अञ्जली तामाङ
धुलिखेल । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जनतासँग नजोडिएकोलाई सहकारी भन्न नमिल्ने बताएका छन् ।
शनिबार काभ्रे जिल्ला सहकारी संघका सचिव दिपिल शर्माद्वारा लिखित ‘सहकारीको सारथी’ नामक पुस्तक बिमोचन गर्दै मन्त्री बाँस्कोटाले उक्त धारणा राखेका हुन् ।
कार्यक्रममा मन्त्री बाँस्कोटाले समाजवादी सँस्कृति सहितको आर्थिक ब्यवस्था निर्माण गर्ने दिशामा सहकारी लाग्नुपर्नेमा जोड दिए । ‘तरकारी उत्पादन, तरकारी वितरण गर्ने सहकारीलाई सक्रिय बनाउन कसले छेक्यो ?, उनले प्रश्न गर्दै भने ‘यदि जनतासँग जोडिदैन भने कसरी सहकारी हुन्छ ?’
सरकार एक्लैले पूँजी निर्माण गर्न नसक्ने उनको भनाई थियो । ‘छरिएर रहेको पूँजीलाई सहकारीको माध्यमबाटै हो एकत्रित गर्नुपर्नेमा बताउँदै बाँसकोटाले एकत्रित भएको पूँजीलाई उत्पादनमा प्रयोग गर्न अनुरोध समेत गरे । ‘उत्पादन नगर्ने तर मोटरसाइकल मात्रै चडेर हिड्ने प्रवृत्ति बस्यो भने देशको अवस्था के होला, सिद्धान्त अनुसार हामी सबै चलौँ ।’ उनले भने ।
पुस्तक विमोचन कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुलीले पुस्तकको समीक्षा गर्दै सहकारीमा लाग्ने नयाँ पिँढीका लागि पुस्तक एउटा गतिलो अध्ययन सामग्री भएको बताए । पराजुलीका अनुसार पुस्तकमा सहकारीले हासिल गरेका र गर्नुपर्ने कुरालाई समेत स्पष्ट ढंगले समावेश गरिएको धारणा राखे ।
सहकारी बैंकका उपाध्यक्ष केवी उप्रेतीले सहकारीको अध्ययन गर्नेहरुका लागि शर्माको पुस्तकले एउटा इट्टा थलेको बताए । उनले सिँगो मुलुकको सहकारीको अगुवाई काभ्रे जिल्लाले गरेको भन्दै पुस्तकले अझ उर्जा थलेको तर्क गरे ।
सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले पुस्तक सहकारी अभियानताहरुका लागि प्रेरणाको स्रोत बन्ने दाबी गरेका छन । काडेलले हाल साढे ६ खर्ब पूँजी सहकारी क्षेत्रमा मार्फत परिचालन भइरहेको बताए ।






















