अदालत परिसरबाटै पत्रकार गिरफ्तार गरिएकोमा महासंघको आपत्ति

काठमाडौं । पत्रकार जितेन्द्र महर्जनलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेकोमा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले आपत्ति जनाएको छ । महासंघका केन्द्रिय महासचिव रमेश विष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल रिहा गर्न समेत माग गरेका छन् ।

नेपाल पत्रकार महासंघले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा हिजो (आइतबार) सुनुवाई गर्दै सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले रिहा गर्ने आदेश दिएकोमा न्यूगु ज्वजलपा वा÷पौ साप्ताहिकका सम्पादक समेत रहेका महर्जनलाई अदालत परिसरवाटै गिरफ्तार गरिएको थियो ।

‘समाचार लेखेकै कारण पत्रकारहरुमाथि विद्युतीय कारोवार ऐन, राज्य विरुद्धको अपराध जस्ता गम्भीर अभियोग लगाउँदै गैरकानूनी गिरफ्तारी गर्ने कार्य्विरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलित भइरहेकै बखत सर्वोच्च अदालतले रिहा गरेका पत्रकारलाई अदालत परिसरवाटै पक्राउ गर्ने कार्यले लोकतन्त्र, मानवअधिकार, विधिको शाषन र स्वतन्त्र पत्रकारिताकै खिल्ली उडाएको छ ।’ महासचिव विष्टले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ सरकारले गरेको यसप्रकारको संविधान तथा प्रेस स्वतन्त्रता विरोधी कार्यको घोर विरोध गर्दै पक्राउ गरिएका पत्रकारको तत्कालै निशर्त रिहाई तथा उक्त घटनामा जोडिएका सबैमाथि कारवाहीको माग गर्दछ ।’

अदालत परिसतवाटै पक्राउ गरिएका पत्रकारको रिहाई र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि महासंघ आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य भएको जनाउँदै आन्दोलनका कार्यक्रम तय गर्न आज विहान ११ वजे महासंघ केन्द्रीय कार्यालयमा उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठक राखिएको विज्ञप्तिमा उल्लेख छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।