काठमाडाैं । बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेखोलामा हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु भएकाहरुको शव चिन्न कठिन भएपछि ‘एण्टिमार्टम रिपोर्ट’ संकलन गरिएको छ । जलेर शव चिन्न नसक्ने भएपछि फरेन्सिक मेडिसिन विभागले मृतककाे तत्कालीन अवस्थाको विवरण (एन्टिमार्टम रिपोर्ट) संकलन गरेको हो ।

फरेन्सिक मेडिसिन विभागका प्राध्यापक डा. हरिहर वस्तीले मृतकको तत्कालीन अवस्थाको विवरण संकलन कार्य बिहीबार राति मात्रै सकिएकाले शुक्रबार मात्रै पोस्टमार्टन गरिने बताए । परिवारका सदस्यले शव चिन्न नसकेपछि मृतकको शरीरमा कुनै दाग, कपडा, घाउ चोटको पुरानो विवरण मागिएको छ । उक्त विवरणका आधारमा पोस्टमार्टम गर्दा मिलेको खण्डमा परिवारका सदस्यलाई शव बुझाइन्छ ।

डा. वस्तीले रातभर बसेर भए पनि काम गर्ने बताए । सम्भवत हामी शुक्रबार पोस्टमार्टम सक्ने तयारीमा छौं उनले भने । सामान्यतय शव पहिचान गर्न सकिने अवस्थामा मात्रै पोस्टमार्टम गरिन्छ । तर, परिवारका सदस्य तथा आफन्तले शवको पहिचान गर्न नसकेपछि मात्रै विशिष्ट प्रकारको एण्टिमार्टम रिपोर्ट संकलन गरिन्छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।