होमस्टे सञ्चालनका लागि अध्ययन अवलोकन भ्रमण शुरु

श्याम ङेसुर तामाङ
ललितपुर । वाग्मती गाउँपालिका वडा नं. ५ इकुडोल, माझखण्डमा होमस्टे संचालन गर्न आजदेखी फागुन २६ गतेसम्म ३ दिने अध्ययन अवलोकन भ्रमण शुरु भएको छ ।

माझखण्ड होमस्टे निर्माण उपभोक्ता समितिको आयोजनामा आजदेखि शुरु भएको हो । समितिका अध्यक्ष अर्थमान बम्जन तामाङका अनुसार तनहुँको बन्दीपुर, लमजुङको दक्षिण एशियाकै नमुना गाउँ घले गाउँ र कास्कीको घान्द्रुकको अध्ययन अवलोकन गरिने छ ।

अवलोकन गर्न माझखण्डमा होम स्टे निर्माण गर्ने सरोकारवाला, वाग्मती गाउँपालिकाका प्रशासकिय अधिकृत युवराज आचार्य, योजना प्रमुख देवप्रसाद श्रेष्ठ, इन्जिनियर विनोद सुवेदी, लेखापाल मनोज बस्नेत, वाग्मती–५ इकुडोलका वडाअध्यक्ष साजन दर्लामी मगर, वडा सचिब काशिप्रसाद दहाल, शारदा शिक्षा सदन माबिका शिक्षक वाङ बम्जन तामाङ, माझखण्ड पर्यटन विकास समितिका प्रतिनिधिहरु सम्मिलित २४ जनाको टोलि रहेको जनाएको छ ।

माझखण्डमा केही महिना अघि देखि नै आन्तरिक तथा बाह्य पर्यटकको आगमन शुरु भएपछि स्थानिय बासिन्दाले होम स्टे निर्माण शुरु गरेका छन् । अध्ययन अवलोकनले माझखण्डको पर्यटन विकास र होमस्टेको निर्माणको लागि थप टेवा मिल्ने वाग्मती–५ का वडाअध्यक्ष मगरले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।