काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला समिति गठन विधिले गर्दा ८ जना केन्द्रिय सदस्यहरु घटुवामा परेका छन् । सोमबार पार्टी स्थापना दिवसको उपलक्ष्यमा सार्वजनिक गरेको जिल्ला नेतृत्वको विवरणमा ती केन्द्रिय सदस्यहरुे घटुवामा परेको उल्लेख छ ।
कतिपय केन्द्रिय सदस्यहरु प्रदेश कमिटि सदस्यहरुको अध्यक्षतामा सचिव भएका छन् । पार्टी केन्द्रिय समितिले साविक दुवै पार्टीको अध्यक्षहरु नै अध्यक्ष वा सचिव हुने निती बनाएपछि त्यस्तो समस्या आएको हो ।
जिल्लाको अध्यक्ष वा सचिव कसैले पनि आफूले पाएको पद छोड्न नपाउने नेकपा स्रोतले बताएको छ ।
को को हुन् ‘अभागी’ केन्द्रिय सदस्यहरु ?
चितवनका तत्कालीन एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेललाई सचिव बनाइयो । उनी हाल संघीय संसदको कानून, न्याय तथा मानवाधिकार समितिका सभापति हुन् ।
तत्कालीन माओवादी केन्द्रका जिल्ला अध्यक्ष यमबहादुर परियार अहिले नेकपाको जिल्ला अध्यक्षमा मनोनित भएपछि पोखरेलले आफ्नो सचिव पद के गर्लान् भन्ने चासोको विषय बनेको छ ।
रुपन्देहीका प्रदेश नम्बर ५ का अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने ‘घटुवा’ प्रकरणका अर्का सचिव हुन् । सोमवार घोषणा भएको जिल्ला कमिटी अनुसार बुटवल महानगरपालिकाका प्रमुख समेत रहेका शिव सुवेदी अध्यक्ष र न्यौपाने सचिव भएका थिए । तर आफू पोलिटब्युरो सदस्य समेत भएर काम गरेकाले अहिले जिल्ला कमिटीको सचिव हुनुमा न्यौपानेलाई खासै खुसी मिलेको छैन । आफ्ना निकटस्थलाई उनले जिल्ला सचिवको पद नलिने निर्णय सुनाएका छन् ।
काठमाडौंका तत्कालीन माओवादी केन्द्रका काठमाडौँ जिल्ला अध्यक्ष हिमाल शर्मा पनि सचिव पदमा चित्त बुझाउने खालको हाउभाउ देखाएका छैनन् । आफ्नो नाम सचिवमा आउने छाँटकाँट देखिएपछि सामाजिक संजालमा स्ट्याटस लेख्दै ‘आफ्नो पद कुनै अर्कोलाई दिन पाइन्छ कि पाईदैन’ भनेर सोधेका थिए । शर्मा हाल नेकपाको केन्द्रीय समिति सदस्य पनि हुन् । काठमाडौँमा कृष्ण राईलाई अध्यक्ष मनोनयन गरिएको छ ।
कन्चनपुरमा तत्कालीन माओवादी केन्द्रका जिल्ला अध्यक्ष रहेका वीरबहादुर थापालाई हालको नेकपाको जिल्ला अध्यक्ष र सचिवमा तत्कालीन एमालेका जिल्ला अध्यक्ष रहेका तारा लामालाई मनोनयन गरिएको छ । तारा लामा नेकपा सुदूरपश्चिम प्रदेशसभाका प्रमुख सचेतक हुन् भने, थापा मेयरमा हारेका उम्मेदवार हुन् । सचिवमा मनोनित तारा लामा ‘घटुवा’ प्रकरणका अर्का उदाहरण देखिन्छन ।
धनुषाका श्रवण यादव पनि सचिवमा घटुवा भएकोमा दुखि छन् । यादव पार्टीको जिल्ला कमिटी एकीकरण अघि केन्द्रीय कमिटीका सदस्य थिए । साविक एमालेका झल्खु यादव जिल्ला कमिटीका अध्यक्ष थिए । एकलाई अध्यक्ष र अर्कोलाई सचिव बनाउनुपर्ने बाध्यताका बीचमा श्रवण सचिवमा घटुवा भए ।
स्याङ्गजामा जिल्ला अध्यक्षका रूपमा पारस गैरेलाई मनोनयन गरिएको छ । गैरे स्याङ्गजा निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट हारेका उम्मेदवार हुन् । तर सचिवका रूपमा भने निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट जितेर प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका मीनप्रसाद गुरुङ छनोटमा परेका छन् । स्याङ्गजामा पनि मीनप्रसाद गुरुङ ‘घटुवा’ मा परेका अर्का उदाहरण हुन् ।
नुवाकोटमा पनि संघीय सांसद नारायण खतिवडा सचिवमा ‘घटुवा’ भएका छन् भने साविक माओवादीका तर्फबाट प्रदेश सांसद रहेका हीरानाथ खतिवडा जिल्ला अध्यक्ष भएका छन् ।
सिन्धुपाल्चोक जिल्लामा माओवादी तर्फबाट सचिव बनाइएका दावा लामा पार्टीका केन्द्रिय सदस्य हुन् भने एमाले तर्फबाट अध्यक्ष बनाइएका झम्क नेपाल पार्टी केन्द्रिय सदस्य होइनन् ।





















