काठमाडौँ । सिन्डिकेटरहित यातायात कम्पनीहरु मिलेर बनेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सञ्चारकर्मिहरुलाई महासंघ अन्तर्गत सञ्चालन हुने बसहरुमा विद्यार्थीसरह सहुलियत दिने घोषणा गरेको छ ।
हिजो राजधानीको भृकुटिमण्डपस्थित रिपोटर्स क्लबमा भएको पत्रकार सम्मेलन तथा अन्तरक्रियामा महासंघका महासचिव गणेश उप्रेतिले १९ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् । सो प्रतिबद्धता पत्रमा उपभोक्ताहरुलाई सुरक्षित, गुणस्तरिय, अत्याधुनिक र सर्वसुलभ यातायात सेवा दिने बुँदाहरु समेटिएको छ ।
प्रतिबद्धता पत्रमा सिण्डिकेट हटाउनको लागि सरकार गम्भिर नभएको र दोहोरो भूमिका निर्वाह गरिरहेको पनि आरोप लगाइएको छ । सिन्डीकेटरहित यातायात सेवा दिन तत्पर व्यवसायीहरुलाई नै सरकारले असहयोग गरि गुमराहमा राख्नेजस्ता कार्य गरेको पनि महासंघले आरोप लगाएको छ ।
महासंघले जति नै समस्या परे पनि सिन्डिकेटरहित यातायात सेवा दिने आफ्नो अभियानबाट कुनै हालतमा पछाडि नफर्कने बताएको छ । महासंघका केन्द्रिय अध्यक्ष होम प्रसाद अधिकारीले सिन्डिकेटरहित यातायात सेवा दिन तयार भएका यातायात कम्पनीहरुलाई महासंघमा आवद्ध भई आफ्नो पेशागत हकहितको संरक्षणको लागि सहकार्य गर्न पनि सबैमा अपिल पनि गरेका छन् ।
महासंघका उपाध्यक्ष कृष्णबहादुर तिम्लिसिना खत्रीले नेपालमा सार्वजनिक यातायातको क्षेत्रलाई सिन्डीकेटमुक्त बनाउने अठोटबाट अब पछाडि फर्कने ठाउँ नभएको जिकिर गरे । त्यस्तै, वरिष्ठ अधिवक्ता मनिस कुमार श्रेष्ठले संविधानले नै एकाधिकार अन्त्य गरि सबै क्षेत्रमा प्रतिस्पर्धाका आधारमा अगाडि बढ्ने कुरा उल्लेख गरेकोले सिन्डिकेट प्रणाली गैरकानुनी क्रियाकलाप भएको बताए ।
कार्यक्रममा बाल्दै रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले सुरक्षित यातायातबिना देशको बिकास गर्न नसकिने भएकोले सार्वजनिक यातायातलाई सुरक्षित, सभ्य र प्रविधियुक्त बनाउन सरकारले पनि ध्यान दिनुपर्ने धारणा राखेका थिए ।
























