तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा स्वास्थ्य वीमा कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबारदेखि ३ दिनसम्म ‘गाउँपालिका स्तरीय जनप्रतिनिधि एवं सरोकारवालालाई स्वास्थ्य वीमा विषयक’ अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङले जनप्रतिनिधिहरुबाटै स्वास्थ्य विमाको शुरुवात गर्न सबै जनप्रतिनिधिहरुलाई निर्देशन दिए । ‘जनप्रतिनिधिहरुले सबैभन्दा पहिला स्वास्थ्य वीमा गरौं ।’ उनले भने, ‘हामीले स्वास्थ्य विमा गरे जनताको विश्वास बढ्छ ।’

कार्यक्रममा प्रशिक्षक राजकुमार श्रेष्ठले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य वीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने स्वास्थ्य वीमाको प्रमुख उद्देश्य रहेको बताए । स्वास्थ्य सेवाका लागि पूर्व भुक्तानी प्राप्त गरी जोखिम न्यूनिकरणको व्यवस्था गरेर सर्वसाधारणका लागि थप वित्तीय संरक्षण प्रदान गर्ने र स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाका गुणस्तर, प्रभावकारिता, दक्षता र जवाफदेहितामा सुधार ल्याउनु स्वास्थ्य वीमाको अर्को उद्देश्य रहेको श्रेष्ठको भनाइ रहेको थियो ।

स्वास्थ्य विमा व्यक्ति तथा परिवारलाई आइपरेको स्वास्थ्य जोखिमलाई न्युनिकरण गर्न आवश्यक रहेको उनले बताए । काभ्रे जिल्लामा यहीं महिना भित्रमा स्वास्थ्य वीमा कार्यक्रम लागु हुने प्रशिक्षक श्रेष्ठले जानकारी दिए ।
त्यसैगरि अर्का प्रशिक्षक हिमलाल ज्ञवलीले स्वास्थ्य विमाको प्रक्रियाकोबारेमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
हालसम्म स्वास्थय वीमा कार्यक्रम नेपालमा ४० जिल्लाबाट शुरुवात भएको छ । यो आर्थिक वर्षमा ७७ वटै जिल्लामा विस्तार गर्ने घोषणा सरकारले गरेको छ । यो कार्यक्रममा व्यक्ति, समुदाय र सरकारको संलाग्नता रहने छ ।

स्वास्थ्य विमाको लागि ५ जनाको परिवारले वार्षिक २५ सय रुपैयाँ रकम तिर्नुपर्ने हुन्छ । सो परिवारले ५० हजार बराबरको सेवा निःशुल्क लिन सकिने छ । त्यसैगरि ५ जना भन्दा बढी संख्या भएको परिवारले भने थप भएको व्यक्तिको ४ सय २५ का दरले बढी तिर्नुपर्ने हुन्छ ।






















