याथाशिघ्रा नतिजा सार्वजनिक गर्न काभ्रेका अस्थायी शिक्षकहरुको माग

काभ्रे । जिल्लाका विज्ञापन नं. १०३ अनुसार परिक्षामा सामेल भएका अस्थायी शिक्षकहरुको नतिजा रोकिएकोमा यथाशिघ्र नतिजा सार्वजनिक गर्न माग गरेको छ ।

काभ्रे जिल्लाका विज्ञापन नं. १०३ का परिक्षार्थी शिक्षकहरुको साेमबार बसेकाे एक भेलाले संघर्ष समिति गठन गर्दै यो माग गरिएको हो । भेलाले विज्ञापन नं. १०३ शिक्षक संघर्ष समिति, काभ्रे समेत गठन गरेको छ । समितिको अध्यक्षमा उमा त्रिपाठी, सचिवमा देवीप्रसाद गौतम, कोषाध्यक्षमा संगीता ठकुरी र सदस्यहरुमा उद्धव प्रसाद अधिकारी, गंगाबहादुर दोङ, स्वस्थानी खड्का, होमबहादुर वाईबा रहेका छन् ।

भेलाले चैत्र ८ गते प्रकाशित काभ्रे जिल्लाको प्राथमिक तहको विज्ञापन नं. १०१ र १०२ को परिक्षा नतिजा प्रकाशित भइसकेको र १०३ को नतिजा रोकिएको हुँदा यथाशिघ्र सत्यतथ्य छानविन गरि नतिजा प्रकाशित गर्नुपर्ने र विज्ञापन नं. १०३ को नतिजा प्रकाशन भएपछि विज्ञापन नं. १०१ र १०२ को शिक्षकहरुसँगै १०३ को शिक्षकहरुलाई पनि नियुक्ति सिफारिस गर्नुपर्ने लगायका माग राखेको छ ।

राहत शिक्षकका कारण अस्थायी शिक्षकहरु विस्थापित हुने

काभ्रे जिल्लाबाट नियम विपरित ७ जना रातह शिक्षहरुले समेत विज्ञापन नं. १०३ को विज्ञापन अनुसारको परिक्षामा सामेल भई पास भएकोमा अब वास्तविक ७ जना अस्थायी शिक्षकहरु विस्थापित हुने भएको छ ।

शिक्षक नेता देखि पार्टी नेतासम्मको पहुँचको आधारमा उनीहरु परिक्षामा सामेल भएपछि यो समस्या आएको हो ।

नियम अनुसार २०७२ असोज २ गतेभित्र दरबन्दीमा कार्यरत रही ०७३ असार १५ गतेसम्म निरन्तर सेवा गरिरहेका प्राथमिक तह तृतीय श्रेणीमा कार्यरत अस्थायी शिक्षकले मात्र विज्ञापन १०३ मा प्रतिस्पर्धा गर्न पाउने नियम छ ।

शिक्षक सेवा आयोगको नियम विपरित परिक्षामा सामेल भएका काभ्रेका शिक्षकहरुमा सावित्री तिमल्सिना, निता अधिकारी (भुर्तेल), यन्द्रकुमारी तिवारी, रञ्जु यादव, कान्छीमाया लामा, हरिप्रसाद खतिवडा र मेनुका तिमल्सिना रहेका छन् ।

कुन नेताका नतामा को पर्छ ?

शिक्षक सेवा आयोगको नियम विपरित परिक्षामा समेत भएका सावित्रि तिमल्सिना नेपाल शिक्षक संघका केन्द्रिय सदस्य नारायण तिमल्सिनाका बहिनी हुन् । त्यसैगरि निता अधिकारी (भुर्तेल) नेपाल शिक्षक संघका जिल्ला सचिव किशोर अधिकारीकी श्रीमती हुन भने इन्द्रकुमारी तिवारी नेपाल शिक्षक संघका केन्द्रिय सदस्य केशव खनालकी श्रीमति हुन् । त्यस्तै रञ्जु यादव, स्रोत व्यक्ति पेशाल यादवकी श्रीमति हुन् भने मेनुका तिमल्सिना नेपाल शिक्षक संघका केन्द्रिय सदस्य नारायण तिमल्सिनाकी बहिनी हुन् ।

१ सय १० जना लिखितमा पास

विज्ञापन नंं. १०३ अनुसार काभ्रेबाट १ सय २० जनाले परिक्षा दिएकोमा १ सय १० जना मात्र पास भएको थियो । आवश्यक शिक्षक दरबन्दी भने ९१ जनाको मात्र थियो । ७५ प्रतिशत आन्तिरिक र २५ प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट परिक्षामा सामेल भएको थियो ।

प्राविधिक कारणले रोकिएको शिक्षक सेवा आयोगले जनाए पनि राहत शिक्षकले समेत परिक्षामा सामेल भएपछि नतिजा प्रकाशन हुन नसकेको शिक्षकहरुको भनाई छ ।

यस अघि राहत कोटामा शिक्षण पेशामा रहेका ती ७ जनाले सर्वोच्च अदालतमा परिक्षा दिन पाउँभनि दिएको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले परिक्षा दिने व्यवस्था मिलाउन आदेशले दिएको थियो ।

माग पूरा नगरे चरणबद्ध आन्दोलमा जाने चेतावनी

अस्थायी शिक्षकहरुको माग पूरा नगरे चरणबद्ध आन्दोलनमा जाने संघर्ष समितिका अध्यक्ष उमा त्रिपाठीले बताइन् । ‘माग पूरा नगरे हामी शान्तिपूर्ण ढंगले आन्दोलनमा जान बाध्य हुनेछौं ।’ त्रिपाठीले भनिन्, ‘अब हामी चरणबद्ध आन्दोलनको घोषणा गर्छौं, जिम्मेवार शिक्षकको हैसियतले हाम्रो आन्दोलनका कार्यक्रमहरु अघि बढाउनेछौं ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।