बनेपा । काभ्रे जिल्लाको बनेपामा रहेको विद्या सागर स्कुलले जिल्लामै पहिलो पटक नयाँ कार्यक्रम शुरु गरेको बताइएको छ । आगामी शैक्षिक सत्रदेखि कक्षा ७ सम्मका विद्यार्थीहरुका लागि ‘ब्याग लेस स्कुल’ कार्यक्रम शुरु गर्न लागेको आज (शुक्रबार) पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिएका हुन् । यस्तो खालको कार्यक्रम काभ्रेको कुनै पनि विद्यालयमा छैनन् ।

पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल हिरा शर्मा नेपालका अनुसार ब्याग लेस स्कुलको अवधारणाले विद्यार्थीहरुलाई आवश्यक सबै गतिविधिहरु स्कुल भित्रै शिक्षकको प्रत्यक्ष निगरानीमा गराई किताब कापी स्कूलमै छाडेर जाने र घर जाँदा साँझ कुनै कथा किताब वा परियोजना कार्यको पाना बोकेर जाने व्यवस्था हो ।

नेपालका अनुसार बिहान ७ः४५ बजे स्कुल सुरु गर्ने र साँझ ५ः१५ बजे अन्त्य गर्ने गरि उक्त कार्यक्रम शुरु गरिएको छ । ‘कक्षा कोठामा पढाएर मात्रै पुग्दैन, लाईफ स्किल, श्रृजनशीलता, एकाग्रता, संयमता, शान्ति प्रतिको आस्था पारिवारिक मूल्य मान्यता सबैलाई समेटेर एउटा पूर्ण स्कुलको अवधारणा ल्याएका छौँ ।’ –संस्थापक प्रिन्सिपल शर्माले भने–‘आजको समयमा साँझ अभिभावक र छोरा छोरी बिच गृहकार्य तथा स्कुलका अन्य क्रियाकलापले द्वन्द हुने अवस्थामा नयाँ सोचले द्वन्द हटाई आत्मीयता बढाउने तर्फ राम्रो कार्य गर्नेछ ।’

स्कुलले अभिभावकको चाहना अनुसार खाना÷खाजा खुवाउने व्यवस्था वा अभिभावकले स्वयम् खाना÷खाजाको व्यवस्था गर्ने खुल्ला विकल्पहरु ल्याएको नेपालले बताउँदै स्कुलले सहुलियत मूल्यमा पूर्णतय साकाहारी भोजनको व्यवस्था गर्ने जानकारी दिए । उक्त ब्यवस्थाले अभिभावकले अतिरिक्त कक्षा, जकं फुड लगायतका कुराहरुमा गरिरहेको खर्चले नै स्कुलको शुल्क पुग्ने उनले बताए । ९ घण्टाको स्कुल समयमा प्रत्येक बालबालिकाले गीत÷संगीत÷नृत्य खेलकुद÷योग कक्षा÷नेतृत्व व्यक्तित्व विकासका कार्यक्रमहरु तथा हाल संचालित ईसिएमा समय बिताउने छन् ।

व्रिटिस काउन्सिलको अन्र्तराष्ट्रिय स्कुल अवार्ड २०१७–२०२० बाट सम्मानित उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षक–शिक्षिका अन्तराष्ट्रिय सहकार्यमा सामेल भएका छन् । फरक खालका अतिरिक्त कृयाकलापहरुका अलावा विद्यालयको गुणस्तर सुधारका लागि शिक्षक प्रशिक्षण तथा थप कार्यहरु गरिरहेको छ ।

प्रविधिलाई उच्चतम प्रयोग गरी विद्यार्थीहरुलाई पढाई तथा जीवनोपयोगी शिक्षा प्रदान गर्ने अभियानमा रहेको विद्या सागरले ‘पिस स्कुल’ कार्यक्रम शुरु गरेको छ ।

यस विद्यालयबाट हालसम्ममा १ हजार २ सय ९४ जना एसएलसी÷एसईई उत्तिर्ण भएका छन् भने १ सय १९ जना २०७५ को परीक्षामा सामेल भएका छन् । १ हजार २ सय ९४ जना विद्यार्थीहरुमध्ये सबैभन्दा बढी विद्यार्थी नर्सिङ्ग पेशामा संलग्न छन् । १५ जना विद्यार्थी एमविविएस÷विडिएस लगायत मेडिकल क्षेत्रमा छन् भने ६ जना विद्यार्थी एमफिल÷पिएचडी गरिरहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।