काठमाडौं । जिज्ञासा राखेकै आधारमा चलचित्रकर्मी विकु थोकरले पत्रकार सम्मेलनमै पत्रकारलाई दिएको धम्की प्रति अनलाईन ग्रुपले आपत्ति जनाएको छ ।
तामाङ चलचित्र संघका अध्यक्ष समेत रहेका थोकरले एक पत्रकार सम्मेलनमा पत्रकारलाई धम्की दिएको भन्दै अाज अनलाईन ग्रुपले प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाएका हुन् ।
अनलाईन ग्रुपका अध्यक्ष प्रितम कुमार तामाङद्वारा हस्ताक्षेरित प्रेस विज्ञप्तिमा गत बैशाख ११ गते एक सार्वजनिक कार्यक्रममा थोकरले चलचित्रको विषयमा समीक्षा गर्न नमिल्ने भन्दै धम्कि दिएको आरोप लगाएको छ । ‘यस्तो अभिव्यक्ति संबिधान प्रदत्त प्रेस स्वतन्त्रता माथिको नाङ्गो हस्तक्षेप हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारहरुले टिप्पणी गरेको भन्दै प्रतिकार गर्ने धम्किपूर्ण भाषा प्रयोग गरेकोप्रति अनलाईन ग्रुप घोर आपति जनाँउदाछ ।’
पत्रकार सम्मेलनमा अनलाइन ग्रुपका अध्यक्ष तामाङले समाजिक सञ्जाल फेसबुकमा चलचित्रको नकारात्मक टिप्पणी गरेको भन्दै थोकरले तामाङ चलचित्रको विषयमा गलत प्रतिक्रिया दिनेलाई जुन सुकै परिस्थितिमा जे गर्न पनि तयार रहेको बताएका थिए । विज्ञप्तिमा यस्तो खालको भनाईले आम पत्रकारहरु त्रासित भएको बताउँदै थोकरलाई सच्चिन अनुरोध समेत गरेको छ ।
विज्ञप्तिमा पत्रकार माथि धम्कि दिने थोकरलाई कानूनी कार्वही गर्न समेत सम्बन्धित निकायलाई अनुरोध गरेको छ । थोकरको धम्की विरुद्धमा विभिन्न २४ वटा अनलाईन मिडिया उभिएको छ ।

थोकरको प्रतिक्रिया यस्तो छः
विज्ञप्ति निकाल्न साथ चलचित्रकर्मी थोकरले आफ्नो फेसबुक सञ्जालमा प्रतिक्रिया दिएका छन् । उनले उक्त विज्ञप्तिलाई आफ्नो मनोवल गिराउने खालको भन्दै प्रक्रिया दिएका छन् ।
उनले चलचित्रकर्मीहरुको हकहितको लागि जस्तोसुकै मूलय चुकाउन पनि आफू तयार रहेको बताएका छन् ।
उनको भनाई जस्ताको तस्तैः
’हृदयदेखि धन्यवाद सम्पुर्ण अनलाइन ग्रुपका मित्रहरुलाई ।
कुरा यत्ति मात्र होकि, कुरा के हो, के भन्न खोजेको हो भन्ने कुरा प्रष्ट नबुझी मेरो मनोबल घटाउने खालको अशुद्ध विज्ञप्ती निकाल्नु भएको रहेछ, तपाईहरु अगाडी बढ्नुस तामाङ चलचित्र कर्मीहरुको हकहितको लागि जस्तो सुकै मूल्य चुकाउनु परे पनि म एउटा तामाङ चलचित्र संघको अध्यक्षको हैसियतले तयार छु, म चाहे चलचित्रको मध्यमबाट होस चाहे समाजसेवाको मध्यमबाट होस म मेरो देश र मेरो समुदायको लागि निरंतरता लागि रहनेछु।’























