काभ्रे । जिल्लाको तेमाल गाउँपालिकामा रहेको तिमाल सामुदायिक विद्युतिकरण सहकारी संस्थाको ११ औं साधारणसभाले सार्कीमान तामाङलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । आज सम्पन्न साधारणसभाले तामाङको नेतृत्वमा सर्वसम्मत सञ्चालन समिति चयन गरेको हो ।
नवनिर्वाचित तामाङ संस्थाको पूर्व अध्यक्ष एवं सामुदायिक विद्युत राष्ट्रिय महासंघका केन्द्रिय सदस्य समेत हुन् । नवनिर्वाचित उपाध्यक्षमा स् इन्द्र बहादुर अधिकारी, सचिबमा स् इन्द्रमान तमाङ, कोषाध्यक्षमा कुल बहादुर तामाङ, सहसचिबमा डी.एस. लामा, सदस्यहरुमा रेशम बहादुर तामाङ र प्रेम बहादुर तामाङ रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष तामाङले तेमाल अनलाईनसँग छोटो प्रतिक्रिया दिंदै संस्थालाई अब नयाँ शिराबाट अघि बढाउदै जनसेवा मुखी बनाउने प्रतिबद्धता जनाए । आफूले सक्दो जनताको पक्षमा काम गर्ने बताए । ‘उज्यालो जनताको चाहना हो, म जनताको यो चाहनालाई मर्न दिन्न ।’ उनले भने, ‘उपभोक्ताको समस्यालाई नै केन्द्रमा राखेर अगाडि बढ्नेछौं ।’
साधारणसभाको उद्घाटन प्रमुख अतिथि एवं सामुदायिक विद्युत राष्ट्रिय महासंघको अध्यक्ष नारायण ज्ञवालीले एक कार्यक्रमका बीच गरेका थिए । कार्यक्रमको विशेष अतिथिमा सामुदायिक विद्युत राष्ट्रिय महासंघको जिल्ला अध्यक्ष संग्रामजीत लामा र अतिथिमा विद्युत प्राधिकरण काभ्रेका प्रमुख रञ्जन गुरुङ रहेका थिए ।
आर्थिक प्रतिवेदन ‘फेल’
कोषाध्यक्ष गणेश भण्डारीले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन साधारणसभाबाट पास हुन सकेन । आर्थिक विवरण डामाडोल अवस्थामा रहेको कारण बिस्तृत अध्ययन नगरीकन आर्थिक प्रतिवेदन पारित गर्न नसक्ने एक प्रतिनिधिले बताए । ‘पारदर्शी हिसाब, चुस्त र दुरुस्त छैन ।’ उनले भने, ‘कसरी पारित गर्न सकिन्छ त ? यो सहकारी जनताको सहकारी हो । जनतालाई कसरी झुक्याउने त ?’ नयाँ सञ्चालक समितिले विस्तृत अध्ययन गरेपछि मात्र आर्थिक प्रतिवेदनकोबारेमा सत्य तथ्य सार्वजनिक गर्ने बतााइएको छ । संस्था १३ लाख भन्दा बढी घाटामा रहेको उनको अनुमान छ ।
२ वर्ष पछि मात्र नयाँ नेतृत्व
२ वर्ष अघि नै निवर्तमान सञ्चालक समितिको पदावधि सकेको थियो । तर निवर्तमान अध्यक्ष तथा तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले साधारण सभा गर्नै सकेनन् । उनले २ वर्षसम्म अबैध ढंगले चलाएका थिए । यो साधारणसभासँगै नयाँ सञ्चालक समिति आएपछि बैध भएको छ ।
उनको कार्यकाल असफल भएको उनकै नेतृत्वमा रहेको एक सञ्चालकले बताए । आफूहरुले संस्थाको जिम्मा लिंदा चुस्त र पारदर्शी हिसाब भएपनि यो अबधिमा डामाडोल भएको उनको स्वीकरोक्ति छ । निवर्तमान कार्यसमितिले जिम्मेवार सम्हाल्ने बेलामा करिब ४० लाख नगद संस्थामा रहेकोमा हाल संस्था घाटामा गएको उनको तर्क छ ।






















