क्याप्टेन विजय लामा

काठमाडौं– नेपाल एयरलाइन्सको प्रवक्ताको जिम्मेवारीबाट वरिष्ठ पाइलट विजय लामालाई मुक्त गरिएको छ ।  सोमबार साँझ नेपाल एयरलाइन्सले आफ्ना प्रवक्ता विजय लामालाई जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।

यसअघि आजै नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई दोहोरो भूमिका दिँदा सुरक्षा खतरा बढेको भन्दै दोहोरो पदमा रहुञ्जेलका लागि उडान अनुमति नदिने भन्दै त्यसको जानकारी नेपाल एयरलाइन्सलाई गराएको थियो ।

वरिष्ठ पाइलट विजय लामाले नेपाल एयरलाइन्समा क्याप्टेनका रुपमा उडान भर्दै आएका थिए । यसअघि एक अन्तरवार्ताका क्रममा वरिष्ठ पाइलट लामाले आफूले थकान, तनाव र अनिद्रामा उडान भर्नुपरेको बताएका थिए ।

यस्तो अवस्थामा उडान भर्नु सुरक्षाको दृष्टिकोणले खतरा भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई स्पष्टीकरण सोधेको थियो ।  स्पष्टीकरणको जवाफमा लामाले आफू पाइलटको हैसियतमा नभई प्रवक्ताको हैसियतमा त्यस्तो अभिव्यक्ति दिएको बताएका थिए ।

तर पाइलट लामाको अभिव्यक्ति चित्त नबुझेको भन्दै प्राधिकरणले लामालाई दोहोरो भूमिकामा रहुञ्जेल उडानको अनुमति नदिने भन्दै उनको उडान स्थगित गरेको थियो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता त्रिलोचन पौड्यालकाअनुसार उनलाई प्राधिकरणले निलम्बन गरेको नभई दोहोरो भूमिका रहुञ्जेल उडान अनुमति नदिइने निर्णय भएको र सो को जानकारी नेपाल एयरलाइन्सलाई गराएको बताए ।

 त्यसलगत्तै नेपाल एयरलाइन्सले लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी प्राधिकरणलाई पठाएको भन्दै अब लामाले नियमित उडान भर्न सक्ने प्राधिकरणका प्रवक्ता त्रिलोचन पौड्यालले रातोपाटीलाई बताए ।  -रातोपाटीबाट 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।