुँदा गाडी उपलब्ध गरि दिन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडा मार्फत नेपाल सरकारसँग माग गर्ने ।

३. आयोजनाको ट्यांकी निर्माण गर्न नीजि आवादी जग्गा उपलब्ध गरिदिने सम्पूर्ण जग्गा दाताहरुलाइृ उनीहरुको परिवारको १ सदस्यलाई रोजगारी दिने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।