काठमाडौं । तामाङ न्हाङखोरको प्रथम वार्षिकीको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा आयोजित दुइ दिने तामाङ अध्ययन गोष्ठी–२०७५ काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानको हल, कमलादीमा हिजो र आज (फागुन २७ र २८) गते सम्पन्न भएको हो । गोष्ठीमा २ वटा विमर्श कार्यक्रम र २१ वटा सेमिनार पेपर प्रस्तुत भएको थियो ।

विमर्शमा तामाङ लोकगीत ‘फापरे व्हाइ’ र ‘तामाङ वंशावली’को बारेमा विषय केन्द्रित वहस भएको तामाङ न्हाङखोरका अध्यक्ष तथा भाषाविद अमृत योञ्जनले जानकारी दिए । ‘पेपर मूलतः भाषा, साहित्य, शिक्षा, सञ्चार, खानपिन, प्रविधि, इतिहास, अर्थव्यवस्था, संस्मरण, महिला, विकास आदि विषयहरूमा गोष्ठी केन्द्रित रह्यो ।’ उनले भने, ‘नेपालका साथै भारतका कोलकता, दार्जिलिङ र सिक्किमबाट पनि पेपर प्रस्तुत भएको थियो ।’

यस अवसरमा तामाङ भाषा र साहित्यको प्रवद्र्धनमा १ सय भन्दा धेरै अंक प्रकाशन र साहित्यिक कार्यक्रम सञ्चालन गरेकोमा रु . १० हजार र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

तामाङ न्हाङखोरका संरक्षक डा. गणेश योन्जनको अध्यक्ष्यतामा सम्पन्न उद्घाटन समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राज्ञ वैरागी काइँलाले आफ्नो किनोट सम्भाषण प्रस्तुत गरेका थिए ।

तामाङ न्हाङखोरका अध्यक्ष अमृत योन्जन (तामाङ)को सभाध्यक्षमा समापन समारोह सम्पन्न कार्यक्रमले विभिन्न प्रतिबद्धताहरुसमेत जाहेर गरेको छ ।

प्रतिबद्धताहरुः
(१) प्रति वर्ष यसै महिना र यसै दिनमा तामाङ अध्ययन विषयमा गोष्ठी आयोजना गर्ने र सहभागी हुने ।
(२) तामाङ अध्ययनका विषयमा निरन्तर अध्ययन, छलफल र अभिलेखन गर्ने ।
(३) तामाङ ज्ञान(विज्ञान र प्रविधिलाई विशेष अनुसन्धान गरेर निरन्तर अभिलेखन र अध्ययन विष्लेषण गर्ने ।
(४) तामाङ अध्ययनलाई निरन्तर अभिवृद्धि गरी विभिन्न माध्यमबाट विश्वभरि नै प्रचार(प्रशार गर्ने ।
(५) तामाङ विषयका लेखक, अनुसन्धेताहरूलाई आ–आफ्ना सामग्री उपलव्ध गराउन अनुरोध गर्ने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।