काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही महिनायता दैनिकजसो कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरिरहेको छ । तैपनि कर्मचारीतन्त्रमा घुसखोरी रोकिएको छैन । घुस प्रकरणमा अघिल्लो मंगलबारयता १४ कर्मचारी पक्राउ परेका छन् ।  मंगलबार एक प्रहरी पनि घुससहित पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचलबाट प्रहरी जवान गणेश लोहार १७ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । सहज रूपमा श्रम स्वीकृत मिलाइदिने भन्दै उनले घुस लिएका थिए ।

यस्तै, सोमबार आन्तरिक राजस्व कार्यालय जगाती, भक्तपुरका नायब सुब्बा सबिन सुवेदी घुससहित पक्राउ परेका थिए । स्वास्थ्य चौकी भवन निर्माण सम्पन्नपछि नियमअनुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनका लागि उनले १५ हजार घुस लिएका थिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

गत, शुक्रबार एकै दिन अख्तियारले भ्रष्टाचारको आरोपमा पाँच कर्मचारीलाई पक्राउ गरेको थियो । बाराको सिमरास्थित डिभिजन वन कार्यालयका प्रमुख अधिकृत शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकरप्रसाद केशरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारी घुससहित पक्राउ परेका हुन् । ठाकुर र केशरीलाई २५ हजार तथा कार्यालय सहयोगी अधिकारीलाई ९० हजार घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ । कवाडी मालसामानको ठेक्काका लागि उनीहरूले अग्रिम घुस लिएका थिए । ठेकेदारले पहिल्यै अख्तियारलाई खबर गरेपछि तीनजना फन्दामा परेका हुन् । त्यस्तै, मोरङको लाटिझोडास्थित सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत सलाउद्दिन अन्सारी पनि शुक्रबार नै घुससहित समातिएका छन् । वन पैदावार उपलब्ध गराउन सिफारिस गरिदिएबापत सेवाग्राहीसँग उनले ३५ हजार घुस लिएका थिए । अख्तियारको टोलीले उनलाई डिभिजन वन कार्यालय विराटनगरबाट पक्राउ गरेको हो ।

शुक्रबार नै प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव वीरेन्द्र सिन्हा पनि पक्राउ परेका थिए । तारेखमा गएका वेला उनलाई अख्तियारले हिरासतमा लिएको थियो । तत्कालीन कृषि विकास कार्यालय पर्साका प्रमुख रहँदा उनले लाखौँ अनियमितता गरेको प्रमाण भेटिएपछि नियन्त्रणमा लिएको स्रोत बताउँछ ।

बिहीबार पनि दुई कर्मचारी घुससहित पक्राउ परेका थिए । ललितपुरको महानगरपालिकाको नक्सा शाखाका अमिन वीरेन्द्र चन्द २० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । उनले प्राविधिकमार्फत जग्गा नापजाँच गरेर क्षेत्रफल निक्र्योल गरी सिफारिस गर्नका लागि सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीले अख्तियारलाई खबर गरेर घुस दिएका थिए । घुस लिएको केही समयमै उनी महानगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ परेका हुन् ।

त्यस्तै पश्चिम नवलपरासीको बर्दघाटस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा कनिष्ठ सहायक अञ्चल सुनार पनि बिहीबार घुससहित रंगेहात पक्राउ परेका थिए । सेवाग्राहीको स्वीकृत भइसकेको ऋण रकम निकाल्न नमिल्ने गरी रोक्का राखेर उनले घुस लिएका थिए । अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई १० हजार घुससहित पक्राउ गरेको हो ।

बुधबार बाराबाट तीन कर्मचारी पक्राउ परेका थिए । मालपोत कार्यालय कलैया दरबन्दी भएका लेखापाल जुगल ठाकुर र नायब सुब्बा शत्रुघन पटेल तथा मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्ताका निजी सवारीचालक सुनील पटेल पक्राउ परेका हुन् । उनीहरू राजस्व हिनामिनाको अनुसन्धानका क्रममा पक्राउ परेको स्रोतले बतायो ।

मंगलबार धनुषाको जनकपुरस्थित राइजो वियम तथा घाँसेबारी बिउबिजन प्रयोगशालामा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा. रामगुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरी घुससहित पक्राउ परेकाथिए । उनीहरूले भुक्तानी आदेशबापत विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए । उनीहरू ४० हजार घुससहित पक्राउ परेका हुन् ।

केही महिनायता अख्तियारको हिरासत सधैँ खचाखच हुने गरेको छ । भ्रष्टाचार आरोपमा पक्राउ परेका कर्मचारी अख्तियारको हिरासतमा नअटेपछि प्रहरी कार्यालयको हिरासतमा समेत राख्ने गरिएको छ । ‘हरेक हप्ता चार–पाँचजना कर्मचारी पक्राउ परिरहेकै छन्,’ अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘सरकारी कार्यालयमा हुने घुसखोरी रोक्न हामी अब सेवाग्राहीको भेषमा खटिन्छौँ ।’ घुसविना सेवा नदिने कर्मचारीको आदत बनिसकेको अख्तियारका अधिकारीहरू बताउँछन् । –नयाँपत्रिकाबाट

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।