काभ्रे । विना जानकारी विद्यालय नआउने काभ्रे जिल्ला तेमाल गाउँपालिकाका दर्जन भन्दा बढी शिक्षकहरु कार्वाहीमा परेका छन् । तेमाल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत नविन गाङ्तान तामाङ आउने वित्तिकै विद्यालय अनुगमन गर्ने क्रममा शिक्षकहरु कार्वाहीमा परेका हुन् ।

प्रमुख प्रशासकिय अधिकृत तामाङको नेतृत्वमा विभिन्न विद्यालयमा अुनगमन गरेका थिए । अुनगमनको क्रममा शिक्षकहरु विना जानकारी विद्यालय उपस्थित नभएको पाएपछि हाजिरी काटेर चेतावनी स्वरुप कार्वाही गरेको प्रमुख प्रशासकीय अधिकृत तामाङले तेमाल अनलाईलाई जानकारी दिए ।
यस अघि तेमाल गाउँपालिकाले लिखित निवेदन विना अनुपस्थित रहेको शिक्षकहरुको तलब कट्टा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई सार्वजनिक गर्दै अधिकृत तामाङले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा नियमित हुन शिक्षकहरुलाई अनुरोध समेत गरेका थिए ।
कुन कुन विद्यालयमा कति जना कार्वाहीमा ?
प्रमुख प्रशासकीय अधिकृत तामाङका अनुसार अहिलेसम्ममा तेमालका ६ वटा विद्यालयमा अनुगमन गरेको छ । अनुगमन गरिएका सबै विद्यालयमा केही शिक्षकहरुको अनुपस्थिति रहेको पाईएको तामाङले बताए ।

अनुगमनको क्रममा तेमाल गाउँपालिका वडा नम्बर ७ स्थित भूमेश्वर आ.बि. र राधाकृष्ण मा.बि. र वडा नम्बर ९ को कुशेश्वर मा.बि. को अगुगमन गर्ने क्रममा करिब आधा दर्जन शिक्षकहरु विना जानकारी अनुपस्थिति रहेको भेटिएको थियो । उनीहरुको हाजिर काट्ने काम अनुगमनको ाक्रममा भएको छ । त्यसैगरि तेमाल गाउँपालिकाको वडा नम्बर १ मा रहेको जनचेतना माध्यामिक बिद्यालय र पञ्चकन्या आधारभुत बिद्यालयका केही शिक्षकहरु पनि कार्वहीमा परेका छन् ।
यसैबीच तेमाल गाउँपालिका वडा नम्बर ५ स्थित नारायणस्थान माध्यामिक बिद्यालयमा साँझ ४ बजे गरिएको अनुगमनमा ४ जना शिक्षकहरुले मोबाइलमा एस.एम.एस. मार्फत बिदा लिएको हुनाले क्याबि बिदा दिएको थियो भने २ जना शिक्षकहरु कुनै पनि जानकारी नगराई अनुपश्थित भएकाले हाजीरीमा गएल जनाइएको छ ।
प्रमुख प्रशासकिय अधिकृत तामाङले सबै शिक्षकहरुलाई बिद्यालयमा उपस्थित भई आफ्नो शैक्षिक क्रियाकलाप प्रभावकारी रुपमा सञ्चालन गर्न समेत अनुरोध गरेका छन् ।
प्रोत्साहन दिने कार्यक्रम पनि बनाउँदै
प्रमुख प्रशासकीय अधिकृत तामाङले शिक्षकलाई प्रोत्साहन र अभिमुखिकरण पनि गर्ने बताए । ‘शिक्षकहरुलाई नियमित कसरी बनाउने भन्ने योजना अन्तर्गत अनुगमनको क्रममा हाजिरी काट्ने देखि लिएर विदा जनाउने काम भएको छ ।’ तामाङले भने, ‘अब शिक्षकहरुलाई प्रोत्साहन र अभिमुखिकरण पनि गर्ने योजना बनाउँदै छौं ।’ तेमाल गाउँपालिकालाई शिक्षामा नमुना गाउँपालिका बनाउने तामाङले जानकारी दिए ।
यस्तो थियो गाउँपालिकाको अुनरोध
‘तेमाल गाउँपालिकालको निर्णय अनुसार लिखित निबेदन बिना अनुपश्चित हुने शिक्षकहरुको तलब गाउँपालिकाले कट्टा गर्ने भएकोले सबै शिक्षक बर्गहरुलाई आवश्यक जानकारीको लागी अनुरोध छ। आज केही बिद्यालयहरुमा शिक्षक उपस्थित नभएको जानकारी प्राप्त भएकोले सबै शिक्षकलाई बिद्यालयमा उपस्थित भई राष्ट्रिय भर्ना अभियानमा प्रभावकारी रुपमा संलग्न भई शैक्षिक वातावरण तयार गर्नको लागी तेमाल गाउँपालिका हार्दिक अनुरोध गर्दछ ।’
प्रशासकिय अधिकृत तामाङको नेतृत्वमा विद्यालय अनुगमन गरेको थाहा पाएपछि स्थानीय अभिभावकहरु खुशी भएका छन् ।






















